अनुहारको भिड

अग्निपरीक्षा: सीता उवाच

आँधीहुरीमा पनि नखसेका पातहरु
खस्न सक्छन् मन्द हावाले।
तिम्रा वाक्यहरुले जलेर म
विभत्स खरानी भएकी हुँ।
खरानी कहाँ फेरी जल्थ्यो अग्निपरीक्षामा?

मेरो, सहस्र स्त्रीहरूको हार हो रामायण!
एक नारीको हारमा कसरी जित्यो सत्य र धर्म?
ओ सत्ताप्रेमी शासक,
एक तलाउले सौन्दर्यका लागी बादलसँग तस्वीर माग्नु
जस्तो कहा हो र
कथित सम्मानका लागी तिमीले मेरो स्वाभिमान माग्नु।
किन नगर्नु मैले सङ्का तिम्रो मर्यादामा,
भन दिन सक्छौं अग्निपरीक्षा?

होइन यो त्रेतायुग,
फेरि जन्मिएकी छु नियतिसंग लड्न,
र लेखिसके सितायण – अध्याय एक, सम्बन्ध विच्छेद!
बाकी अध्यायहरूमा दिनसक्नेछु हरदिन नयाँ अग्निपरीक्षा,
पाइतलाहरुलाई जुत्ताको योग्य प्रमाणित गर्न होइन,
स्वाभिमान र स्वतन्त्रताका लागी।
उड्न कै लागी जन्मिनेहरुलाई जुत्ता एक भार मात्रै हो!
मलाई थाह छ
जिन्दगीले आगो निलिसकेपछि
आगोले सक्ने छैन जिन्दगी निल्न!
म त उठ्नेछु हरदिन खरानीबाट फ़ीनिक्स चरा जसरी।

यदि सारी तान्दातान्दै दुश्सासनले,
नग्न भएकी भए द्रौपदी
किन कहलिन्थी इतिहासमा अपवित्र?
म त्याग्छु तिमी र यो समाज,
जसले कोरेर लक्ष्मणरेखा
बनाएका छन् घरहरु कारावास!
जहाँ अग्निपरीक्षा त दिइरहेछन् स्त्रीका भ्रुणहरुपनि।

अग्निपरीक्षामा होमिदा होमीदा
सायद आगोले पनि थाह पाइसकेको छ
मेरो शरीरको गन्ध; एक डढेको सभ्यता!

अग्निपरीक्षा | Sketch by Mohit Joshi

अग्निपरीक्षा | Sketch by Mohit Joshi

________________________________

बलात्कृत आत्माको चिच्याहट

मौनता चिच्याउँथो कुनै बेला,
अहिले मौनता मौन भइसकेको छ,
मेरो आत्मा चिच्याई रहन्छ, कसैले सुन्दैन!
भयानक लाग्छ बतासको आवाज।
लाग्छ, बतासले पनि नाङ्गो मेरो आत्माको योनी तिर मात्रै छुन्छ।
पानीका थोपा तेजाब जस्ता लाग्छन्,
सबैथोक संग डर लाग्न थालेको छ।

बुवा, नगर्नु मेरो शरीरको अन्तेष्टी,
बरु टाङ्गिदिनु कुनै मन्दिरको ढोकामा,
ख्रीष्टको शरीर जस्तै गरी,
जुन मानवता टाङ्गिएको हुनेछ क्रुसीफाइड क्रसमा।
वा निकाल्नु एक हुल जुलुस सरकारको आगनमा,
भीड हुनेछ मेरा लागी,
कोही न्यायको गुहार माग्न आउनेछन्,
कोही सेल्फी खिच्न आउनेछन्,
कोही मेरो नांगै शरीर हेरेर कुनै पब्लिक ट्वाइलेटमा हस्तमैथुन गर्न पनि आउनेछन्,
जे होस् भीड हुनेछ बुवा, भीड!
अचेल भीड हेरेर न्याय गरिन्छ,
अदालत जानेहरू न्याय पाउँदैनन्।

आमा, नपुज्नु कुनै रामलाई वा कुनै भगवानलाई,
रामलाई त मेरो आत्माको पनि अग्निपरीक्षा चाहिन्छ।
हृदयमा भगवान होइन, रावण राख्नु पर्ने रहेछ।

नझुक्नु कोही कहिल्यै ईश्वर / सरकार सामु अब,
मेरो महिनावारी पनि नहुँदै योनी बाट रगत निस्किएको छ,
त्यो बिरामी ईश्वरको रगत हो,
त्यो मानवताको छातीमा छुरा प्रहार हुँदा बगेको हो!

बरु आऊ र हेर,
यहां म्युजियम मै राखिनु पर्ने माष्टरपिस आर्ट छ,
नाङ्गो शरीरको क्यानभासमा
-ईश्वर/सरकार मरेको,
-मानवता लतारिएको,
-मेरो आत्मा मरिरहेको
रगताम्य चित्रकारी

न्याय पाउनेछैन थाह हुँदा-हुँदै खै किन कसका लागी लेखियो/कोरियो यो कविता/स्केच?

बलात्कृत आत्मा | Sketch by Mohit Joshi

बलात्कृत आत्मा | Sketch by Mohit Joshi

________________________________

अनुहारको भिड

एक मान्छे के एक मात्रै हुन्छ?
ऊ, उहरुलाई न जन्मिन दिन्छ, न मर्न दिन्छ।
जिन्दगीलाई देखाइरहन खोज्ने अनुहार कस्को हो?
बादशाहको कि गुलामको?
ऊ मुहारलाई मुहारहरुकै युद्धस्थल बनाएर हिड्छ,
सधै लुकाइरहन खोज्ने अनुहारहरु कस्का हुन?
ईश्वरका? राक्षसका? या मनुष्यका?
आमासँग टिका थाप्न बिर्सेर,
कसरी पुग्यो ऊ गोली थाप्न बन्दुकको ट्रीगर पोइन्टमा?
कस्तो क्रान्ति थियो,
निधारमा रातो लगाउदिन भनेर आमालाई भेट्न छोड्नुपर्ने,
अब निधारमै गोली थाप्दा कुन रङ्गमा रङ्गिएला ऊ?

पृथ्वीको विशाल रङ्गमञ्चमा भगवानको पनि अनुहार छ!
बुद्ध – भिरेर हिडिरहेछ अलेक्जेण्डरको नाङ्गो तरवार
ब्रह्मा – मितेरी गासेको छ लादेन सित!
ख्रीष्ट – शैतनलाई सुनाइरहेछ मृत्युदण्ड पादरीहरुको
अल्लाह – जङ्गबहादुरसङ्ग सिकीरहेछ कोतपर्व मच्चाउने फर्मुला
नास्तिकहरुको जमातमा एक बलियो नास्तिक भगवान बन्दोरहेछ।
जब भगवानको चरित्र हत्या हुन्छ,
भक्तहरु मारिन्छन्,
उ अमर हुँदै जान्छ!
ओ नित्से,
नछापिदिएको भए भगवानको मृतुपत्र,
डराउँथे की भगवानका अनुहारहरू भगवान सङ्गै!

सत्याग्रहमा बसेको गान्धी जस्तै हाउभाउ,
हिँड्न टेक्ने लठ्ठी हुनसक्छ राइफलको नाल,
जमीनबाट माटोको साटो उड्नसक्छ बारूद,
कुनै प्रहारमा माओत्सेतुङ स्मरण हुनसक्छ,
आकाशबाट सानसाना नबर्सिने बादलहरु हराउन सक्छन्
जहाँ उडाएको छ परेवाको मास्क लगाएका गिद्धहरु,
बोकेकोछ एक उग्रराष्ट्रवादी अनुहार,
उ जो हुँदै होइन!
ऊ सोच्ने छ, सोचिरहने छ
“किन साँघुरिएर सुतिरहेछु म आफ्नै भूगोलमा?
खाटमा कति खेर सङ्गै जोडिन पुगे मेरो खुट्टाहरु?”

अनुहारको भिड | Sketch by Mohit Joshi

अनुहारको भिड | Sketch by Mohit Joshi

Facebook Comments

You may also like

error: Content is protected !!