यहाँ काम पाइन्छ ?

स्वर्णीमले तपाईंलाई कत्ति सोधिराख्छ यहाँ आएर ।’ कान्छी बहिनीले फोनमा सुनाई ।
‘कता हराई, मलाई नभनी ? भनेर आँखाभरि आँसु पारेको थियो ।’ आमाले थपिदिइन् । आफ्नी छोरीको प्रेमको साक्षी, आमालाई पनि स्वर्णीमको बिहे चित्त बुझेको थिएन ।
विरक्तिएर स्वर्णीम काठमाण्डौँ पुगेको खबरले जुनमाया चैनले गाउँमा बस्न सकिनन् । प्रेमले कहाँ समाजका नियम र बन्धनहरू मानिबस्छ ? जुनमाया पनि काठमाण्डौँ पुगिन् ।

‘यहाँ काम पाइन्छ ?’
सिन्धुपाल्चोकको धादिङ भन्ने ठूलोे गाउँमा साइँली छोरीका रूपमा जुनमाया जन्मिन् । उनका दुई दिदी र चार बहिनी । छोरी पाउँदापाउँदै दिक्क भएपछि जुनमायाका बाबुआमाले छोरा पाउने आशा बन्द गरिदिए । पहिला ज्यालामा काम गर्ने उनीहरू अहिले अरूको खेत कमाएर जिन्दगी चलाइरहेका छन् । लगाएको अन्नमध्ये आधा उनीहरूको घरमा भित्रन्छ, आधा जग्गाधनीको घरमा ।

त्यस गाउँमा मोही(जग्गा कमाउने)को भूमिकामा उनीहरूको परिवार छ भने तल्सिङको भूमिकामा छन्, रणबहादुर खत्री । रणबहादुरको घरमा काम गर्ने तीन जना थिए – राम, जुनवीरे र मोहनदेव । यीमध्ये सबैभन्दा सानो जुनवीरे आठ वर्षको थियो । गाउँका सबैले माया गर्थे उसलाई । उसैको नामबाट प्रभावित भएर साइँली छोरीको नाम जुनमाया राख्यो हरिबहादुरले । जुनमाया जन्मेदेखि घरमा लच्छिन भित्रिएको महसुस गर्थे उसको परिवार । गाउँमा हरिबहादुरलाई कामको कमी थिएन । जसले पनि दिन्थ्यो । पहिले जसरी हात जोड्दै ‘यहाँ काम पाइन्छ ?’ भन्दै हिँड्न पर्दैनथ्यो । जुनमाया पेटमा आएदेखि उनीहरूले रणबहादुर खत्रीको जग्गा कमाउन पाएका थिए । रणबहादुर यस गाउँका ठूला जमिन्दार हुन् । जुनमाया पेटमा आएदेखि उसको घरमा दूध, मोही टुट्दैनथ्यो । गाउँका सबैले यसपालि हरिबहादुरको छोरो नै हुन्छ भनेर ठोकुवा गरेका थिए । छोरो जन्मन्छ भनेर सबैले उसको घरमा सागपात, दूध, मोही दिइरहन्थे ।

छोरी जन्मी । गोरी, उजेली, राम्री । नाम राखियो, जुनमाया ।
‘कस्तो बाहुनकै जस्ती बच्ची पायो हरिबहादुरले त ! कति भाग्यमानी रहेछ ! त्यस्ती गोरी, उजेली छोरी !’
यसपालि छोरो नभएपनि जुनमायाको जूनजस्तो अनुहारले हरिबहादुरले लामो सास फेर्यो । जुनमाया हुर्कँदै गई ।
जुनमाया राम्री भएकै कारण स्कुल जान पाई । कारण थियो, रणबहादुरको कान्छो नाति स्वर्णीम जुनमाया भनेपछि हुरुक्कै हुन्थ्यो । उसलाई एकछिन छोड्न मान्दैनथ्यो । जुनमाया आठ वर्षकी भएपछि रणबहादुरकै घरमा बसी । त्यहीँ बसेर पढी । रणबहादुरको परिवारले जुनमायालाई औधी मन पराउँथ्यो । हरिबहादुरले जुनमायाको रूपको कारण त्यस गाउँमा इज्जत पायो । जमिन्दारले उनीहरूको परिवारलाई ऋण पत्याउँथे । हरिबहादुरका अरू छोरीहरू काला थिए अनि कुपोषण लागेजस्ता ।
जुनमाया दूध, मोही प्रशस्त खान पाएको कारणले हलक्क बढी । उसको बाउभन्दा अग्ली भई ।

‘मिस नेपालको जत्रो हाइट छ तेरो ।’ स्वर्णिमले जिस्काइरहन्थ्यो । स्वर्णीम दश कक्षामा पढ्थ्यो, जुनमाया आठ कक्षामा । जुनमायाको स्कुलको सर्टिफिकेटमा नाम थियो, स्वर्णीमा कोइराला । बाउ नेपाली भए पनि रणबहादुरले जुनमायाको नाम र थर दुवै फेरिदिएका थिए । यसबारेमा प्रश्न गर्ने आँट न जुनमायाले गरी, न हरिबहादुरले । जुनमाया आफ्नो नाम स्वर्णीमा लेख्दा आत्मियता महसुस गर्दैनथी । तर स्वर्णीमा नाम उसको जिल्लास्तरीय परीक्षाको सर्टिफिकेटमै होस् भन्दै रणबहादुरले दाबी गरिरह्यो । स्वर्णीम प्लस टु पढ्न काठमाण्डौँ पुग्यो ।
ऊ दशैँमा मात्र गाउँ फर्किन पाउँथ्यो । जुनमायालाई बच्चैदेखि नछोडेको उसले ऊसँगको प्रेमका बारेमा भने काठमाडौँ पुगेपछि मात्रै पत्तो पायो ।
‘ओइ आइजो न ।’ राती स्वर्णिमले जुनमायालाई बोलायो । ऊ लाजले शिर निहुराउँदै उसको कोठामा पसी । भुइँमा बसी । उसले उठाएर खाटमा बसायो ।

‘तँ मलाई माया गर्छेस् स्वर्णीमा ?’
स्वर्णीमाले आँखाभरि माया भरेर पुलुक्क हेरी ।
‘गर्दिनँ तँलाई । तेरा आमाबुवाले मलाई मार्छन् ।’
स्वर्णीमले जुनमायालाई दुवै हातले समात्यो । जुनमायाका ओठहरू थर्थराए । जुनमाया स्वर्णीमको बढिरहेको धड्कन सुन्नसक्ने गरी नजिक थिई ।
‘स्वर्णीमा ! ए स्वर्णीमा !’
जुनमाया हत्त न पत्त उठी र जुठो प्लेट समातेर स्वर्णीमको कोठाबाट बाहिर निस्की । दशैँ, तिहार सकियो । स्वर्णीम गाउँबाट जुनमायाको स्मृतिहरू बोकेर फर्कियो ।
स्वर्णीमसँगको बढ्दो मित्रता र हिमचिमका कारण जुनमायालाई त्यस घरमा धेरै नराख्ने विचार रणबहादुरको परिवारले गरे । जब घरमा स्वर्णिमको कुरा हुन्थ्यो, जुनमाया चनाखो भएर सुनिरहन्थी ।

२०७१ साल मङ्सिर २१ गते । जुनमायाको विवाह जुनवीरेसँग भयो । जुनमायाले आफ्नो भाग्य मानेर त्यस विवाहलाई स्विकारी । विद्रोह गर्न सकिनँ । स्वर्णिमलाई खबर नगरी जुनमायाको विवाह गरियो । जुनवीरेलाई रणबहादुरले सुनसरीको हरिपुरमा दुई कठ्ठा जग्गा किनिदिए । स्वर्णिम बाह्र कक्षामा पुग्यो । ऊ जुनमायाका बारेमा पटकपटक सोधिरहन्थ्यो । घरकाले उनका बारेमा नराम्रो नराम्रो सुनाउँथे । ऊ फिटिक्कै विश्वास गर्दैनथ्यो । स्वर्णिम गाउँ आयो भने जुनमायालाई खोज्छ भनेर दशैँको टीका काठमाण्डौँमा लगाउने भए ।
‘गाउँबाट जुनमाया हराई ।’
‘पोइल गई ।’
‘त्यसलाई रणबहादुरको नुनको पाप लाग्छ ।’
यस्तो भनेर गाउँलेले कुरा काट्छन् भनेर स्वर्णिमलाई सुनाइराखिन्थ्यो । जुनमायाको विवाहबारे उसलाई केही बताइएन । शहरका केटीहरूमा स्वर्णीमालाई खोज्दै बस्थ्यो ऊ । किस्ताकिस्तामा स्वर्णीमाको स्वरूप भेट्थ्यो ऊ, तर उसलाई त सिङ्गो स्वर्णीमा चाहिएको थियो । कुनै केटीमा पनि उसको मन अडिएन । स्वर्णिमलाई अल्झाउन भएपनि उसको विवाह गरिदिने निर्णय घरकाले गरे । हराएकी भनिएकी जुनमायाले तराईमा हरिपुरको दुई कठ्ठा जमिनमा तरकारी फलाई । उनीहरूले त्यति जग्गामा आफ्नो पसिना बगाए । जुनवीरेलाई स्वर्णिमको बिहेको निम्तो आयो । वैशाख ८ गते जुनवीरे सिन्धुपाल्चोक जाने भयो । त्यसको दुई दिनपछि स्वर्णिमको बिहे थियो ।

‘बिहे नहोस् । स्वर्णीमको बिहे नहोस् ।’ जुनमायाले हरेक बिहान यही भनेर दियो बाल्थिन् । वैशाख १२ गते ठूलो भूकम्प गयो । सिन्धुपाल्चोकका धेरै गाउँ ध्वस्त भए । भूकम्पमा ज्यान गुमाउनेमा स्वर्णीमकी नवविवाहित बेहुली पनि थिइन् । उनी त्यो दिन गोठमा गएकी थिइन् । भूकम्पले गर्दा उनीहरूको गाईभैँसी पुरिएका थिए । बेहुली पनि त्यसमै पुरिइन् । उत्खनन गर्दा उसको प्राण उडिसकेको थियो । गाउँमा लगभग ८ जना जति भूकम्पमा परेर मरे । गाउँका घरहरू धेरैजसो सोत्तर भए । बैशाखमा गएको जुनवीरे असारमा बल्ल सुनसरी फर्कियो । जुनमायाले आमाबुवाबाट गाउँको खबर सबै पाएकी थिई । हातहातमा मोबाइल आइसकेको जमाना थियो । स्वर्णीम बेहुलीको लास देख्नेबित्तिकै गाउँ छोडेर काठमाडौँ पसेको थियो ।काठमाण्डौँमा कम्तीमा जुनमायाका यादहरू थिएनन् । गाउँमा जता हेरे पनि उसलाई जुनमायाले सताउँथी ।

‘तैँले मलाई धोका नदे है ? तैँले अरुसँग बिहे गरिस् भने मरिदिन्छु ।’ जुनमायालाई धोका दिएको ग्लानीले उसलाई निद्रा लाग्न छोडेको थियो । उसले दबाबमा आएर बिहे गर्न हुँदैनथ्यो । बिहे नगरेको भए त्यस केटीको जिन्दगी बच्ने थियो । राम्रोसँग अनुहार पनि याद नभएकी मरेकी आफ्नी नवदुलहीलाई सम्झिन खोज्यो, अहँ सकेन । बरु आँखामा जुनमाया नाची ।

‘यहाँ काम पाइन्छ ?’
जुनमायाले अलिक चर्को आवाजले होटलकी साहुनीलाई सोधी । उसले बसपार्ककै होटलमा भाडा माझ्ने काम पाई । तीन महिना त्यहीँ काम गरी । उसको पेटमा जुनवीरेको नासो हुर्कंदै थियो । काम धेरै, पैसा थोरै । उसको मेहनत देखेर त्यहाँ चिया खान आउने एउटा ग्राहकले ढल सफा गर्ने काम मिलाइदियो । थोरै काम, धेरै पैसा । तर अत्ति घिनलाग्दो । पेटको बच्चाका लागि धेरै कमाउनुपर्ने बाध्यता थियो । उसले पाँच महिना त्यहाँ काम गरिन् । काम गर्दागर्दै बच्चा जन्माई । कताको हस्पिटल, कताको अप्रेसन, कताको आराम । सुत्केरी भएपनि उसको काममा जाने श्रृङ्खला कहिल्यै टुटेन । ज्वरो आउँदा एन्टीबायोटिक खाएर काममा निस्कन्थी । यो बेलामा भने उसलाई एक्लै हुँदाको पीडा महसुस भयो । बच्चाका लागि पनि उसले आफूलाई आँटिलो बनाइराखी । बच्चा आँट र विश्वास दुवै हो ।

ऊ काठमाण्डौँ पुगेको खबरले जुनवीरे जुनमायालाई खोज्दै काठमाडौँ आइपुग्यो । भूकम्पले थिलथिलो भएको काठमाडौँमा भौँतारियो, काम खोज्दै ।
‘यहाँ काम पाइन्छ ?’
‘मैले जुनमायासँग बिहे गर्न हुँदैनथ्यो । रणबहादुरको नातिलाई उसले मन दिएकी थिई । मैले बिहे गरेर गल्ती गरेँ । भेट भयो भने माफी माग्छु ।’
जुनवीरे आफूले गरेको गल्तीको प्रायश्चित गर्न चाहन्थ्यो । जुनवीरेले भारी बोक्ने काम पायो । कुनै न कुनै दिन जुनमायासँग भेट हुन्छ भन्ने आशा थियो उसमा ।

भर्खरै १९ वर्ष चढ्दै थिई स्वर्णीमा । बिहे गरिसकेपछि माइती कहाँ आफ्नो हुन्छ ? माइतीमा दुःख बिसाउन मन लागेन उसलाई । स्वर्णीम जिन्दगीदेखि विरक्तिनुको दोष आफ्नै मान्थी ऊ । ‘बिहे नहोस् भनेर बिहान दियो नबालेको भए भूकम्प जाँदैनथ्यो कि ?’ प्रेममा कति धेरै शक्ति हुँदो रहेछ । त्यही शक्तिले भूकम्प गएको उसको विश्वास थियो । त्यो समयको संयोग थियो तर उसको जिन्दगीको प्रेमको स्तम्भ बनेर उभियो । माइतीमा सबै सन्चै भएपनि उसको जिन्दगी भत्किएको थियो । सपना भत्किएको थियो । उनी एक छाक खाने र आफूलाई बचाउने धुनमा शहर पसिन् । शहर गाउँजस्तो कहाँ छ र ? निर्दयी शहरमा काम खोज्दै ऊ भौँतारी ।

‘यहाँ काम पाइन्छ ?’

उसको श्रमभन्दा जवानी किन्न चाहनेहरू धेरै भेटिए । सुरुमा उसले होटलमा काम गरी । होटलमा रक्सीसँगै उसको जवानीलाई सितन बनाएर खान खोज्नेहरूबाट धेरै असुरक्षित महसुस गर्न थाली । त्यसपछि हो, उसले होटलको काम गर्न छोडेर ढलको काम गर्न थालेकी । त्योपनि छाडेर उसले कपडा पसलमा कपडा बेच्ने काम गर्न थाली । महिनाभरिमा आउने थोरै तलब । बच्चाका लागि भए पनि उसले धेरै कमाउनुपरेको थियो । कपडा दोकानमा पनि धेरै समय अल्झिन सकिन ।

‘यहाँ काम पाइन्छ ?’

महानगरपालिकामा उसले दुई वर्ष कुचो लगाउने काम गरी । त्यहाँ काम गर्दा उसको बचत पनि राम्रै भयो । बच्चापनि हुर्कँदै थियो । त्यहाँ काम गरेको दुई वर्षपछि उसको काम खोसियो । तर किन खोसियो ? उसले थाहा पाउन सकिन ।

‘यहाँ काम पाइन्छ ?’
जुनमाया अब त यो शहरसँग परिचित भइसकेकी थिई । गल्लीगल्ली चहारेर कसरी काम खोज्नुपर्छ उसले जानिसकेकी थिई । लगभग एक साता कामको खोजीमा भौँतारिएपछि जुनमायाले नयाँ काम पाई पानीको जार ओसार्ने । बच्चाका लागि पनि उसले मेहनत गरिरहनुपर्थ्यो । धन्न बच्चा उस्तो बिरामी परेन । एक वर्ष चार महिनाको हुँदा ज्वरो र खोकीले सताएर बाल अस्पताल लग्नुपरे बाहेक जुनमायाले बच्चालाई केही बिमार हुन दिएकी थिइन । दुःखीलाई भगवानले हेर्दा रहेछन् कि ?

जारको गाडी विभिन्न पसलमा पुग्थ्यो पानीको जार बोकेर । ऊ ती जारलाई पसल पसलमा झारिदिन्थी । रित्ता जारको हिसाबकिताब राख्थी । जुनमायालाई एक न एक दिन स्वर्णीमसँग पक्का भेट हुन्छ भन्ने विश्वास थियो । छोरा २ वर्ष ३ महिनाको भयो । उसलाई राम्रो पढाएर नेता बनाउने सपना थियो जुनमायाको । उसले ठूलो मान्छे भनेकै गाउँमा चुनावमा भोट माग्न आउने नेतालाई देखेकी थिई । ती फूलमाला, अबिरले पुरिएर आउँथे । कोट, पाइन्टमा ढाका टोपी ढल्काउँदै ।

दिन बित्दै जाँदा, उसले आफ्नै माइती गाउँकी दिदी भेटी । बिरानो शहरमा आफ्नो गाउँठाउँको मान्छे भेट हुँदा जुनमाया निकै दङ्ग परी । मन फुकाएर उसले आफ्नो सारा कथा-व्यथा दिदीसामू छताछुल्ल पारिदिई । कुरै कुरामा कामको धपेडी र बच्चाको भविष्य र आर्थिक स्थितिको कुरा निस्कियो । दिदीले उसलाई अरुको काम गरेर थोरै पैसाका लागि धेरै उर्जा र उमेर खेर फाल्नुभन्दा उमेर हुँदै बचत गरेर आफ्नै पसल थाप्न सल्लाह दिइन् । छोरोको भविष्यको लागि त्यहि उचित हुन्छ जस्तो जुनमायाले पनि ठहर्याई । तर शहरको ठाउँमा पसल गर्नको लागि यथेष्ट पैसा उसको बचतले पुग्दैन थियो । दिदी र उसले आ-आफ्नो बचत लगानी गरेर संगोलमा पसल थाप्ने निचोड निकाले । थोरैथोरै गरेर बचत गरेको पैसा सहकारीमा पुग नपुग दुई लाख भएको रहेछ । उसको तीन वर्षको कमाई । सहकारीबाट पैसा निकाली ऊ दिदीलाई भेट्न गई । राती अबेरसम्म उनीहरूले पसलका बारेमा गफ गरेर बिताए । बिहान उठ्दा ती दिदी र पैसा दुवै गायब थिए । जुनमायाले यो कुरा विश्वास गर्नै सकिन । ऊ खोज्दै खोज्दै ती दिदी काम गर्ने ठाउँमै पुगी । तर दिदीलाई उसले त्यहाँपनि भेटिन । ती दिदीेका बारेमा त्यहाँको साहुजीलाई पनि थाहा थिएन ।

‘तपाईं कहाँ काम गर्नुहुन्छ ?’
‘गौशालाको मारवाडी शुद्ध भोजनालयमा । मलाई होटलको आइडिया छ ।’
‘दिदी, मसँग पैसा पनि छ । सानो होटल चलाम् न त । कत्तिको चल्छ कुन्नि ? फेरि पछि… घाटा भयो भने ।’
‘केही हुन्न । चिन्ता नलिऊ । म छँदै छु । बरु पैसा निकालिहाल । सामान किनिराख्नपर्छ ।’

उनलाई ती दिदीले सबै कुरा झुठो बोलेकी रहिछिन् । ऊसँग पैसा छ भन्ने थाहा पाएरै नजिकिएकी रहिछिन् ती दिदी । जुनमायाले यस कुराको सुइँको पैसा लिएर मान्छे फरार भएपछि बल्ल बुझी । ‘अब के गर्ने ?’ ऊ नराम्रोसँग टुक्रिई । उसले देखेको सपना त्यत्तिकै तुहियो । काम नगरी खान पुग्दैनथ्यो । उसले ज्यामी काम गर्न थाली, इँटा बोक्ने । बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म । पैसा दिनको हजार रुपैयाँ । तर काम सधैँ मिल्ने नमिल्ने ठेगान हुँदैनथ्यो । काठमाण्डौँको महँगी र हुर्कँदो बच्चा, सिङ्गो भविष्य र एक्लो जिन्दगी । जुनमाया कहिलेकाहीँ सोच्दासोच्दै आत्तिन्थी ।

निकै सोचविचार गरिसकेपछि उसले कोठा नजिकैको टेलरमा बिहानबिहान सिलाइ–कटिङको तालिम लिन थाली । पैसा बचत गरेर उसले एउटा सिलाइ मेशिनपनि किनी । भाग्यले पनि उसलाई साथ दिइरहेकै थियो । तर केही महिनापछिदेखि उसलाई ज्यामी काम भेट्न पनि मुश्किल हुन थाल्यो । एक्ली स्वास्नी मान्छे, त्यहिमाथि बच्चाकी आमा र एक्ली । घरबेटीले उसको दुःख देखेर आफ्नैमा काम दिए । उनीहरुलाई पनि कपडा धुने, घरमा सरसफाइ गर्ने मान्छेको खाँचो नै परिरहेको थियो । पैसा थोरै आएपनि घरको काम सजिलो थियो । बिस्तारै वरपर अरु घरकाले पनि उसलाई बोलाउन थाले । उनी फेरि व्यस्त रहिन् । घरको काम गरेर आएको पैसाले सिलाई-कटाईको तालिमलाई निरन्तरता दिँदै गइन् । उनलाई थाहा भइसकेको थियो, कुनै निश्चित सिप नभइकन शहरमा बाँच्न र भविष्य सुरक्षित गर्न असम्भव छ ।

लगभग नौ महिनाको ट्रेनिङपछि ऊ कुर्ता–सलवार सिलाउने, शर्ट, पाइन्ट, फ्रकदेखि लिएर जिन्सका रेडिमेड आइटम पनि तयार गर्न सक्ने भई । तर ऊसँग पैसा थिएन टेलर थाप्नलाई । शहरमा उसलाई ऋणपनि कसले पत्याओस् ? घरकै काम गरेर बसिरहनु त बिहान-बेलुका हात-मुख जोर्नु भन्दा ज्यादा केही कामको थिएन । तर उसलाई त छोरोलाई राम्रो विद्यालयमा पढाउनु थियो । ठूलो मान्छे बनाउनु थियो । कुनैदिन यहि शहरमा स्वर्णीमसँग भेट हुँदा उसलाई केही लायकको बनिनुपनि थियो । उसको हातमा अब त सीप पनि थियो तरपनि उसले अर्काको चाकरी नोकरीका लागि हात फैलाउनुको कुनै विकल्प देखिएन । गरिब-दुःखीलाई त हातको सिपले पनि गिज्याउँदो रहेछ ।

ऊ फेरि हातभरि सिप बोकेर बजार निस्की र फेरि भन्न लागी-
‘यहाँ काम पाइन्छ ?’

३ वर्षको छोरो च्यापेर ऊ एउटा टेलरमा पुगी । लुगा सिलाउने होइन, त्यहीँ बसेर कपडा बेच्ने काम पाई उसले । आफूले दुःख गरिकन सिकेको सिपको उसलाई माया लागेर आयो , फेरि बिस्तारै दिन बलियो हुँदा सिलाउने काम यहीँपनि त पाउँछु कि भन्ने आशाको त्यान्द्रो समाएर चित्त बुझाई । उसले त्यहाँ १५ दिन जति काम गरी । त्यहाँ काम गर्दागर्दै नजिकैको टेलर्समा मान्छे चाहिएको खबर उसले पाई । आफ्नो सिप अनुसारको काम पाउने आशले ऊ त्यहाँ गई ।

‘यहाँ काम पाइन्छ ?’
त्यस दोकानकी साहुनीले जुनमायालाई तलदेखि माथिसम्म हेरी र काम छैन भनेर पठाउन खोजी । राम्री जुनमायालाई काममा राख्दा उसको बूढो ऊतिर लहसिएला भन्ने डरले साहुनीलाई एक नजरमै जकड्यो । ऊ आफ्नो बूढोलाई सकेसम्म राम्रा आईमाईबाट अलक्कै राख्न रुचाउँथी । कोही राम्रा ग्राहकहरू बुढोसँग धेरै बेर बार्गेनिङ गरिरहे भने बेलुका घरमा रडाको मच्चाउँथी ।
‘दिदी, मेरो बच्चा सानो छ । मलाई यहाँ काम दिनुस् न । म राम्रो लुगा सिलाउँछु ।’
उसको बच्चा छ भनेपछि साहुनीलाई अलि राहत मिल्यो । फेरिपनि सोधी-
‘बूढो कता छ ?’
जुनमायाले काम खोज्दा केके झुठो बोल्नुपर्छ जानिसकेकी थिई । काम मात्रै होइन, कोठा खोज्दा पनि झुठो बोल्नुपर्छ भन्ने कुरा उसलाई राम्रै थाहा भइसकेको थियो । काठमाण्डौैँलाई सत्य मन पर्दैन । सत्यले काठमाण्डौँको सभ्यता सङ्कटमा पार्छ । ऊ काठमाण्डौँलाई चुनौती दिन चाहँदैनथी । शान्त शहर शान्त रहोस् भन्ने चाहन्थी । नभए काठमाण्डौँको एकएक काला व्यापारहरू र कर्तुतहरु उसलाई थाहा लागिसकेको थियो । कालोबजार र कालो धन्दा गर्नेहरू पनि सेतो कपडामा ठाँटिएर हिँडेका उसले आफ्नै आँखाले देखेकी थिई ।
‘बूढो एफ.एम.म.मा चिया पकाउने काम गर्नुहुन्छ ।’
बूढोपनि सँगै भएको र बच्चा पनि सानै भएकोे कारण उसले जुनमायालाई त्यहाँ काम दिने भई । उसले त्यहाँ एक वर्षसम्म काम गरिरही । त्यहाँ उसको कमाइपनि राम्रै भइरहेको थियो । आफ्नै नयाँ टेलर्स खोल्नका लागि पैसा जम्मा पारिरहेकी थिई ऊ ।

तीनवटा सिलाई मेशिन किनेर उसले आफ्नै काम सुरु गरेको एक महिना नबित्दै देशमा कोरोनाको महामारी फैलियो । देशभर त्यहि महामारीका कारण लकडाउन गरियो । ऊसँग भएको अलिअलि पैसा सिलाई मेशिन र भाडाको एडभान्स दिँदैमा सकियो । हेर्दाहेर्दै ऊ फेरि पहिलेकै अवस्थामा आइपुगी । लकडाउन मानेर आनन्दले बसिरहन ऊसँग बचतपनि त बाँकी थिएन । भएभरको पैसा उसले टेलरमा लगानी लगाएकी थिई जो यतिबेला महामारीका कारण सबै दोकान, कार्यालयजस्तै बन्द थियो । बच्चा अब त अलि ठूलो भइसकेको थियो । खुट्टा लागिसकेको, मन डुलाउन सक्ने भइसकेको थियो । जथाभावी दौडिएर, लडेर, पछारिएर त छँदै थियो अझ अब त जे देख्यो त्यहि चाहिएर, रुवाबासी गरेर पिरोल्न पनि सुरु गरिसकेको थियो । लकडाउन भएको एक हप्तापछि नै ऊ फेरि काम खोज्दै निस्की ।

‘यहाँ काम पाइन्छ ?’
उसलाई मागेर खान कहिल्यै आएन । ऊजस्उता कति आईमाईहरु बच्चालाई देखाएर बिलौना गाउँदै मागेरपनि गुजारा गर्थे । तर उसले त्यस्तो कहिल्यै गर्न जानिन । बच्चालाई पिठ्युँमा लिएर बिहानै तीन बजे कामका लागि हिँड्थी ऊ । अनि बेलुका ६ बजे आफ्नो कोठामा छिर्थी । लकडाउन भएपनि उसले बसेर खान पाइन ।

‘यहाँ काम पाइन्छ ?’
यस्तो बेलामा कहाँ काम पाउनु ? बरु सरकारले राहत बाँडिरहेको छ । त्यहीँ लिनु न ।
उसले राहतपनि लिन सकिन । खै, के ले रोक्यो रोक्यो उसलाई । राहत दिएर फोटो खिचिरहेकाहरू देखेर उसको स्वाभिमानले अस्वीकार गर्यो या फेरि आफ्नो सिप र पाखुरीको उर्जाले त्यसलाई हेय देख्यो । ऊ सायद यस्तै सोच्थी, सकुन्जेल मागेर खान नपरोस् । हुँदै भएन भने पो ! म भोकै भएपनि यो बच्चालाई खुवाउन पाए पुग्यो । यस्तो विपत सबैलाई परेको छ । सबैलाई गाह्रो छ । विकल्प खोज्यो भने त पाइँदो रहेछ । गर्छु सोच्नेलाई गर्नको लागि पक्कै बाटो खुल्दोरहेछ । उसले सरकारले बजेट खन्याएको बाटो निर्माणमा काम पाई ।
अनिश्चित भविष्यको डर अब उसको आँखामा थिएन ।

‘यो काम सकिदाँसम्म लकडाउन खुलेन भने के गर्नुहुन्छ ?’
‘काम खोज्दै हिँड्छु । मलाई काम गरेर खान कहिल्यै लाज लागेन । काम जस्तो होस् । मैले एक समय ढल सफा गर्ने काम पनि गरेर हिँडेँ । काम गर्दै जाँदा काम दिने मान्छेहरू पनि भेटिँदै जान्छन् ।’
‘मेरो बिहे भइसक्यो । बूढो काठमाडौँमा मलाई खोज्दै आएको छ रे । भेट भएकै छैन । जिन्दगी यस्तै रहेछ । ऊसँग भेट भए हुन्थ्यो जस्तो लाग्छ ।’
‘स्वर्णीमलाई अझै माया गर्नुहुन्छ ?’
‘खै, बच्चामा के के गरियो । लभ भन्ने कुरा पनि त्यस्तै रहेछ । ऊ पनि काठमाण्डौँमै छ भन्छन् । तर हाम्रो भेट भएकै छैन ।’

जुनवीरे जुनमायालाई खोज्दै हिँड्छ । स्वर्णीम जुनमायालाई भुल्नका लागि नयाँनयाँ केटीलाई फेसबुकमा फ्लर्ट गर्दै बस्छ । उसलाई हराएकी जुनमाया भेटिन्छे भन्ने लाग्दैन । अरूसँग पनि जोडिन सक्दैन ।

‘हामी कहिले बिहे गर्ने ?’
‘प्लस टु पढ्न काठमाण्डौँ आइजो अनि पशुपतिमा लगेर सिन्दुर लगाइदिन्छु ।’
स्वर्णीम जुनमायालाई सम्झिएर टोलाउँछ । कोरोनाको डरले कोठाभित्रै खुम्चिनुपर्दा झन् जुनमायाका यादहरूले चिमोट्छन् उसलाई ।
‘हाई ।’
केटीको म्यासेज आउँछ । स्वर्णीम त्यतै-कतै सामाजिक सञ्जालतिरै भुल्छ । घरीघरी जुनमायाको याद आउँछ र सर्च लिस्टमा खोज्छ,
‘जुनमाया नेपाली ।’
‘स्वर्णीमा कोइराला ।’

असारको अन्तिम हप्ता लकडाउन त खुल्यो तर जुनमायाको पसल खुल्ने कुरै थिएन । खोले पनि कहाँ चल्नु ? बुझाउनुपर्ने भाडा उस्तै थियो । बरु उसले सामान माया मारिदिने तर अब सटर पनि नखोल्ने निचोडमा ऊ पुगेकी थिई । परिस्थितिले मान्छेलाई कहिलेकाहीँ बेइमान बनाउने रहेछ । ऊ फेरि काठमाण्डौँको गल्लीमा उसैगरी भौँतारिँदै छ ।
‘यहाँ काम पाइन्छ ?’

क्रमशः

Facebook Comments

You may also like

error: Content is protected !!