विस्मृतिमा दशैं | मनोवाद | दशैं विशेष | काव्यालय - Kavyalaya | अमिता आख्यान

विस्मृतिमा दशैं

द प्रोफेट पढ्दै छु । खलिल जिब्रानको रौली एकदम प्रिय लाग्छ  । द प्रोफेट पछि न्युयोर्क सनले छापेको खबर ‘द प्रोफेट इज डेड’ पनि पढ्नु पर्ने छ  । तर अहिले नेपथ्यबाट बच्चाबच्चीहरू झगडा गरिरहेको आवाजले मेरो प्रिय पुस्तक ‘द प्रोफेट’सँगको मौनतालाई  चुनौती दिइरहेको छ । मगजमा उत्सुकताहरूले अजिब काउकुती लगाउँछन्  । कुर्सीबाट उठ्छु । झ्याल खोल्छु  । नजरहरूलाई कसरत गराउँछु  । सडकपारितिर केही बच्चाबच्चीहरू पिङमा झुण्डिरहेका छन्  । अर्कातिर चङ्गा उडाइरहेका छन्  । पक्कै पनि मेरो मौनतालाई माथ दिने आवाज त्यहीँबाट आएको हुनु पर्छ  । विस्मृतिमा बचपनका यादका माम्राहरूमा प्राण घुसिदिन्छ, ती स्पन्दित हुन थाल्छन्  ।  दशैंको रौनक पो छ  । हिन्दुहरूको महान चाड । विजयको उत्सव दशैं त बचपनमै रमाइलो हुन्थ्यो । स्वार्थहिन अनेकौं रहरहरू हुन्थे  । तर अहिले, खै कता हराइगए ती रहरहरू ? बस्, बचेका छन् त केवल गहिरो कुवाको भ्यागुताकाझैं आवश्यकताहरू । मान्छे उही हुन्छ । बस् यहाँ समयमात्र बदलिँदो रहेछ  । बदलिँदो समयसँग तैरिन जानिएन भने समयकै सुनामीमा डुबिँदोरहेछ  ।

‘आयात’झैं फेरि आइपुगेको छ, शरद ऋतु  । उपहारमा दशैं लिएर, खुसीहरू लिएर  । आखिर कसरी खुसी हुन सक्छन् यहाँ मान्छेहरू । हरेक दिन कसैले कसैको हत्या गर्दै छ  । हरेक दिन बलात्कृत स्त्रीहरूको चीत्कारका क्रन्दनहरू सुनिन्छन्  । हरेक दिन फुटपाथमा भोका आत्माहरू भड्किरहन्छन  । हरेक दिन आत्मदाहका लाचार पासोहरू झुण्डिरहन्छन्  । मैले आजसम्म बुझ्न सकेको छैन, दुनियाँमा मान्छेहरू आखिर कसरी खुसी छन् ? प्रतिउत्तरमा मेरो एक प्रिय कवि जोन एलियाको एक शेर याद आउँछ, 

´´ क्या तकल्लुफ करें यह कहने में 
जो भी खुश है हम उससे जलते है “

झ्याल बन्द गर्छु । जिब्रानलाई सिरानीमुन्तिर राख्छु । आज सिरानीले पक्कै सुनाउने छ, जिब्रानलाई मेरो बेचैन सपनाका कथाहरू । कुर्सीमा बसी टेबलभरि छरिएका किताबहरू मिलाउन थाल्छु । फगत नजरहरू पत्रिकामा परेर काम्न थाल्छन् ।


“मन्दिर जान भनी हिँडेकी किशोरी सामूहिक बलात्कृत” 


पत्रिकाको पहिलो पानामा गाढा अक्षरले छापिएको खबरले नै मन खिन्न बनाउँछ । भगवानसँग त उही दिन भरोसा टुटेको थियो, जुनदिन मैले थाहा पाएँ कि फूलको आयु दुईचार दिन र पत्थर अनन्त हुन्छ भनेर ।

आज किन-किन आफैमा हराइरहेकी छु । लाइब्रेरी जानु छ किताब बुझाउन । तयार हुन्छु । म किन सधैँ तयार भएर बाहिर निस्कन्छु, मैले आफै आजसम्म बुझ्न सकेकी छैन । बिहानको न्यानो र स्त्रीको छाती सधैँ सुन्दर हुँदैन । सुन्दरता सधैँ प्रथम हुँदैन । 

घरमा कसैलाई केही नभनी लाइब्रेरीतिर हिँड्छु । चोकनिर, जहाँ पहिले एउटा पागल बस्थ्यो, त्यहाँ अहिले दुर्गाको मूर्ति राखेका रहेछन् । नवरात्री पनि सुरु भएछ । भनिन्छ कि अत्याचार गर्ने महिषासुर नाम गरेको राक्षसलाई दुर्गाले ‘महिषासुरमर्दिनी’को रुप धारण गरेर मारेकी थिइन् । आखिर उनी पनि त एक स्त्री नै थिइन्, तर अहिले मेरो मगजलाई पत्रिकाको त्यो घटनाले रिक्त बनाइदिएको छ । आफूले आफैलाई नियाल्दै, हिम्मत गरेर शिर ठाडो बनाउँछु, तर दुर्गाको मूर्ति सामुन्ने आफूलाई उभ्याउन सक्दिनँ । नजर जुधाउन सक्दिनँ फगत आफ्नो बाटो लाग्छु ।

‘दुर्गा’ एक स्त्री जो इतिहासमा बाँचेकी छिन्, तर अफसोस, म वर्तमानमा गुमनाम हुन बाध्य छु ।

 

Facebook Comments

You may also like

error: Content is protected !!