अमरावती कान्तिपुरी नगरी

“उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन,” स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दन वनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अफसोसको एक सुस्केरा हाले ।

उर्वशी–पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदेओस् । त्यसैले अफसोसको सुस्केरा हाल्ने बित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले–

कतिका वनिता कतिको रमिता
अब लेख्तछु याहिँ बसी कविता

स्वर्गङ्गाको सिरसिर बताससित भानुभक्तको स्वर–सतार पनि जब बहन थालेको थियो, त्यहाँ उपस्थित सारा अप्सराहरू सपेराको बाँसुरीमा झुमेका नाग–नागिनीझैँ अथवा भनूँ कृष्णजीको मुरलीमा लट्ठिएका गोप–गोपिनीझैँ हेरेको हेर्‍यै भै’हाले । आशुकवि भानुभक्तलाई न मुड चाहियो न कलम नै– त्यस दिनदेखि कविता रच्न थालेका– रच्दारच्दै कति शरद बिते, कति वसन्त बिते, उनलाई पत्तै भएन । धेरै वर्षपछि एक्कासि उनको मुखबाट निस्क्यिो–
‘अमरावति कान्तिपुरी नगरी’

अनि पो भानुभक्तजी आफ्नो काव्य–निद्राबाट झल्याँस्स ब्युँझे । टक्क अडिएर पल्याकपुलुक हेर्न थाले । केही सम्झेजस्तो, केही खोजेजस्तो उनको मुद्रा देख्दा सबै निकैबेर चकित तर कविजीले आफैँ उठेर पछिल्तिर फर्की समूहहरूलाई सोधे, “होइन, यहाँ कान्तिपुरबाट आउने कोही छ ?”
कहिल्यै नसकिने अलका मार्क चुरोटको धुवाँ बुङ्बुङी उडाउँदै पल्लो छेउमा पलेँटी मारिरहेको मखिबुट्टे टोपीवाल भलादमीले जुरुक्क उठेर भने, “म पनि कान्तिपुरबाटै आएको तपाईंको चेलो हुँ गुरुजी ! मेरो नाम लक्ष्मीप्रसाद देवकोटा हो ।” चुरोटको लामो सर्को तान्दै देवकोटाजीले थपे, “तपाईंको पालाको भन्दा त कताकता सुन्दर छ । मैले आफ्नो ‘मुनामदन’मा पनि मन फुकाएर प्रशंसा गरेको छु, साँच्चै रमणीय छ, त्यो गुरुजीको अलकापुरी म आउँदै त त्यस्तो थियो भने मैले छाडेको पनि भइसक्यो पाँच–छ वर्ष ।”
देवकोटाको कुरा सुनेर भानुभक्तलाई तुरुन्त ओर्लिएर एकपटक कान्तिपुरको शयर नगरी भएन भन्ने लाग्यो तर जाने कसरी ? उनी बिलखबन्दीमा परी गुनगुनाउन थाले–

‘कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।
अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरी ।’

रामायणकार भानुभक्त भानुका भक्त मात्र थिएनन्, रामभक्त पनि हुने भइहाले । रामभक्तको प्रताप कति अलौकिक हुन्छ भन्ने कुरा हनुमानको चरित्रबाट प्रस्ट छँदै छ । जुन भक्तिको प्रतापले हनुमानले पुच्छरमा आगो लिएर त्यत्रो लङ्का जलाइदिए, त्यत्रो द्रोणाचल पर्वत हत्केलामा राखेर ल्याइदिए, त्यसै भक्तका प्रतापले हाम्रा भानुभक्त पनि कसरी–कसरी एक दिन टुप्लुक्क बालाजुमा उत्रन आइपुगेछन् । सय वर्षभन्दा अघि मरेको मान्छे यहाँ आउला भन्ने कसलाई विश्वास लाग्ला र ! कुरा यति हो– एकदिन आफ्नो प्यारो अलकापुरी हेर्न हाम्रा आदिकविजी आइपुगेछन् काडमाडौंमा । त बालाजुको बाइस–धारा उद्यान देख्नेबित्तिकै उनी एकछिन त जिल्लाराम परे । झन्डै यो त अमरावतीको अप्सरा– उद्यानजस्तै पल्टिए, पल्टिनु के थियो कविताको मूल फुटिहाल्यो –

‘यति दिनपछि फेरि बल्ल बालाजु देख्याँ ।
पृथिवीतलभरीमा स्वर्ग जानि लेख्याँ ।’

तर नजिकै औद्योगिक क्षेत्र थियो । त्यहाँका नयाँ–नयाँ भवनबाट निस्केका घार्र र घुर्र आवाज एवं धुवाँको मुस्लोले गर्दा उनको कविता पूरा हुन पाएन । उनलाई के लाग्यो भने अप्सरा आएर यहाँ यस्तो रमणीय उद्यान बनाइसकेछन्, विश्वकर्मा आएर त्यहाँ औद्योगिक क्षेत्र खोलिसकेछन्, लम्फू त मै मात्र रहेछु, अहिलेसम्म आफूलाई अत्तोपत्तो थिएन तर वीणा, हतौडा एउटै खटियामा सजाएजस्तो उद्यान र उद्यमस्थल एउटा ठाउँमा गाँसेको चाहिँ उनलाई अलि चित्त बुझेन । तैपनि कान्तिपुर अब केवल प्राकृतिक क्रान्तिले मात्र होइन, औद्योगिक क्रान्तिले पनि अर्कै ढङ्गबाट बदलिन लागेजस्तो भानुभक्तले अनुभव गरे । त्यसैले उनको कविता पनि यसरी फुट्यो –

कहिँ घर्घर ज्यावल–मेशिनको
कहिं चिर्बिर गान् रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी’

यत्तिकैमा केही युवा–युवतीहरू जोडी–जोडी मिली उद्यानभित्र पसेकाले कविता रच्दारच्दै भानुभक्तजीका आँखाचाहिँ ट्याक्क युवतीको टाइट हिपतिर लाग्न पुगेछन् । “आमै, यी केटीहरू नागकन्या त होइनन् । लगाइ र हिँडाइ त ठ्याम्मै उस्तै छ बा, हेरूँ राम्ररी !”

भानुभक्त सम्पूर्ण ध्यान उनीहरूकै वक्रा अङ्गिमा र भावभङ्गिमातिर पुगेर अड्यो । युवकहरू पनि माथिमाथि फुकिफुकाउ, तलतल कसिकसाउ देख्दा भानुभक्तजी झन् दङ्ग परे । हुन त त्यहाँ अरू पनि बालक, बूढा, गृहणी सब थिए तर ठिटाठिटीको नृत्यलीलामा ती त केवल आफैँजस्ता दर्शक मात्र । आखिर उनलाई के लाग्यो भने काठमाडौंको ठाउँ मात्रै साँघुरिँदै गएको होइन, मान्छेको लवाइ पनि साँघुरिँदा–साँघुरिँदै काँचुली नै बनिसकेछ ? रसिक भानुभक्तलाई यो परिवर्तन झन् रोचक लाग्यो र कविता पनि फुरिहाल्यो –

‘कटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल ओरिपरी
अमरावति कान्तिपुरी नगरी’

साँझ परिसकेकाले त्यहाँ धेरै बेर बस्दा आफ्नो कवितामा अश्लील दोष पर्ला भन्ने ठानी उनी जुरुक्क उठेर उद्यानबाहिर निस्के । साझा यातायातको हरियो बस पनि ठ्याक्क त्यहीँ रोकिइरहेको रहेछ । सबै पसेको देखी उनी पनि पसे त्यसैमा । पस्न त पसे तर बस्न भने घुँइचोले दिएन । “कान्तिपुरीमा मान्छे निकै बढेछन् ए ! यतिका मान्छे खान्छन् पो के ?” उनको दिमागमा अर्को प्रश्न रिङन आयो । तर त्यत्रो हूलमूलमा प्रश्न के रिङन पाउँथ्यो, उनी आफैँलाई रन्न रिँगारिएर हुत्याउँदै एउटी युवतीको छेउमा पुर्‍याइदियो । युवतीको काखमा एउटा रहरलाग्दो कुकुर पनि थियो ।

नारीसित नारिएर बस्न भानुभक्तको नैतिकताले मानेको त होइन तर घुँइचोमा एउटा सानो छेउ पाएकाले आपदधर्म सम्झी उनी टुसुक्क बसिहाले तर बस्नेबित्तिकै घच्चा ख्वाउँदै युवतीले सातो खाइन्, “महिला देख्दादेख्दै टाँसिन आउने नकच्चरो लुठो कहाँको ?” भानुभक्त जिल्ल परे । भर्खरै मात्र पार्कमा छिल्लिएर हिँडेको आफ्नै आँखाले देख्ने भानुभक्तले अहिले नजिक बस्दा मर्दले छुनै नहुनेजस्तो गरी छाँट पारेको सहन सकेनन् र काखको कुकुरलाई औँल्याउँदै उनले सोधिहाले, “होइन, मैयाँको कुकुर पनि महिला नै हो कि ?” “तँलाई के वास्ता ?” भनी युवतीज्यू फेरि सातो खाँदै थिइन्, त्यसैबेला बसले चाहिँ चोल्टिङ खाइदियो । बसभरिका मान्छे माझीको पुरङ्गामा माछाझैं ऊ उसको डँडालोमा चढ्न पुग्यो त ऊ उसको भुँडीमा भकुन्डिन पुग्यो । बिचरा भानुभक्तको चाहिँ बिर्खै टोपी नै कता पुग्यो कता । “धन्य परमात्मा ! बाटोभन्दा ठूलो बस, बसभन्दा ठूलो थुप्रो बुसभित्र बस्नेहरूको । त्यही पनि बस भन्नु मात्रै, बस्न पाइने होइन, बरु उठीउठी यात्रा गर्नुपर्ने यस्तो वाहनको नाम ‘उठ’ नै राखेको भए ठीक हुन्थ्यो कि,” भानुभक्तले एउटा बूढोपाको यात्रुसित प्रस्ताव राखे ।

उनले भने, “यस्तै सिन्कीकोचाइ रत्नको कुदाइले त कति नेपाली बाइरोडको बाटो स्वर्ग गइसके थाहा पाउनुभएन ?” तर स्वर्ग गएका भए त भानुभक्तले बाटामा भेट्नुपर्ने । शायद ट्रकसित गुजुल्टिएकाले बैकुण्ठकै ट्रंक–कल आयो कि उनीहरूलाई ? तर, जेसुकै आओस्, आदिकविज्यूलाई चाहिँ कविता आइहाल्यो –

‘पथ सात–फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावति कान्तिपुरी नगरी ।’

कविताको तेस्रो चरण मिल्दा नमिल्दै बस आफ्ना स्टपमा आएर बसिहाल्यो । ओर्लिएर हेर्छन् त भानुभक्त छक्कै । टुँडिखेल वरिपरि बार, बीचबीचमा लामपुछ्रे बत्ती, सडकभरि बस, मोटर सिलिङ–मिलिङ, रङ्गी–चङ्गी मान्छे त कति हुन् कति ! अमरावती पुगेका दिन जसरी अलमलिएका थिए, अहिले पनि झन्डैझन्डै उस्तै भो भानुभक्तलाई । एकछिन यताउति नियाले– फराकिलो सडक, बसको ताँती, टुँडीखेलको झिलमिलाउँदो रूप देखेर मक्ख पर्दै कविता रच्ने सुरमा थिए ।

तर, बीचैमा ४-५ वटा भुराभुरीहरू पिल्पिलाउँदो मुख लगाउँदै भटमास किन्ने पैसा माग्न थालेकाले उनको मुड नै अफ भयो । यहीँ यतिका सेठसेठानीहरू छन्, यहीँ भटमास खाने पैसा माग्छन्– साँच्ची कान्तिपुर धनी भएको हो कि गरिब हुँदै गएको हो, उनलाई छुट्याउन मुस्किल पर्यो । तैपनि कान्तिपुरे मुखका कति कान्ति बढेछ भनी एक–एक गरी चिहाउन थाले । छन त सबैका मुख सिँगारिएका थिए तर कसैका गोरिँदा–गोरिँदा हात टल्कने सेता, कसैका नर्मिदा–नर्मिदा बासी जाइको फूलजस्ता नरम । आखिर उनले के ठम्याए भने कान्तिपुरको कान्ति त निकै बढेछ तर कान्तिपुरको शान्ति भने मामाघर जान थालेछ है ! यो गम्दा उनलाई यति खल्लो लागेर आयो– एक सूचीले समेत च्यापेर ल्यायो । त्यो रङ–रमिताको भीडमा गर्ने कहाँ । यताउति हेरे, कतै पत्तो लागेन ।

“यतिका मान्छेको भीडमा सूची गर्नुपर्ने मान्छे मैमात्र रहेछु कि क्या हो, नत्र यस्तो जमघट हुने ठाउँमा एउटा शौचालय किन बन्दैनथ्यो ?” भानुभक्त अकमक्क परे । तर, सहिनसक्नु भएकाले उनी सरासर लागे उत्तरतिर । सडकैछेउमा लस्करै बसेका भुराभुरीलाई देख्दा त्यहाँ कसले छेक्ने रहेछ र भन्ने उनलाई लाग्यो तर सूची गरिसकेपछि पो उनी झल्याँस्स भए, त्यहीँनेर महात्मा बुद्धको एउटा चैत्य रहेछ । नैष्ठिक भानुभक्तलाई आफू निष्ठाच्युत हुनुपरेकोमा खेद लाग्यो, लागेर के गर्ने ?

आखिर उनी पसे नयाँ सडकतिर । नयाँ सडक मात्र नयाँ थिएन, तडक–भडक पनि नयाँ थियो । कान्तिपुरको कान्तिविहीन मुहार पनि नयाँ सडकमा त फुर्तिलो, उनलाई अलि सन्तोषै लाग्यो तर त्यहाँ कान्तिपुरे मात्रै थिएनन्, रङ्गरङ्काग चेहरा र कद थिए । त्यहाँ राता, सेता–काला, नेप्टा, चेप्टा, फ्रकवाल, दोचावाल, कोटवाल, भाटेवाल, शान्तिदूत, धर्मदूत को–को हुन् को–को ? भानुभक्तको प्रतिभा उम्लेर आयो–

‘पिसकोर यहीँ घुसखोर यहीँ
नव–जोर यहीँ दिलचोर यहीँ
जति छन् सब छन् धनवानसरी ।

सबै थरीका बीच भानुभक्त पनि एक बेग्लै थरी व्यक्तित्व थिए– नयाँ सडकमा । सबै दूतका बीच उनी आफू काव्यदूत थिए स्वर्गका । यसैले वास्ता गरिरहनुभन्दा २-४ जना कविलाई नै भेटेर बात मार्न आदिकविलाई मन लाग्यो । तर, भेट्ने कहाँ गएर, कसलाई ? उनी अन्योलमा परे । तैपनि नजिकैको एक युवकलाई कोट्याउँदै उनले सोधे, “यहाँ को–को लेखक कवि कहाँ–कहाँ छन् हँ ?” युवकले नाक नेप्ट्याएर जवाफ दियो, “पुराना कवि/लेखक अलिकति एकेडेमीतिर साहित्यमा रिसरागबारे रिसर्च गर्दै छन् भन्ने सुनेथेँ, नयाँ लेखकहरू प्रायः यतै वरपर छरिएका होलान् । तपाईं कसलाई खोज्नुहुन्छ, एउटा बिलकुलै बफाउँदो नयाँ कवि त म पनि हुँ ।”

भानुभक्तले नमस्ते गर्दै खुसी प्रकट गरे, “ओहो ! त्यसो भए त ढुङ्गो खोज्दा देउता मिलिहाल्यो नि । यहाँले कति वर्ष काव्यसाधना गर्नु भएको छ कुन्नि ?” युवकले चारमिनारको (भारतमा बनेको सस्तो खाले चुरोट) बट्टा उचाल्दै जवाफ दियो, “मैले लेख्न त यसपालिदेखि थालेको हुँ तर गोडा सातेक लामालामा कविता लेखिसकेँ । एउटा ताजा कविता सुन्नुहुन्छ भने सुनाई पनि हाँलू ?”

आदिकवि भानुभक्त कविको कविता सुन्न तरखराउँदै थिए, अर्को ठिटो आएर भन्न थाल्यो, “तँ पनि कविता लेख्ने ? कवितै सुन्नुहुन्छ भने सुन्नुहोस् बाजे, बिलकुलै आधुनिक, यही पीपलको बोटको कविता ।”
“ओहो ! यहाँहरू सबै कवि हुनुहुँदो रहेछ । होइन, यहाँ अरू कवि पनि छन् ?”
“अरू को छन् र ?” भनी नयाँ कवि बताउँदै थिए, पत्रिका बेच्ने हकरले उहीँनिर आएर भन्यो, “एउटा कवि त म पनि छु हजुर !”
उसले भन्दाभन्दै पसलेले कुरा थप्यो, “यहाँ मिनिस्टरदेखि कम्पोजिटरसम्म सबै कवि ।”

जे होस् आदिकविलाई कविहरू बढेको सुन्दा खुसी नै लाग्यो । यस्तै खुसी–खुसीमा एकजना सज्जनले कविजीलाई नजिकैको रेस्टुराँतिर डोर्‍यायो । उनी रेस्टुराँभित्र पस्नमात्र के लागेका थिए, उनको बिर्खे टोपीमा एउटा मरेको मुसो फ्वात्त पर्न आयो । उनी जिल्ल परेर मास्तिर हेर्दै थिए । अर्को झ्यालबाट एक थुप्रो फोहोर पुष्पवर्षा भएझैं सडकमा बर्सिए । यो वर्षाले आफ्नो स्वागत गरेको हो कि विरोध गरेको हो, उनलाई ठम्याउन धौ-धौ पऱ्यो ।

रेस्टुराँभित्र एक छेउमा २-४ जना भात खाँदै थिए, अर्को छेउमा २-४ जना जना जेरी जिप्टयाउँदै थिए । अलि पर एउटा अँध्यारो कुनामा २-४ जना रम र म:मः भन्दै थिए । त्यसैले यो भट्टी हो कि चियापसल हो कि भोजनशाला हो– कविले केही बुझ्दै बुझेनन् । उनको उत्सुकता शान्त गर्दै नजिकैका सज्जनले भने, “यस पसलका विशेषता के भने शाकाहारी, मांसाहारी, दुग्धाहारी र मद्याहारी जो जे जस्तो छ। यहाँ खानेकुरा पाइन्छ । दोस्रो विशेषता यहाँ जति पुरानो खानेकुरा खोजे पनि तुरुन्त पाइन्छ ।” भानुभक्तले ठाने, “म पनि पुरानै मान्छे भएकोले यहाँ ल्याएको होला ।” यस्तैमा सिँगानको लत्को दौरातिर पुछ्दै एउटा मरन्च्याँसे केटाले खानेकुराको रिकापी टक्रयायो । भानुभक्त भने कविताको धूनमा मस्त थिए–

‘मृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलँदा टुपि जल्छ जहाँ
कुतिको कलरव् अझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी
थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाउ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी ।’

होटलबाट निस्केपछि भानुभक्तलाई ठूलो समस्या पऱ्यो– बासको । रात परिहाल्यो, नयाँ कान्तिपुरीमा आफूले चिनेको कोही छैन । पहिले त उनीसँगैका सज्जनले आदरसाथ पसलमा लगेर चिया खुवाएकाले उनैले घर लैजालान् भनी ढुक्क थिए, तर चिया खाइसकेपछि पो सज्जनको उद्देश्य उनले बुझे । सज्जन रहेछन्– लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्ट । उनलाई इन्स्योरेन्स गर्नोस् भनेर निकै बुझाउँथे तर भर्खर स्वर्गबाट ओर्लेका भानुभक्तलाई कहाँको लाइफ इन्स्योरेन्स !

आखिर बल्लबल्ल सज्जनको पञ्जाबाट फुत्केर भानुभक्तजी बास माग्ने तरखरमा हिँडे । घरैघरले बाटो नपाइने आजको कान्तिपुरमा बासकै समस्या छ भन्ने उनलाई के थाहा थियो र ! एक–दुई गर्दै नयाँ सडकका ढोकादेखि वसन्तपुरसम्म गोडा पन्ध्रेक घरमा उनले बास मागे– एक रातका लागि । तर, कसैले छैन मात्र भनेर फर्काए त कसैले ‘यत्तिका होटल हुँदाहुँदै बास माग्न घर-घर चहार्ने यो लबस्तरो बूढोलाई लगाइदेओ न कुक्कुर’ भनी झपारे । कसैले उनलाई चोरको शङ्का गरे त कुनै लाल बुझक्कडले ‘यो सीआईडी हो सीआईडी’ पनि भने ।

बाह्र बजुन्जेल खोज्दा पनि बास पाउन नसकेर भानुभक्तजी रङ्मङिदै थिए, बेसमयमा हिँडेको उनलाई पुलिसले पक्रिदियो । स्वर्गबाट कान्तिपुर हेरुँ भनेर आएको तर बास नपाएको कुरा बताएपछि पुलिसले निगाहा गरेर भन्यो, “यो हावा खुस्केको पहाडिया रहेछ । भैगो छाडिदिऊँ ।” अनि ‘पेटीतिर गएर बस’ भनी पुलिस हिँड्यो । भानुभक्तजी पेटी–पेटी रानीपोखरीको डिलमा पुगेर रोकिए ।

रानीपोखरीको पालेले कड्केर सोध्यो, “क्या हो, हाम्फाल्ने सुर छ कि कसो ?” उनले नम्रतासाथ ‘होइन’ भने र सोधे, “बाँकी रात काट्ने कुनै ओत–सोत पाइन्छ कि ?” बूढो पालेले भानुभक्तलाई पनि बूढो देखेर हो कि किन हो ‘ऊ त्यो सालिकको मुनि बस्नोस् बाजे !’ भनी भानुभक्तकै शालिक देखाइदियो । उनी गएर यसो हेर्छन् त आफ्नै प्रतिमूर्ति । एकछिन दङ्गदास भएर उनले आफ्नो शालिक टुलुटुलु हेरिरहे । माला लगाइदिएको, सिन्दुर दलिदिएको भव्य मूर्ति, उनी एक मन दङ्ग परे । तर, आफ्नो बिहानदेखिको रित्तो पेट छाम्दा र यत्रो कान्तिपुरीमा बास नपाउँदा भने उनलाई ग्लानि पनि लाग्यो । शालिकनिर टुसुक्क बसेर पछ्यौरा झिकेर ओढ्दै उनले गमे –

‘शव सालिक पुजित हुन्छ जहाँ
सिँगुलै उभिँदा तर मिल्छ घुणा
दिलदार उदार कहाँ यसरी
अमरावति कान्तिपुरी नगरी ।’

उनी गुनगुनाउँदै थिए, त्यहीँनेर पेटीमा एक डल्लो भई सुतेको एउटा केटो उठेर भन्न लाग्यो, “दाजु ! तिम्रो पछ्यौराको एउटा छेउ मलाई पनि देऊ न, साह्रै जाडो भयो ।” भानुभक्तले उसलाई बोलाएर जम्मै पछ्यौरा ओढाइदिए । जिउ तातेपछि केटाले भन्यो, “भात खाने जग्गा मासेर त्यत्रा घर बन्छन् तर गरिबको छोरालाई सधैँ पेटीका बास । आज भानुजयन्ती, राति ९ बजेसम्म सारा मान्छे यहीँ जम्मा भएर बेलामा सुत्न पाइएन । यो भानुभक्त भन्ने कुनचाहिँ रह’छ हँ दाइ ?” एकोहोरो फतफत गरिरहेको केटोले निकै बेर सही थापेको नसुन्दा मुण्टो उठाउँदै भन्यो, “साँच्ची भानुभक्तलाई देखेनौ हगि तिमिले ?”

तर, केटाका प्रश्नको जवाफ दिन भानुभक्त त्यहाँ थिएनन्, उनको अगाडि त जिल्ल परिरहेको थियो भानुभक्तको शालिक मात्र । परपर को भटयाउँदै जाँदै थियो–

‘एकदिन् भानु त कान्तिसुर पुगिगया लोक्को बुझूँ रीत् भनी
साह्रै दङ्ग पर्या घुम्या वरिपरी मो भानुभक्तै भनी
खाया हण्डर खूब कान्तिपुरमा चिन्दै नचिन्ने भया
आफ्नै सालिकमा कटाइ अलि बेर् ती अन्तरैध्यान् भया ।’

Facebook Comments

You may also like

error: Content is protected !!