अनि, तपाईंको समुदाय ?

*ट्याम्पो पार्क*

“कहाँ हुनुहुन्थ्यो ? ढिला भइसक्यो ।”
“एउटा साथीसँग कफी पिएर आएको ।” परिचितको प्रश्नको जवाफ अपरिचितले दियो ।

*ट्याम्पो भित्र*
“यो मुभि हेरेको हो ?” बेङ्गाली चलचित्र जोनाकीको पोस्टर देखाउँदै परिचितले प्रश्न गर्यो ।
“अहँ, छैन त ।”
“तपाईंले साच्चै हेर्नुभएको छैन त, अहिलेसम्म ? जोनाकी !”

परिचित खुबै चकित देखिन्थ्यो । मानौँ अपरिचितले जोनाकी नहेरेर कुनै गल्ति गर्यो । त्यो चकित भाव पछाडिको कारण अपरिचितले राम्ररी बुझ्थ्यो । उनीहरु ‘पाठक’ थिए अर्थात उनीहरु धेरै किताबहरु पढ्न रुचाउँथे । उनीहरु ‘वाचर’ थिए अर्थात उनीहरु धेरै चलचित्र र सिरिजहरु हेर्न रुचाउँथे । ‘पाठक’ र ‘वाचर’, यो कुनै सरकारले दिएको उपाधि वा उपनाम थिएन । यो उनीहरुको अहम् थियो । उनीहरुको ‘मपाईंपन’ थियो । ‘मपाईंपन’ भन्दा पनि ‘हामीपन’ सही शब्द होला । त्यस्ता ‘वाचर’ र ‘पाठक’ बजारमा छ्यास्छ्यास्ति पाइन्थे । उनीहरु त्यहि हुलको, त्यही समुदायको सदस्य थिए ।
“त्यसो भए के हेर्दै हुनुहुन्छ त ?” आफ्नो पहिलो प्रश्नको जवाफ नआएपछि परिचितले अर्को प्रश्नले झटारो हान्यो ।
“केहि न केहि । अहिले समय छैन ।”
“समय कुर्ने हैन । निकाल्ने हो । हामी ‘रिडर’ हौँ । हामीले धेरै पढ्नु पर्छ । हामी ‘वाचर’ हौँ । हामीले धेरै हेर्नुपर्छ ।”
“म पढ्दै छु ।
अपरिचितको ‘म पढ्दै छु’ भुईँमा खस्न नपाउँदै ‘के?’ भन्ने प्रश्नको तीर चल्यो । त्यो एकशब्दे प्रश्नको जवाफ पनि एकशब्दे नै थियो – “म्याथ ।” आफुलाई गिज्याइएको ठानेर परिचित मौन रह्यो । आफ्नो एक शब्दे उत्तरको स्पष्टिकरण अपरिचितले आफैँ दिन उचित ठान्यो र भन्यो –
“म्याथ छ नि, नौ दिन नपढ्दा नौलो लाग्छ । बिस दिन नपढ्दा बिर्सिइन्छ । तीस दिन पढेन भने यो देखि तर्सिइन्छ । अनि अलि लामो समय नहेर्दा वा नपढ्दा म्याथ कुनै मिथ भन्दा कम लाग्दैन । त्यस हिसाबले अहिले मैले कुनै मिथीकल उपन्यास पढिरहेको छु भन्दा गलत नहोला । म्याथ नजान्दा मिस्ट्रि पनि हो । कता कुन शुत्र प्रयोग गरेर उत्तर आउँछ, थाहै हुन्न ।”
यति भनेर अपरिचित जोरले हाँस्यो । परिचितले पनि आफ्नो हाँसो थाम्न सकेन र अपरिचितसँगै हाँस्यो । ट्याम्पोमा भएका सबैले नजर उनीहरुतिरै घुमाए । तर केहि बोलेनन् । सबैले आफैतिर हेरको चाल पाएपछि दुईजना चुप लागे ।
उनीहरु आफ्नै ‘स्पिसिस’को अर्को मनुवालाई भेट्न जाँदै थिए । चिरपरिचितलाई । केहिक्षण अगाडि भेट्ने स्थल ‘पाटन बुक हाउस’ भनी फोनमा तय भएको थियो । समय, दिउँसोको दुई बजे आसपास भनी तय भएको थियो । परिचित र अपरिचित तोकेको समयभन्दा आधा घण्टा जति ढिला भइसकेका थिए । अपरिचित आउने बेलामा ढिला जो आएको थियो ।

उनीहरुलाई आउन ढिला भएपछि ‘पाटन बुक हाउस’मै कुरिरहन चिरपरिचितलाई मन लागेन । त्यसैले भेट्ने स्थान फेरिएर मंगलबजार भएको कुरा अवगत गराई ऊ आफुपनि मंगलबजारतिरै हुत्तियो । त्यहाँ पुगेपश्चात पनि चिरपरिचितले अझै केहि समय प्रतिक्षा गर्नुपर्ने भयो । मीठो प्रतिक्षा थियो त्यो । अघि भर्खर खरिद गरेको ‘हाउस अफ लिभ्स’को पन्ना उसले जतनका साथ पल्टायो र त्यहि गर्यो जुन हरेक नयाँ पुस्तकसँग ऊ गर्थ्यो । मतलब, सुँघ्न थाल्यो । हो, ऊ त्यो किताब सुँघ्दै दुईजनाको प्रतिक्षा गर्न थाल्यो ।
*-*-*

मंगलबजार आइपुगेको चाल पाएर अपरिचितले ट्याम्पो ठटायो ।
‘ठङ्…….ठङ्’……………..ठङ्’…….ठङ्’
यसरी ट्याम्पो ठटाउनु भनेको ट्याम्पो रोक्न आग्रह गर्नु हो । अपरिचितले दिएको यो संकेत ट्याम्पो चलाइरहेकी दिदीले बुझिन् र ट्याम्पो रोकिन् । झरेपछी खल्तिबाट पचासको नोट दिँदै अपरिचितले भन्यो – “रत्नपार्कदेखि, दुईजनाको कति भयो ?”
“चालिस ।” आवाज सँगसँगै ट्याम्पोको झ्यालबाट दशको नोट बोकेको हात पनि निस्कियो र हातले पचासको नोट लिएर अपरिचितको हातमा दशको नोट थमाइदियो ।
अपरिचितलाई उक्त आवाज सुनिसकेको झैँ लाग्यो । पैसा दिँदा त उसले आवाजवालीलाई हेरेको थियो । आवाजवालीको मुख दुपट्टाले छोपिएकोले उसले चिन्न सकेन । चिन्ने हतियार मात्र आवाज थियो । उसले आवाज चिन्यो पनि । तर केहि भन्नु अगावै आवाजवाली ट्याम्पो लिएर त्यहाँबाट हिँडिसकेकी थिई ।

“त्यो ट्यामपो चलाउने त रणकला दिदि रहिछिन् नि ।” अपरिचितले आफ्नो शंका व्यक्त गर्यो ।
“खै मैले सुनिनँ । त्यहि पनि को रणकला ?” यो परिचितको जवाफ थियो ।
“तिमीले नै चिनाएको हैन मलाई उहाँसंग । त्यहि रणकला दिदी के, जसको श्रीमान ६ बर्षदेखि विदेशमा थियो । गएको २ बर्षपछि पैसा पनि पठाउन बन्द गरेको थियो रे त बुढाले । तिनै रणकला दिदी के त, जसको यहाँ चोपेन्द्र नाम गरेको मान्छेसँग प्रेम परेको थियो । त्यो चोपेन्द्र भन्ने पत्तै नदिई भागेको हैन त ? त्यहि रणकला दिदी के ! जसको श्रीमानले विदेशबाट आएपछि दुनियाँको कुरा सुनेर दिदीलाई छोडेको थियो रे त ।”
“ए, ए………..तर कसले भन्यो ती दिदीलाई बुढाले छोड्यो भनेर ? त्यहिपनि रणकला दिदीको यो ‘रूट’ नै होइन ।”
यता दुईजानाले बाटोमा उभिएर नै आ-आफ्ना तर्क राखिरहे भने उता चिरपरिचित उनीहरुलाई कुरिरह्यो । एकले अर्काको कुरा नप्तयाउने लक्षण देखिएपछि दुवै चुप भए । कृष्ण मन्दिरको आसपासको क्याफेमा दुईजनालाई फोनबाट डाकियो ।
*-*-*

उनीहरु क्याफे पुग्दा चिरपरिचित ‘हाउस अफ् लिभ्स’ पढिरहेको थियो । उनीहरु आएको देखेर उसले किताब बिसायो । दुवैलाई अंकमाल गर्यो । तिनैजनाको सहमतीमा रु.१६० पर्ने ‘अमेरिकानो’, १०% ‘सर्भिस चार्ज’ सहितको माग भयो ।
“अनि के पढ्दै हुनुहुन्छ त ? के हेर्दै हुनुहुन्छ ?” चिरपरिचितलाई परिचितले प्रश्न गर्यो । यो एउटा अचम्मको बानी थियो उसको । हरेक ‘पाठक’ र ‘वाचर’ लाई ऊ यहि प्रश्न सोध्थ्यो ।
“अहिले म ‘फ्लाईट’ पढिरहेको छु । त्यो सक्किएपछि ‘हाउस अफ लिभ्स’ पढ्छु । हेर्न चाहिँ अहिले कम गरेको । केहि हेरिरहेको छैन ।”
अपरिचितले चिरपरिचितको ‘हाउस अफ लिभ्स’ टेबुलबाट उठायो । केहि पन्ना पल्टायो । ‘नट फर यु’ अगाडी नै लेखिएको थियो । अद्भूत ! उसले सोच्यो । किताब लेखेर, छापेर पाठकलाई नै तिम्रो लागि हैन भन्ने हिम्मत कुन लेखकमा हुन्छ ? Mark Z. Danielewski, ‘हाउस अफ लिभ्स’का लेखकसँग त्यो हिम्मत थियो । रहेछ भनौँ ।
उसले सरसर्ति किताब पल्टायो । उसले अहिलेसम्म नदेखेको ‘स्टाईल’ले त्यो किताब लेखिएको थियो । एकैछिन तिनजना बिच त्यहि किताबबारे कुराकानी भयो । त्यसपछि कुराहरु मोडिए । चलचित्रबारे कुरा भए । सिरिजहरु बारे कुरा भए । आफुले हेरेको चलचित्र……सिरिज, पढेको किताब……साहित्यको तिनैजनासंग छुट्टै सुची थियो । सबैले आ-आफ्नो सुची सुनाउन थाले । कसरी उनीहरुले कुन सिरिज हेरे । कुनबेला उनीहरुले कुन पुस्तक पढे । यस्तै…यस्तै । तिनजना मध्य सबैभन्दा कम किताब पढेको अपरिचितले थियो । उसले पढेका प्राय किताब अरु दुईले पढिसकेका हुन्थे । तिनजना मध्य सबैभन्दा कम चलचित्र/सिरिज हेरेको पनि अपरिचितले नै थियो । उसले हेरको प्राय चलचित्र/सिरिज ती दुईले हेरिसकेका हुन्थे । त्यसैले, अपरिचितलाई विषय फेर्नु उचित लाग्यो ।

उसले लेखकको कुरा निकाल्यो । अनि लेखकका कुराहरु भए । २१ बर्षको उमेरमा कसरी ‘Kevin Missal’ ले ‘फ्यान्टासी’ रचे ? जुन बेस्टसेलर पनि हुन पुग्यो । लेखक बन्ने सपना पालेका तिनैजना लोभिए । सानै उमेरमा किताब लेखेका केही राम्रा लेखकहरुको कुरा उनीहरुबिच भयो ।

“यो खबर पढेको हो ?” चिरपरिचितले आफ्नो मोबाईलमा खोलेको समचार देखायो । दुवैले समाचार हेरे । समाचार नेपालको प्रख्यात लेखक नगरकोटीको गायबीबारे थियो जो विगत दुई दिनदेखि घर पुगेका थिएनन् ।
“हिजो बिहान नै पढेको ।” परिचितले भन्यो ।
“यो नयाँ समाचार हो । तिमीहरु सायद गाडिमा हुँदा निस्केको । नगरकोटीलाई अन्तिम पटक देख्ने मान्छेले नगरकोटी गायब भएको समचार थाहा पाउने बित्तिकै थानामा गएर आफ्नो बयान दिएछ । यो समचारमा उसको बयान छ । अचम्मको कुरा त यो बयान दिने मान्छे पनि घर फर्किएको केहिबेरमा गायब भयो । पढ यो समचार ।”
परिचितले मोबाईल समायो र समाचार पढ्न थाल्यो । निन्याउरो अनुहार बनाउँदै पढिसक्कायो र मोबाईल अपरिचितलाई दियो । अपरिचितले बयान मात्र पढ्यो । मुख्य समाचार त चिरपरिचितले सुनाइसकेको थियो ।

बयान

“म नगरकोटीले लेखेका कत्ति कुरा बुझ्दिनँ । तर उसका किताब र लेखहरु पढ्न भने छुटाउदिनँ । कुरा के भने नि पुलिस साहेब, म चलचित्र औधि हेर्छु । किताब पनि धेरै पढ्न मन लाग्छ । राम्रो चलचित्र हेरौँ, राम्रो किताब पढौँ, यस्तो लाग्छ । नगरकोटीको पढ्ने-हेर्ने किताब र चलचित्र गज्जबका छन् । बुढा राम्राराम्रा किताब पढ्छन् । राम्राराम्रा चलचित्र हेर्छन् । साँच्चै भन्नुपर्दा म उनको लेख, राम्रा-राम्रा किताब र चलचित्रहरुको ‘रिकमेण्डेसन’ पाउनका लागि पनि पढ्छु ।

पुलिस साहेब म कोटेश्वर बस्छु । त्यो रात मेरो एक आफन्त सुइकेका थिए । त्यसैले, म पशुपति गएको थिएँ । सबै कर्मकाण्ड सक्काएपछि फर्किनेबेला मैले बुढालाई घाटमा देखेको हुँ । एकतमासले लास जलेको हेरिरहेका थिए । मैले बोलाएँ । लागेको थिएन उनी बोल्छन् भनेर तर हेर्नुस त बोले । मैले अवसर नचुकाई वाइन खान जाउँ भन्तन भ्याएँ तर उनलाई पाटनको ऐला र छोइला खाने इच्छा जागेर आयो । मलाई ढिला त भइरहेको थियो तर पनि म साथमा जाने भएँ । अब तपाईं नै भन्नुस न आफ्नो प्यारो लेखकसँग समय गुजार्न को चाहदैँन होला ? हामी पाटन गयौँ । त्यहाँ हामीले केहि समय बितायौँ, ऐला, छोइला र चुरोटको साथमा । पैसा मैले तिर्ने जिद कसेको थिएँ तर बुढा त जिदमा समेत मभन्दा ज्याद्रा रहेछन्, तिर्नै दिएनन् । “तपाईं मेरो गेष्ट हुनुहुन्छ । त्यसैले, यो बिल म तिर्छु । बुझ्नुभयो माई फ्रेण्ड !” भन्दै उनैले पैसा तिरे । अझ त्यसमाथि एउटा ‘ब्ल्याक लेभल’ समेत किनेर ‘तपाईं वाइन पिउने भन्नुहुन्थ्यो । लाउनुस् घरमा बसेर मेरो सर्रियल दुनियाँ घुम्दै पिउनु होला ।’ भन्दै उनले मलाई दिए । मैले दंग पर्दै उनको उपहार समाएँ ।

त्यसपछि हामी बालकुमारीको घाटमा गयौँ । घाट बुढालाई किन यति मनपरेको होला ? मैले कहिले बुझ्न सकिनँ । मलाई घर जान ढिला पनि भइरहेको थियो । बुढिया र एउटी गुडिया कुरिरहेका जो थिए हजुर । तर बुढालाई भने केहि हतार थिएन वा भनौँ देखिएन । त्यति राती उनलाई कफी खाने इच्छा जाग्यो । अब तपाईं नै भन्नुस् त त्यति राती कहाँ पाइन्छ कफी ? खैर, मैले उनलाई मेरैमा आउन निम्तो पनि दिएँ । तर कुन्नी किन, बुढाले मानेनन् । भनेँ- “तपाईँलाई तपाईंका बुढिया र गुडिया कुरिरहेका छन्, तपाईं जानुस् सर जी । म यहीँ बस्छु एकैछिन ।”

उनलाई छोडेर मलाई जान त मन थिएन तर मैले भनिहालेँ नि पुलिस साहेब, मेरो घरमा बुढिया र एउटी गुडिया कुरिरहेका थिए । जानै पर्ने भयो । जानुभन्दा अगाडि मैले आफ्नो झोला भित्र भएको ‘निलिमा’ उनलाई दिएँ । बुढा त झण्डै रोएका हजुर । एउटा न्यानो अंकमाल गरेर उनले मलाई धन्यवाद दिए । त्यो अंकमाल ‘ल राम्ररी जानुस्’ वाला अंकमाल पनि थियो । त्यो बिदाई गर्दा दिने अंकमाल पनि थियो ।

म आफ्नो बाटो लागेँ । केही मिटर अगाडि मात्र के हिँडेको थिएँ । मलाई अचानक याद आयो कि यस्तो अविस्मरणीय रातको लागि मैले उनलाई धन्यवाद त दिएकै पो थिइनँ । म फेरि फर्किएँ । तर उनी त्यहाँबाट हिँडेर केही पर पुगिसकेका रहेछन् । अनि छ नि पुलिस साहेब ‍उनिसँग अर्को एउटा मान्छे पनि थियो । दूरी धेरै नभएकोले म उनीहरु बोलेको सुन्न सक्थेँ । उनले ‘कफी पिउने तलतल लाग्यो ।’ भनेको त मैले आफ्नै कानले सुनेको हुँ । मैले उनलाई बोलाएँ र भनें-
“नगरकोटी जी, धन्यवाद है ! आजको यो अविस्मरणीय रात र सम्झनाको लागि ।”
मलाई याद छ हजुर, उनले फर्किएर ‘तपाईंलाई पनि है कट्टेल जी’ भनेको । मलाई यो पनि याद छ हजुर, त्यो अर्को मान्छे भने फर्किएकै थिएन । मलाई पनि त उसको मतलब लागेन । त्यती भनेर उनीहरु आफ्नो बाटो लागे । मैले उनीहरु गइरहेको हेरेँ । त्यत्तिकैमा, अर्को मान्छेले उनीसँग भनेको सुनेँ -‘मेरो घर यहाँबाट निजिकै छ । म कफी पनि काफी मीठो बनाउँछु । जाऊँ ।’ बुढाले केहि बोलेनन् वा सायद बोले पनि मैले सुनिनँ । सानो स्वरले बोल्छन् नि त बुढा । एउटा कुराले चाहिँ चित्त दुख्यो हजुर । उनी मसँग किन आएनन् ? मैले पनि उनलाई मेरोमा जाऊँ त भनेको थिएँ । मैले पनि त्यसै गरी कफी पिउन जाऊँ भन्नु पर्थ्यो सायद !”

बयान पढिसकेर अपरिचितले चिरपरिचितको मोबाईल फिर्ता दियो । को होला त त्यो मान्छे ? कहाँ गए त नगरकोटी ? यी दुई प्रश्नलाई लिएर त्यो टेबलमा ती तिनबिच खुब छलफल भयो । त्यहि साक्षीले नै गायब गरेको भन्ने निस्कर्ष पनि निस्कियो । नगरकोटी आफैपनि कतै गएको हुनुपर्ने अनुमान परिचितले निकाल्यो, जसलाई काट्दै चिरपरिचितले भन्यो – “त्यसो हुँदा त खबर गर्नु पर्ने नि ! खबर गरेकै छैन रे घरमा । समचारमा ‘ढिला हुन्छ’ मात्र भनेको भनेर लेखेको छ । कहाँ जाने भनेर भनेका पनि थिएनन् रे !”

निकै बेर एउटै बिषयमा कुरा भएकोले र छलफल बहसमा परिवर्तन हुने सम्भावना देखिएकोले अपरिचितले फेरि अन्त कतै जाने प्रस्ताव पस्कियो । जसलाई दुवैजनाले सहजै स्वीकारे । ३ अमेरिकानोको पैसा तिरेर ती ३ नेपालीहरु त्यहाँबाट निस्किन तयार भए ।
“जान त जाने तर कहाँ ?” चिरपरिचितले जिज्ञासा राख्यो । जबाफमा अपरिचितले भन्यो –“मेरो घर यहाँबाट नजिकै छ । म कफी पनि काफी मीठो बनाउँछु । जाऊँ ।”

Witchcraft

Witchcraft

*-*-*

प्रिय पाठक,
कथा पढिसक्नु भयो हैन त ? सुनेको छु तपाईं पनि ‘पाठक’ र ‘वाचर’ समुदायको सदस्य हुनुहुन्छ रे । बधाई छ । तपाईंले अहिलेसम्म पढेको लिस्टमा यो एउटा कथा पनि जोडियो । अनि, भन्नुस अहिलेसम्म कति किताबहरु पढ्नुभयो ? कति चलचित्रहरु हेर्नुभयो । मैले भन्दा धेरै पढ्नुभएको होला है ? मैले भन्दा धेरै हेर्नुभएको होला है ? यसो गरौँ न, भेटेरै कुरा गरौँ । तपाईं मलाई भेट्न आउनुहुन्छ कि मै आऊँ ? मेरै घरतिर आउनुस् न त । कफी पिउँदै कुरा गरौँला । म कफी पनि काफी मीठो बनाउँछु ।

Facebook Comments

You may also like

error: Content is protected !!