उमेर

उमेर के हो ? के हो यसको परिभाषा ? यसैलाई मनन गरिल्याउँदा आउँछन् अनेक कुराहरु । यस धर्तीमा पहिलो पाइला टेकेदेखि सेकेन्डलाई मिनेट, मिनेटलाई घण्टा, घण्टालाई दिन, त्यसपछि हप्ता, महिना अनि वर्षको थुप्रोमा थुपारेर जोखेपछि जति परिमाण निस्किन्छ त्यसैलाई उमेर भनिन्छ । यसैको खुशियालीमा, आफू धर्तीमा उत्रिएको दिनको सम्झनामा मान्छेहरु जन्मदिन मनाउने गर्दछन् । उत्सव मनाउने गर्दछन् । उमेर भनेको जिन्दगीको बारीको त्यो पाटो हो जहाँ मृत्युले हरदम हलो जोतिरहेको हुन्छ । मृत्युको हलो बारीको छेउछाउ जोत्दै जोत्दै बिचमा आइपुग्छ अनि फेरिन्छ जिन्दगिको अनुहार ।

जिन्दगी गर्मीयामको कुनै घमाइलो दिनमा बाटोमा कुनै बच्चाले चुसिरहेको बर्फिलो कुल्फी हो जो पल-पल पग्लिरहेको हुन्छ । त्यो तत्काल त सकिँदैन तर सकिन्छ अवश्य । मुखबाहिर राख्दा पनि आफैँ पग्लिएर सकिन्छ । मुखभित्र राख्दा पनि चुसिएर सकिन्छ । जिन्दगी त त्यहि बच्चाको छेउमा उभिएर उसकै बाउले तानिरहेको चुरोटको खिल्ली पनि हो जो ओठमा टाँसिरहँदा पनि सकिन्छ, हावामा नाचिरहँदा पनि सकिन्छ ।

उमेर त जिउन बाँकी जिन्दगीको समयको नापो पनि हो । मान्छेले यदि थाहा पाउँदो हो त आफू यस लोक छोडेर परलोक जाने दिन, बेला, घडी र पला, मनाउँदो हो उत्सव उसले मर्ने दिनको तिथि निकालेर । थाहा पाउँदैन र त निराशिन्छ मान्छे । दुखी हुन्छ सानो-सानो कुरामा । मृत्यु निश्चित छ । त्यो जुन दिन पनि प्राप्त हुन सक्छ । त्यसैले भनिएको हो, हरेक दिनलाई अन्तिम दिन मानेर जिन्दगी उत्सवमय बनाउनु पर्छ ।

+++

मलाई सानो छँदा सधैँ ठूलो हुने चाहना रहन्थ्यो । यति ठूलो कि बा’को जस्तै ठूलो चप्पल लगाउन सकौँ । यति ठूलो कि एक्लै-एक्लै बजार जान सकौँ । यति ठूलो कि झयाप्प दाह्री पाल्न सकौँ । जुँगा मुसार्न सकौँ । दाह्रीजुँगा उमार्ने बहानामा लुकी-लुकी बाको दाह्री काट्ने मेसिनमा ब्लेड राखेर आफ्ना कलिला चिल्ला गालाहरुमा दौडाएको अझै सम्झना आउँछ । गालामा त दाह्री थिएन तर उत्तेजना थाम्न नसकेर दाह्रीजुँगाजस्तै त हो नि भनेर निर्दोष आँखिभौँहरुलाई निधार निकाला गरेको आजैजस्तो लाग्छ । यति गर्दा पनि खुइलिएको अनुहारले मलाई उमेरको थुप्रो कोसेली दिने काम गरेन । बरु बाँदरजस्तो देखियो भनेर सारा दुनियाँका लागि जिस्काउने अवसर भनेर अवश्य प्रदान गरेको थियो ।

ठूलो हुनुपर्ने आवश्यकता मलाई यस कारण थियो कि सानो भएका कारण मसँग धेरै सीमितताहरु थिए । म सात वर्षको हुँदा मलाई कसैले ‘कति वर्षको भइस् ?’ भनेर सोध्यो भने ‘आठ वर्ष’ भन्थेँ । मेरो हिसाब थियो- म जन्मेको दिनमा नै एक वर्षको भएको थिएँ । मसँगैका सिँगाने बच्चाहरु जो मभन्दा केही महिनाले जेठा हुन्थे, उनीहरुको भाइ हुन म तयार थिइनँ । यसर्थ पनि मलाई आफ्नो तर्कले भ्याउने एक वर्ष उमेर बढाउनु जरुरी थियो ।

उमेर एउटा मनोविज्ञान रहेछ, सुपेरिअरिटि अनि इन्फेरिअरिटिको । मैले देखेदेखि नै मेरा बा’को कपाल ढड्डु भएर फुलेको थियो । मैले कहिल्यै बा’लाई कालो कपालमा देखिनँ । भलै एक समय थियो बा’ले कपालमा कालो लगाउनु भएको थियो । त्यो रमाइलो किस्सा छ । याद भयो र समय भएमा त्यसको चर्चा तल अर्को अनुच्छेदमा गरौँला । बा’ बेला नहुँदै बुढो देखिन थाल्नु भयो । उमेर भनेको सधैँ जिन्दगीको नदीमा समयको नाउले छिचोलेको दूरीमात्र नहुँदो रहेछ । उमेर त कुनै साधुले ललाटमा चन्दनका धर्साहरु केरेझैँ दुखका धर्साहरु निधारमा केर्नु पनि रहेछ । कति धर्साहरु बढे भनेर हेर्नु पनि रहेछ । मान्छे उमेरले भन्दा पनि दुःखले बुढो हुने रहेछ, जिम्मेवारीले प्रौढ हुने रहेछ । यसै भनिएका हैनन् यी कुरा । मेरै बा’लाई हेरेर भनिएका पो हुन् कि ?

झ्याप्प फुलेका कपाल अनि ढाकाटोपी । बुढो हुन के चाहियो ? मलाई मेरा बा’ गाउँभरि नै सबैभन्दा जेठोजस्तो लाग्थ्यो जसरी सिगाने बच्चाहरुको हुलमा म आफू नै जेठोजस्तो लाग्थ्यो । तर यथार्थ फरक हुँदो रहेछ । एकदिन बा’ले आफूभन्दा पनि कलिलो देखिने एकजना पसलेलाई दाइ भन्नु भयो । सबभन्दा धेरै हिनताबोध मलाई भएको थियो । एकजना जिन्स र सर्ट अनि कालो चश्मा लगाएका मान्छेलाई बजारमा भेट्दा बा’ले ‘यो मसँगै पढेको बच्चा बेलाको साथी’ भनेर चिनाउनु भयो । मैले नमस्ते गरेँ तर म धेरै दुखी भएको थिएँ । बा’ जिम्मेवारीले छिट्टै बुढो हुनु भयो । गाउँको दुख र चिन्ताले छिट्टै प्रौढ देखिनु भयो । तर बा’का पसले, ठेकेदार आदि इत्यादि साथीहरुले रमाइलोमा आफूलाई भुल्याए । उमङ्गमा रङ्गिए । बुढ्यौली उनीहरुलाई जिन्दगीको कुनै चोकमा कुरिरह्यो, उनीहरु थाहा पाएरै त्यता जाँदै गएनन् !

+++

जिन्दगीको भागदौडमा म पनि कहिले बच्चा देखिएँ कहिले बुढो देखिएँ । कहिले आफूभन्दा ठूलाले पनि दाइ भने कहिले आफूभन्दा सानाले पनि भाइ भने । दाह्री काट्दा पाँच वर्ष कलिलो र दाह्री पाल्दा त्यति नै बुढो देखिने भएको थिएँ । तर उमेर बढाउन खोज्ने मनोविज्ञान भने उस्तै थियो । प्रकृतिले नै पुरुषहरुलाई अलि पाको बन्न, परिपक्व बन्न सघाउने रहेछ । खासमा बुढो नदेखिने पुरुष प्रकृतिले निर्धारण गरेको पौरुषत्वको विरुद्धमा गएको रहेछ ।

मेरा एकजना काकाकी छोरी थिई, दिदी । पढेलेखेकी नै थिई । जागिर पनि खान्थी । खै के के कारणले हो बिहे हुन नसकेकी । हामी भाइहरु हुर्कँदै आएपछि दिदी झन् मसिनी देखिन थालिन् । भाइहरुको पालैपालो बिहे भइसक्दा पनि दिदीको बिहे हुन सकेको थिएन । यो काकाको निम्ति ठूलो चिन्ताको विषय थियो । उमेरकी कलिली केटी खोज्ने समाजमा दिदी ‘नबिक्ने’ हुन थालेकी थिइन् ! दिदी धेरै पटक धेरै केटाहरुबाट ‘रिजेक्ट’ भइसकेकी थिइन् ।

एकदिन काकाले मलाई बोलाएर भन्नुभो, ‘बैनीको बिहे गर्न गाह्रो पर्दैछ । तेरो कोही केटा साथीहरु छैनन् ? खोज् न ।’
एकछिन वाल्ल परेँ । कोही बैनी थिएनन् परिवारमा जसको बिहे गर्न हतार परेको होस् । को बैनीको बारेमा कुरा गरेको जस्तो लागेर सोचेँ । अनि प्रश्नको आँखा तर्दै काकालाई सोधेँ, ‘को बैनी ?’
‘सरिता ।’
‘त्यो त मेरी दिदी हो बुढा, तिन वर्ष जेठी छ ।’
‘था’छ था’छ । अब दिदी नै भनिराख् अनि बुढीकन्या नै बस्छे सरिते !’ काका आँखा राता पार्दै हान्निएर हिँडे । काकासँगै एउटा निर्मम लाचारी पछि लागेको थियो । ननिस्किएको रुवाई अघि लागेको थियो । म अकमक्क परेँ ।
त्यो दिनबाट सरिता दिदी मेरी बैनी भएकी थिई ।

+++

उमेर सँगसँगै मान्छेका सोचहरु फेरिँदा रहेछन् । रहरहरु बदलिँदा रहेछन् । हिजोका चाहनाहरुको प्यास लाग्दो रहेनछ आज । हिजोका खित्काहरुमा आज हाँसो लाग्दो रहेनछ । जस्तो कि हिजो चप्पल उल्टो देख्दा पनि हाँसो लाग्थ्यो । मोजा सुल्टो देख्दा पनि हाँसो लाग्थ्यो । आज हिजोका जस्ता रुने बहानाहरु छैनन् । केही अर्कै छन् बहाना जसले परेलीका डिलसम्म आँसु ल्याएर राखिदिन्छन् । घाँटीको रुद्रघण्टीमै भक्कानो ल्याएर राखिदिन्छन् । अक्सर रुने बहानाहरु अधुरा प्रेमका नाममा आइदिन्छन् । त्यही अधुरो प्रेमकी नायिका थिई ऊ ।

‘तिमी कति सालको ?’ कुनैदिन उसले सोधेकी थिई ।
‘पैंतालीस ! तिमी नि ?’
ऊ चुप बसेकी थिई । उसका आँखाहरुले पराजित मुस्कान मुस्कुराएका थिए ।
‘भन न ।’
‘म पनि पैंतालिसको नै हो’, झुटको ग्लस पोतेको ओठबाट भनेकी थिई उसले ।
‘अँ होला’, मैले भनेको थिएँ ।
‘हिहिही हो के ।’
‘साँच्ची भन न ।’
म त छयालीसको तर तिमीभन्दा धेरै कान्छी चाहिँ हैन है, ठ्याक्कै बैसाखमै हो जन्मेको’, यति भनेर उसले मसँग बराबरी गर्न खोजेकी थिई । तर मैले त उसलाई चिढ्याउने बहाना पाइसकेको थिएँ ।
‘तोइट बच्चाहरु भएर दाइ……’ म दाइ शब्दमा अडिएको थिएँ । खै के थियो मेरो अवचेतन मनमा म उसको दाइ हुन तैयार बेहोसीमा पनि थिइनँ । अनि एकछिन अडिएपछि भनेको थिएँ, ‘बच्चा भएर ठूलामान्छे सँग गफ गर्न आउने हो ?’
‘को ठूलो मान्छे ?…..तिमी ?’ उसले अट्टहास गरेकी थिई । म निच्च परेको थिएँ ।
‘मजस्तो बच्चासँग एउटै क्लासमा पढ्ने पनि ठूलो मान्छे ?’ ऊ मलाई कहिल्यै जित्न दिँदैन थिई । सधैँ आफूमात्र जित्थी ।
कुरैकुरामा एकदिन उसलाई भनेको थिएँ, ‘म त तिमीसँग बिहे गर्ने हो ।’
‘छि छि कसले गर्छ तिमीसँग बिहे ?’ उसले तन्दा खुज्मुजिएजस्तो खुज्मुजिएको मुख बनाएर भनेकी थिई ।
‘किन र ?’ म वाल्ल परेको थिएँ ।
‘तिम्रो डण्डीफोर छ । चुप्प खानै घिन लाग्छ ।’

ऊ साँच्चै बच्चा थिई । कसलाई के पर्छ केहि नसोची भन्थी । उसका शब्दहरुले म बेस्सरी टुटेको थिएँ ।
बेसनको पिठो दलेको थिएँ, रक्तचन्दन पोतेको थिएँ, घ्यु खाइनँ, पानी त गाईवस्तुले जसरी पिउँथें । बल्ल हराएको थियो डण्डीफोर । तर खाटाहरु बाँकी नै थिए, गालामा पनि, मनमा पनि । तर म पनि के कम थिएँ, मौका पाउनासाथ जिस्काइहाल्थेँ उसलाई ।

‘तिमीले आज जुँगा काटिनौ ?’ उसको माथिल्लो ओठमाथि पातलो जुँगाजस्तो देखिने रौँका रेखीलाई देखाउँदै सोध्थेँ ।
हत्केलाले मुख ढाकेर निन्याउरो रुन्चे अनुहार बनाएर चित्त काटिनेगरि भन्थी ऊ, ‘म कति धेरै नराम्री छु है ?’
‘हैन, तिमी साह्रै सुन्दर छौ । मलाई त तिम्रो त्यो जुँगाको रेखीलाई पनि चुमिदिन मन लाग्छ ।’
‘छि छि फोहोरी’, यति भनिसक्दा उसको अनुहारमा ताराहरुका बथान झिल्मिलाई सक्थे ।

हामी साथी थियौँ । या अझै माथि थियौँ कि ? मित्रता चोखो छ भने, बिटुलिएला भन्ने डरले प्रेम पनि बीचमा आउन डराउँदो रै’छ ! हामीमा त्यस्तै भएको थियो सायद ।
‘मलाई के दिन्छौ बर्थडेमा ?’ उसले सोधेकी थिई । मैले दुई तिन थान उपन्यासहरु दिएको थिएँ उसलाई । र भनेको थिएँ, ‘यसैगरी वर्ष वर्षमा किताब दिएर तिम्रो घरलाई लाइब्रेरी बनाइदिनेछु ।’ तर कैयौं साल बिते, उसलाई नभेटेको, नबोलेको, किताबहरु नदिएको । सुनेको छु, बच्चाजस्ती ऊ आफैँ बच्चाकी आमा भएकी छ रे ! लाइब्रेरी नै त नबन्ला तर उसले सिरानीमा खुसुक्क राखेर बेलाबखत सुमसुम्याएर हेरिराख्न छिट्टै नै कोसेली दिने चाहना छ उसलाई एउटा किताब, आफैले लेखेको !

+++

कता कता पो बरालिएछु ! खैर, छोडौँ । अब अन्त्य गर्नुपर्छ यो लेखलाई । बा’ले कपाल रङ्ग्याएर कालो पार्नु भएको किस्सा अहिले बिस्तारमा सुनाउन भ्याइनँ । छोटकरीमा भन्छु, बुढाले डुब्लिकेट रङ्ग लगाउनु भएछ कपालमा । कपाल कालो बनाएकै साँझ एलर्जीले अनुहार फुल्यो । जिउभरि डाबर उठ्यो । अस्पताल जानुपर्ने भयो, र जानुभयो । अस्पातलबाट फर्किंदा बा’ झोलाभरी औषधी बोकेर आउनुभयो । अनि आउनु भयो रित्तो टाउको लिएर । हिजो कालो भएका कपाल आज तालु निकाला भएका थिए । भोलिपल्ट देखि नै बा’को टाउकोबाट पुरानै श्वेत रङ्गका रोमहरु टुसाउन थालेका थिए ।

अनि सरिता दिदी ? कालान्तरमा उनको पनि बिहे भयो । मैले उनलाई बैनी भनिरहन परेन । तर उनका बुढा जो उनीभन्दा बच्चा छन् म सालोलाई पनि तपाइँ भन्छन् किनकि उनी मभन्दा पनि कलिला देखिन्छन् !

+++

Facebook Comments

You may also like

error: Content is protected !!