दुई प्याक शराबी कविता | Saturdayकलम | काव्यालय-Kavyalaya

दुई प्याक शराबी कविता

एक गिलास समुंद्र

अलिकति पिउँछु , थोरै मात्छु
अनि माग्छु अलिक बढी पिउनलाई
साथीभाइ सधैँझैं हाँस्छन्
अनि कसैले भनिदिन्छ-
अब थाल्यो रक्सीले पिउन यसलाई

मुस्कुराउँछु ,
मेचमा आसन कसेको हुन्छु
साहुनीलाई थप गिलासको अनुरोध गर्छु
साहुनी मुस्कुराउँदै आउँछिन् , लजाउँछिन्
एक गिलास समुंद्र मेरो टेबलमा बसाउँछिन्
मेरो निजी समुंद्र

म देख्छु समुंद्रमा दुब्दै गरेको महिलाको सिक्री
तैरिरहेका केटाकेटीका केही थान किताबहरू
तैरिरहेका आर्शिवाद दिने बुढा हातका गीडहरू
अनि दुई थान पातला काठका लौरीहरू
ती डुब्ने र तैरिने चिज मलाई विषझैं लाग्छन्

समुंद्र उचालेर केहीबेर हल्लाउँछु
मानौँ म विषको मात्रा मिलाउँछु

साथीभाइ फेरि हाँस्छन्
अनि कसैले भनिदिन्छ
बेसरम जड्याहया !
सधैँ यसरी गिलासमा टोलाउँछ ।

भन्न मन लाग्छ
रक्सीमा टोलाउन कसलाई मन हुन्छ र ?
त्यो त रक्सीबाट केही परिचीत मलाई चिहाउँछन् !
तिनलाई धमिल्याउन पो म यसरी गिलास हल्लाउँछु ।

 ए ! पिउने मित्र

ए ! पिउने मित्र
सुनेको छौ , मदिराको आवाज ?
तिमीले सायद रंग मात्र देखेका छौ ।

नभन्नु मलाई त्यो पानीजस्तै बज्छ
म त मदिरामा अर्केस्ट्रा सुन्छु
त्यो जब बज्छ , अनौठो बज्छ ।

मान्छे नाचेको देखेको छु मैले त्यो अर्केस्ट्रा धुनमा
आँसु चुहाउँदै , खित खित हाँसेको देखेको छु

तिमी किन मदिरालाई यति सरल देख्छौ ?
के त्यो केवल रंगिन पानी मात्र हो ?
म त नखनिएको मदिराको सीसीमा एउटा ब्रह्माण्ड देख्छु
त्यहाँ टुट्दै गरेका केही तारा देख्छु
कहिल्यै नदेखेका अपरिचित ग्रहहरू देख्छु
अब भन ब्रह्माण्डको आवाज कस्तो हुन्छ ?

तिमी भन्छौ “मैले मदिरा पिएँ”
“आज त उत्पातै पिएँ , रित्याइदिएँ”
म भन्छु तिमी ढाँटिरहेछौ,
ब्रह्माण्ड रित्याउने तिम्रो ताकत छैन

थाहा छ मलाई, तिमी पस्न खौज्दैछौ
त्यही सीसीको ब्रह्माण्डमा
जसलाई तिम्रो सपनाबाट कसैले चोरी
त्यहाँ सील प्याक गरिदिएको छ ।

नहेर त्यो मदिराको रंगमा
आखाँ चिम्लेर एकपल्ट सुन
अर्केस्ट्राको मिठो धुन बज्दैछ …
थाहै नपाई तिमी ब्रह्माण्डमा बिल्दैछौ
तिमीलाई ब्रह्माण्डले निल्दैछ ।

Facebook Comments

You may also like

error: Content is protected !!