एक सन्ध्या मेलिनासँग | काव्यालय- Kavyalaya | Saturdayकलम

एक सन्ध्या मेलिनासँग

“के म राम्री छैन र?” ऊ मतर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे । म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु । ऊ केहीबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भुइँतर्फ झार्छे ।

मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै कुरूप लाग्दै छे । तर, मेरो किशोरावस्थामा म मेलिनालाई देख्दा भुतुक्कै हुन्थेँ । सायद उसको यौवन, या त असम्भव आख्यानिक प्रेम-उन्मादप्रतिको मेरो अभिलाषा ! अहिले धेरै कुराहरू बदलिसके, सायद त्यसैले मेरा थुप्रै परिभाषाहरू पनि फेरिए । बीचमा त्यत्रो क्रान्ति भयो । राजतन्त्र सकियो र गणतन्त्र घोषणा भयो । म त्यसताका बैँसले हुर्काउँदै गरेको पठ्ठो थिएँ, अहिले म हिनताबोध र अस्तित्वविहीनताको बोझले मुर्झाउँदै लगेको एउटा निर्धो अधबैँसे । सायद कुरूपता यतैकतै बीचमा उम्रियो र उमेरको चिहान सँगसँगै धर्तीभरि फैलियो । त्यो कुरो बिस्तारै बिस्तारै खुट्टामाथि उक्लन्छ र सुन्दरताको चियो राख्ने र आस्था बोक्ने नजरको बिभत्स हत्या गर्छ । त्यसपछि सम्पूर्ण संसार कुरूप लाग्न थाल्छ।

मेलिना बिस्तारै खाटमा आफ्नो प्राण बिसाउँछे र मतर्फ फेरि नजर उकाल्दै अनुरोध गर्छे– “बस्दैनौ ?”

म ढोकाको अघि उभिइरहेको हुन्छु । मलाई होस हुँदैन म त्यहाँभित्र के देख्दैछु, के हेर्दैछु । म छेउको मेचमा चुपचाप बस्छु । मानौँ म बोल्न थालेँ भने यथार्थ धरमराउनेछ र मेलिना र म शून्य भएर हावाबाट यसै लोप हुनेछौँ ।

म कोठाको भित्तातर्फ आँखा डुलाउँछु । खोपिको छेउमा एउटा पुरानो फोटो सिसाको फ्रेमभित्र किलाले झुन्डाइएको छ । मेलिनाको श्रीमान– सेकेन्ड लेफ्टिनेन्ट विमल पोखरेल फौजीको पोशाकमा… मेरो हृदयस्पन्दन एकदम रफ्तार लिन थाल्छ, मेरा हत्केलाहरू काँप्न थाल्छन् । म बल्ल सम्झन्छु, म यहाँ एउटा स्वीकारोक्ति गर्न आएको थिएँ ।

“मैले धेरै वर्षअघि पत्रिकामा तिम्रो एउटा कविता पढेकी थिएँ । एक दुई हरफ मलाई अझै याद छ – थाहा छैन किन ।”

ऊ एकछिन एकाग्र भएर टोलाउछे र मेरा आँखाहरू पार गरेर शून्यता तर्फ चिहाउँदै यसरी बोल्छे मानौँ शून्यता उसलाई कुनै कविता पढाइरहेछ-

“बिस्तारै सन्ध्या मुर्झाउँदै छे
र, एउटा लामो रात हामी बीच छाउँदैछ
कुनै दिन म याचना गर्दथेँ
सन्ध्यालाई अरू दुई हरफ बस भनेर
तर आज म भन्दिनँ….”

म उसका ओठहरूको लयात्मक आभालाई अवलोकन गर्छु, उसको वाचनले अर्थ्याएका शब्दहरूलाई महसुस गर्न खोज्छु ।

“त्यो कवितामा कस्तो टिठलाग्दो नैराश्यता थियो । लाग्छ, तिमीले आफ्नो जीवनकै सबैभन्दा खास व्यक्तिका लागि सो कविता कोरेका थियौ । सायद तिमी शब्दहरू कोर्दा कोर्दै रोएका थियौ ।”

म कलार्थको व्यङ्ग्य सम्झँदै बोल्छु– “मैले त्यो कविता कुनै वेश्याको लागि लेखेको थिएँ  । म रातभरि रक्सीले मातिएर पल्टिएको थिएँ र भोलिपल्ट बिहान मेरो डायरीमा यो कविता थियो  । त्यस कविताकी पात्र म उठ्दा निस्किसकेको थिई र ऊसँग मेरो फेरि भेट कहिल्यै भएन । ऊ मेरा लागि खास थिइन । मैले नशामा यसै कोरेँ र भोलिपल्ट मलाई उसको अनुहारसम्म याद थिएन ।”

मेलिनाको अनुहार क्षणमै विवर्ण हुन्छ । तर एक निमेषमै आशातीत स्वरले ऊ बोल्छे – “त्यसो भए सायद तिम्रो कविताकी पात्र ऊ होइन । सायद तिमी मातिएको बेला तिम्रो संस्मरणमा अरू नै कोही थियो ।”

ऊ एकछिन मौन भएर बस्छे मानौँ आफै ताजुब हुँदैछे– “उसको कविताभावको पक्ष म किन लिँदैछु?” आफ्नो भावनाहरू गाँसिन थाले भने सायद अर्कैका निर्जीव अक्षरहरू पनि नितान्त आफ्ना र जीवन्त लाग्न थाल्छन् ।

म अब आभास गर्छु कि मैले मेरो कविताको पृष्ठभूमि उसलाई गुत्याइदिएर गल्ती गरेँ । मेरो कृतिले मलाई मभित्रबाट द्वेष नजरले हेर्दै गरेको तीतो अनुभव म गर्छु ।

“तिमी मलाई मन पराउँथ्यौ होइन?” ऊ लेस दम्भ र सन्तुष्टि मिश्रित स्वरले केही कालपछि प्रश्न गर्छे ।

“अब कुनै अर्थ छ र?” म शिथिल प्रतिप्रश्न फर्काउँछु ।

ऊ अब खाटबाट उठेर उसको कोठाको सानो झ्यालतर्फ पाइला बढाउँछे । यस कोठाभित्र प्रकाश आउने माध्यम त्यही एउटा नामको झ्याल छ । मेलिना आफ्नो दुर्बल शरीर लिएर यही सानो कोठीमा कति वर्षदेखि बिस्तारै आत्महत्या गर्दैछे । मलाई अकास्मात घिन लाग्न थाल्छ । मलाई एक्कासी लाग्छ सायद क्रान्ति पछि मेलिना वेश्या भई । कोठामा एक निस्सासिँदो गन्ध व्याप्त हुँदै जान्छ । कैयन् रात यहाँ पौरुषका लाचार र्यालहरू मेलिनाको यो बिस्तारामा लटपटिए होलान् । कति कामवासनाले लाछी बीजहरू यी अँध्यारा कुनाहरूमा पोतिए होलान् । म वितृष्ण घृणित हेराइले मेलिनाको देह ताक्छु ।

ऊ पछाडि फर्केकी छैन, एकोहोरो बाहिर हेरिरहेकी छे । मेरो हृदय एकदम व्याकुल हुन थाल्छ । म यस्तो अति यथार्थ दृश्य देख्छु– म आफू बसेको मेचबाट हठात उठ्छु र मेच बोकेर मेलिनालाई हिर्काउँछु । मेलिना केही प्रतिक्रिया दिन्न, चिच्याउँदिन । मानौँ ऊ यही घडी कुरिरहेकी थिई यो उमेरसम्म । या त ऊ झ्याल बाहिरको प्रकाश चिहाउन खोज्दाखोज्दै पहिल्यै प्राण त्यागिसकेकी थिई । ऊ भुइँमा लड्छे । म अझै आफ्नो सम्पूर्ण सामर्थ्यले उसको टाउकोमा लगातार मेच बजारिरहन्छु । मेच भाचिन्छ, केही टुक्राहरू उछट्टिएर कोठीका भित्ताहरूमा ठोकिन्छन् । मेरा हातहरू रक्ताम्य हुँदैछन् र मेलिनाको शिर बेस्सरी बिग्रिएको छ । उसको नाक कुचिएर मुखबाट दाँतहरू फुटेको आवाज म सुन्दैछु । तर पनि ममा दया वा डर अलिकति पनि पलाएको छैन । म एकसूरले मेलिनामाथि मेच बजार्दैछु, प्रहार गर्दैछु । भुइँ रक्ताम्य भएर रगतको खोला मेरा पैतालामुनि बग्दैछ ।

“बुझ्यौ?”

म मेलिनाको स्वरले झस्कन्छु । मेरा खुट्टाहरूमा साँझको एक रश्मी घाम लडिबुडी गर्दैछ । मेलिनाको छाँयाले उसको सुक्ष्म अस्तित्व बिथोल्दैछ, गला दबाएर हत्या गर्दैछ । म मेरो दृष्टि उठाउँछु ।

“मलाई पनि तिमी मन पर्थ्यौ । तिमी हाम्रो घरको बाटो हिँडिरहन्थ्यौ । मैले अरूबाट पनि कुरा सुन्थेँ । तिमीले मलाई चिठी लेखेको, बोल्न खोजेको मलाई मन पर्थ्यो । तर तिमी तल्लो जातिको थियौ त्यसैले म आफ्नो घरानालाई धोका दिन सक्दिनथेँ । त्यसैले मैले तिम्रा चिठीहरूको वास्ता गरिनँ, प्रतिक्रिया दिइनँ ।”

म मेलिनाका कुरा सुनिरहन्छु । ऊ बोल्दाबोल्दै फेरि खाटमा आएर बस्छे । म बाहिर मुर्झाउँदै गरेको सन्ध्यालाई नै हेरिरहन्छु । मलाई अट्टहास हाँस्न मन लाग्छ ।

“जब तिमी घर छोडेर माओवादी बन्यौ भन्ने सुनेँ, मलाई सत्य दु:ख लागेको थियो । तिमीसँग एकचोटी भेट्न मन थियो, केहि बेर कुरा गर्न मन थियो । आज जसरी भेट होला भनेर आशा गर्न मैले धेरै अघि छोडिसकेकी थिए।”

म मेरो स्मृतिकी पुरानो मेलिनालाई सम्झन खोज्छु । ऊ साँच्चि नै अस्याध्यै राम्री थिई । म सोच्न खोज्छु उसको सुन्दरता कति काँचुलीपश्चात यसरी परिवर्तन भयो होला? म मेरो स्मृतिकी मेलिनासँग यस आइमाईको कुनै पनि समानता भेट्दिनँ । सायद क्रान्तिले मेलिनालाई कुरूप बनायो । मलाई वितृष्णाले गाँज्न थाल्छ । मलाई अचानक याद हुन्छ – मेलिनाको घाँटीमा एउटा सानो कोठी थियो । मैले उसलाई त्यति नजिकबाट पहिलो र अन्तिम पल्ट देखेको थिएँ । ऊ कति सुन्दर थिई, तस्बिरकी मिम जस्ती !

मैले उसको बाटो छेक्दै भनेको थिएँ, “यो चिठीको पनि उत्तर पाइनँ भने सम्झनेछु तिमी मसँग कहिल्यै बोल्न चाहँदिनौ।” मसँग आँखा नजुधाइकन उसले मेरो पत्र लिएकी थिई र पछाडि नफर्किकन फटाफट अघि बढेकी थिई ।

मैले मेलिनाको उत्तर कहिल्यै पाइनँ । त्यसपछि म एकदम बदलिएँ । अनि एकदिन घर छोडेर हिँडेँ र लगत्तै क्रान्तिमा होमिएँ । युद्ध गर्नेहरू गर्वका साथ भन्छन् ‘हामी देशको लागि मर्यौँँ, देशकै लागि मार्यौँ।’ तर मसँग कुनै आदर्श थिएनन् र छैनन् । मलाई यो पनि थाह थिएन आफ्नो यसरी ज्यान बाजी राखेर म के प्रमाणित गर्न चाहन्थेँ  । सुरूसुरूमा मेरा हत्केला त्रास र कायरताले काँप्दथे तर बिस्तारै म संवेदनाहीन जनावर हुँदै गएँ । मलाई मृत्युले उत्तेजना दिन थाल्यो, संहारले उल्लासित पार्न थाल्यो । म मतिभ्रष्ट हुँदै जाँदै थिए र युद्ध मेरा लागि मानौँ मेरो मानसिक स्थीरताको प्रमाणपत्र बनेको थियो । म कहिलेकाहीँ एकरात असिन-पसिन भएर तर्सँदै ब्यूँझन्थेँ र मलाई एक्कासि लाग्थ्यो म भोलि मर्नेवाला छु । त्यस अनुभूतिले प्राय: मनमा एक तमासको सन्तोष लाग्दथ्यो  । जब युद्ध सकियो, मेरो अस्तित्वको धरातल एकदम धरमराउन थाल्यो  । मेरो जीवनमा अब केही उद्देश्य थिएन, कुनै लक्ष्य थिएन । मेलिना…

“मेलिना ?”

मेरो बोलावटले ऊ झस्कन्छे  । ऊ मतर्फ जिल्लिएर हेरिरहन्छे मानौँ हामी अचानक फेरि किशोरावस्थामा पुग्यौँ । मैले मेलिनालाई उसको नामले कहिल्यै बोलाउन पाइनँ न त उसले कहिल्यै मेरो नामले मलाई डाक्न सकी।

“मेलिना.. म तिमीसँग एउटा कुरा गर्न चाहन्थेँ ।”
म फेरि हडबडाउन थाल्छु । मेरा हत्केला काँप्न थाल्छन् ।

“सुयोग !” मेलिनाले अनायासै मेरो नाम लिन्छे । म विमुढ भएर उसलाई हेरिरहन्छु । ऊ वेगमा मतर्फ बढ्छे र मेरो ओठमा चुम्बन गर्छे । म उसको काँध समात्दै मेचबाट उठ्छु, उसलाई अरू आफूतर्फ खिच्छु । हाम्रा श्वास एकदम उत्तेजित हुन थाल्छन् । मेलिनाको छाती मेरो छातीमा समेटिन्छ । उसका औँलाहरू मेरो केशमा बेस्सरी कसिन्छन् । म उसको कम्मरको बान्की सुम्सुम्याउँछु, उसको पिठ्यूमा मेरा हत्केलाहरू सल्बलाउँछन् । म उसको गर्दन पछाडिको केशलाई निमोठेर उसको अनुहार मबाट थोरै पर हुत्याउँछु । म उसको घाँटीको कोठीलाई हेर्छु र त्यहाँ एकोहोरो चुम्बन गर्न थाल्छु । मेलिना सुखभोगले उन्मादित हुन थाल्छे । म आँखा बन्द गर्छु र मेलिनाको वदन र श्वासको वासनाले व्यग्र हुन थाल्छु । मलाई अचानक लाग्छ, म भोलि मर्दैछु ।

…मेलिनाको झ्यालबाट सन्ध्या बिस्तारै बिलाउँदैछे – अन्धकारले पूरा पर्यावरण ढाक्दैछ । अब एउटा लामो रात हामीबीच… अनि म र मेलिना दुवै मदहोस भएर आज मातिँदैछौँ ।

 

                                                      -अमीर मगर

 

Facebook Comments

You may also like

error: Content is protected !!