An Ode to Time | SATURDAYकलम | Kavyalaya - काव्यालय

प्रिय समय,

तिम्रो अवस्थाको बारेमा म जानकार छु, तिमी मेरो हालतको हालखबरबारे अवगत छौ वा छैनौ मलाई थाहा भएन । यत्रो ठूलो ब्रह्माण्डको एउटा सानो ग्रहको, सानो देशको नगण्य मनुष्यको तिमीलाई मतलब भइराख्नु पर्छ भन्ने पनि होइन । खैर, छोडौँ यस्तो फगत औपचारिकता । म सिधै मुद्दामा आउँछु ।

मेरो यो पत्रको उदेश्य भनेको तिमीलाई केही सोधूँ अनि मभित्रको लाभालाई थोरै भएपनि निकास दिऊँ भन्ने हो । हेर न समय, तिम्रो खेलमा तिम्रो नियम अनुसार खेल्दा-खेल्दा मभित्र भयंकर गाढा कुहिरो जमेको छ । कुहिरोमा म केही देख्न सक्दिनँ । त्यसकारण त अनेकौं जीवहरूले मलाई आक्रमण गरिरहन्छन् । विशेषगरी, मानवरूपी परजीविले मेरो कमजोरीको फाइदा उठाएर हरसमय तिनका तिखा व्यवहारहरूले कोपर्छन् । मेरो शरीरको घाउ त तिमीले निको गर्छौ तर मेरो कुहिँदै गएको आत्माबाट आइरहेको दुर्गन्ध म कहाँ गएर पखालौँ ? 

We all are lost souls in this vast universe. We’re searching for something but know nothing about anything. 

समय, तिम्रो जन्मको बारेमा अनेक टीका-टिप्पणी हुन्छ । कोही भन्छन्, तिमी Big Bang पछि जन्मियौ । कोही सोच्छन्, तिमी सधैँ यहीँ थियौ । मलाई चाहिँ तिम्रो जन्ममा भन्दा तिम्रो कर्ममा रुचि छ । आखिर तिमी को हौ ? घडीका सुइहरू ? दिन – रात ? बदलिने मौसम ? मान्छेको बुढ्यौली ? आखिर तिम्रो अस्तित्व खोइ कहाँ छ ? तिम्रो परिचय के हो ? तिमी कतै भएर पनि सबैतिर छौ । म सबैतिर भएर पनि कतै छैन । मान्छेको प्राण समयको हातमा हुन्छ भन्छन् र त सबै तिम्रो भयमा बाँच्छन् । तिमीलाई चाहिँ कसैको डर लाग्दैन ? आखिर तिमी साच्चिकै छौ कि वा यो पनि मान्छेहरूद्वारा रचित अनेकौं भ्रममध्येको त्यस्तै एउटा मीठाई हो ? समयको जवाफ कुरेर अनेकौं सभ्यता लोप भइसके, अरू लोप हुने प्रक्रियामा छन् तर तिमी चुक्क नि बोल्दैनौ ।

Your silence kills me more than your presence. Sometimes you become so cruel that on a dark and cold rainy day when my heart weeps more than the rain outside my window, I wish to spit on your face. I know you’re a faceless monster, more powerful and dangerous than billions of monsters the world has ever known.

मान्छे समयलाई जित्ने अनेकौं प्रयत्न गर्छ । कहिले टाइम ट्राभलको कन्सेप्ट ल्याउँछ त कहिले केको । यहाँ सधैँ जितको चाहना मात्र गरिन्छ । जितेर के पाउनु छ भनेर कसैले सोच्दैन । जित्नुको गर्भाशयमा कुन त्यस्तो तत्व छ खै कुन्नि जसले योगीदेखि भोगीसम्मलाई आफ्नो तर्फ आकर्षित गर्छ । साहिर लुधियानवी भन्थे :

ये दुनियाँ अगर मिल भी जाए तो क्या है ?

समयलाई उछिन्ने दौडमा लागेकाहरुलाई सोध्नु छ उनीहरूको गन्तव्य । गन्तव्यलाई पनि कतै पुग्न मन लाग्छ होला है ! अरूलाई पर्खिँदा पर्खिँदै गन्तव्यले आफ्नो गन्तव्य भुलिसक्यो । तिमीलाई थाहा नै छ समय, हामी मान्छेको जीवन पनि अरूलाई खुसी बनाउँदैमा बित्छ । मभित्रको ‘म’ ले अरू भित्रको ‘म’ को बारेमा ख्याल राख्दा राख्दै यो चोलाले विश्राम लिन्छ । 

समय, तिम्रो नाम लिएर यहाँ अनेका किस्साहरू भनिन्छ । धेरै कुराको दोष तिमी माथि थुपारिन्छ । तिमी किन केही बोल्दैनौ ? किन मौन बस्छौ ? मान्छेको कथित ईश्वर त बोल्यो भन्ने दावी यदाकदा सुनिन्छ, तिमी त समय हौ । अब अरू मौनता सहन सकिँदैन । धैर्यताको बाँध नाजुक अवस्थामा पुगिसक्यो। यो फुट्नु अगाडि नै तिमीले जवाफ दिनैपर्छ । जब मान्छे पीडामा हुन्छ तब भनिन्छ – ‘उचित समयको प्रतीक्षा गर, सबै ठिक हुन्छ ।’ जब सम्बन्धहरू टुट्छन्, त्यतिबेला भनिन्छ– ‘You met the right person in wrong time.’ यहाँ हर कोही Right Time अर्थात उचित समयको पर्खाइमा छ । आखिर कहिले आउँछ त्यो समय जसको प्रतीक्षामा मानव सभ्यता शिथिल भइसक्यो । ‘पर्खाइको पीडा बुझेनौ तिमीले’ भनेझैं तिमी निष्ठुरी बनेर तमासा हेर्दैछौ ।

समयसँगै कैयौं कुरा छुटेर जान्छन् । नयाँ सुरुवात हुन्छ । कतिपय हिजोहरूले मनमा मीठो प्रभाव छोड्छन् भने कतिले बाचुञ्जेल नपुरिने घाउ दिएर जान्छन् । वर्तमानको त के कुरा गर्नु र तिमीसित । यो जति भ्रमपूर्ण अरू केही छैन । भन्नलाई त मान्छे वर्तमानमा बाँचेको हुन्छ भनिन्छ तर मान्छेको काल्पनिक ईश्वर जस्तै यो पनि कतै देखिँदैन । ‘आज’ उच्चारण गरुञ्जेल मात्र रहन्छ । त्यो समय बाहेक कि त हिजो हुन्छ कि भोलि । वर्तमानको भुलभुलैयामा संसार जेलिएको छ । भोली भनेको ‘जय भोली’ हो। यो यस्तो शब्द हो जसको आसमा सबै बाँच्छन् । यदि Godot भन्ने कुनै कुरालाई भन्ने हो भने ‘भविष्य’ लाई भने हुन्छ । सबै यसको प्रतीक्षामा छन् । यसको अस्तित्व कसैलाई थाहा छैन । कस्तो मजाक ? भद्दा मजाक!

जे छैन त्यसले पीडा दिन्छ । जे छ त्यसले झन् पीडा दिन्छ । 

म नदिको किनारमा उभिएको छु । मेरा आँखा अगाडि पानीको थोपा बनेर समयको कणहरु बग्दै छन् । मेरो सामुन्नेबाट गुज्रिरहेको समयलाई न म बिदाइको हात हल्लाउन सक्छु न बस्न अनुरोध गर्न सक्छु । म टुलुटुलु हेरी मात्र रहेको छु । हाम्रो जीवनमा आउने प्रत्येक मुस्किल समय कहिल्यै सकिँदैन जस्तो लाग्छ । यसले प्रहार गर्ने वज्रहरुले कुरुपताको पराकाष्ठा नाघ्छन् । जब ग्रहणपछि घाम झुल्किन्छ तब घामको न्यानो तापौँ न भन्दा रातको चकमन्नताले पोल्न थाल्छ । निराशाको बादलभित्र आशाको मुस्कान केही पलको पाहुना हुन्छ ।

W.B. Yeats ले तिमीलाई सराप्दै लेखे‍-

I spit into the face of time
That has transfigured me

म यस्तो क्रूर र क्रुद्ध छैन । खासमा भन्दा तिमीप्रति कुनै गुनासो छैन । आखिर तिमी समय हौ । न म तिम्रो अस्तित्व नकार्न सक्छु न स्वीकार्न । बस्, म बाँच्न सक्छु । परिवर्तनको नतिजा आफ्नो पक्षमा आउँदा तिम्रो तारिफ हुन्छ । नतिजा प्रतिकुल हुँदा तिमी प्रश्नहरूको घेराबन्दीमा पर्छौ । सजिलो कसैलाई पनि छैन । फरक यत्ति हो कि जुन दिनबाट मान्छेले समयलाई चिनेको भ्रम पाल्न थाल्यो त्यही क्षणबाट यो अराजक हुँदै गएको झुण्ड तिम्रो गुलाम भयो । 

You’ve enslaved us. We are imprisoned inside Time Loop. Dear time, make us free from the anguish of life. 

मानिससँग सबै कुरा छ । छैन त केवल समय । विश्व विजेता होस्  वा आफैदेखि पराजित, सबैको समय एकदिन सकिन्छ । तिमीलाई भोगचलन गर्ने निश्चित परिधिभित्र बाँधिएका प्राणीहरू आजभोलि प्रयोगशालामा अनेकथरी प्रयोगमा लागेका छन् । उनीहरू अमर हुन चाहन्छन् । शायद तिमी यी सबै देखेर मुस्कुराउँछौ होला वा Mr. नगरकोटी जस्तै ‘हु केयर्स’ ? भनेर हिँड्छौ होला कुन्ति मोक्तानजस्तै ‘आफ्नै बाटो’

प्रिय समय,
तिमीलाई बुझ्ने चाहनामा म हरदिन पराजित हुँदैछु । तिमीलाई आफ्नो बनाउने बहानामा म हरपल बिरानो बन्दैछु । तिमी छौ नै त्यस्तै । न बुझेर बुझिने । न नबुझेर चैन हुने । समय, खासमा तिमी स्वार्थी छौ । जाऊ, अब आफ्नो प्रेमिकाको समाधिमा । मृत्यु भएदेखि, उनी तिम्रै बाटो कुरिरहेकी छन् ।

You should be there with your dead lover rather than here with dead haters. 

रात छिप्पिँदै छ । म रित्तिँदै छु । अनि तिमी बैंसको उन्मादमा मस्त जवानझैं अस्तित्वको रस पिउँदै छौ । खैर, अब बन्द गर्छु यी विचारका हमलाहरू जो मेरो मस्तिष्क लुट्न बारबार आउँछन् । 

Adieu, Time. I can hear whispers of my melancholic grave.

उही तिम्रो हुन नसकेको,

दि स्ट्रेन्जर 

Facebook Comments

You may also like

error: Content is protected !!