म जे भन्दै/लेख्दै छु त्यो भन्न/लेख्न आवश्यक नै नपरेको भए ? अथवा, यही लेख्दै गरेको कुरा सबैको साझा महसुस, साझा आवाज भइदिएको भए ? लेख्न बस्दै गर्दा यही भावनाले छोपेपछि यो लेख नै मैले साझा सम्बोधनमा लेखिदिएँ ।
सम्बोधन, हाम्रो पुस्ताको नाममा..
अँ,
म पढ्ने कलेजमा एकजना केटा साथी छन् । एकदिन उनी र उनको साथीहरू कक्षामा हाँसो मजाक गर्दै बसिरहेका थिए। उनीहरूको कतै घुम्न जाने योजना थियो कि जस्तो लाग्छ। त्यतिकैमा उनकै समकक्षीले “आज त तिम्रो मोज हुने भयो दिन देखि लिएर रात पनि हामीसँग बिताउन पाउने भयौ भनेको आवाज मैले सुने ।” पछि थाहा पाएँ कि उनलाई छ्क्का भनेर पनि सम्बोधन गरिँदोरहेछ। कारण, उनी अलिअलि फेमिनिन व्यवहार देखाउँथे ।
मेरो एकजना केटी साथी छ्न् जो कपाल ठुटे गराएर काट्छिन् । अनि सर्ट, टिसर्ट अनि प्यान्ट लगाउन रुचाउँछिन्, अझै भन्नुपर्दा उनी प्राय जसो पुरुषले लगाउने पहिरन लगाउँछिन् । उनले बनाउने गरेको टिकटकको प्राय भिडियोमा छक्का, हिँजडा, तपाईं केटी कि केटा भन्ने कमेन्ट आइरहेका हुन्छन् । अझै उनीसँग थोरै नजिक भएका साथीहरूले ‘केटी भएर कपाल काट्दा घरमा केही भन्नुहुन्न ?’ भन्ने प्रश्न गर्छन्।
यी त केही सतही कुरा भए, मैले सुनेका र देखेका समलिङ्गी साथीहरूको कथा योभन्दा धेरै दर्दनाक छ।
मानव सभ्यताको सुरुमै चौथौ शताब्दीमा लेखिएको भनिएको हिन्दु ग्रन्थ “कामसुत्र” मा दुई पुरुषबीचमा यौन सम्बन्ध कसरी राख्दा सन्तुष्टि पाउन सकिन्छ भनेर विस्तृत रूपमा लेखिएको छ। त्यस्तै, भारतमा मुगलहरूले राज गर्ने बेलामा राज्यसभामा त्यहाँका राजाले कहीलेकाहीँ महिलाको वस्त्र धारण गरेर बसेको इतिहासले बताउँछ । तर, दुर्भाग्यवश आज हाम्रो मुलुकमा समलिङ्गी हुनु एउटा रोग मानिन्छ, समलिङ्गी हुनुलाई एउटा मजाकको विषय बनाइन्छ।
हाम्रो नेपालमा वि.स. २०६३ बाट समलिङ्गीलाई कानुनी मान्यता दिइएको हो। तर कानुनी रूपमा समलिङ्गी विवाह गर्ने अनुमति भने अझै दिइएको छैन । १ वर्ष अघिबाट lgbtq+ समुदाय lgbtqia+ भएको छ । धेरैलाई त यसको अर्थ पनि थाहाछैन । आउनुस्, अर्थ के रहेछ जानिराखौँ ।
‘L’ को अर्थ lesbian अर्थात् महिलाले महिलाप्रति आकर्षण देखाउनु ।
‘G’ को अर्थ gay अथवा पुरुषले पुरुषप्रति आकर्षण देखाउनु । (कहिलेकाहीँ सम्पूर्ण समलिङ्गी समुदायलाई नै gay भनेर पनि सम्बोधन गरिन्छ।)
‘B’ को अर्थ bisexual अथवा महिला अथवा पुरुष जुनसुकै लिङ्गीले दुवै महिला र पुरुष जुनसुकै लिङ्गीप्रति आकर्षण देखाउनु ।
‘T’ को अर्थ transgender अथवा कुनै महिलाले पुरुषको शरीरमा जन्म लिनु (उनीहरू खासमा महिला नै हुन्),अथवा कुनै पुरुषले महिलाको शरीरमा जन्म लिनु (उनीहरू पुरुष नै हुन्) । यो समुदायका मानिसले सर्जरी गरेर शारीरिक रूपमा लिङ्ग नै परिवर्तन पनि गर्ने गरेका छन्।
‘Q’ को अर्थ queer अर्थात् त्यस्तो समुदायका मानिसहरू जो महिलापुरुष बाहेक कुनै पनि गुण लिएर जन्मिन्छन् । कतिपयले भने समाजसँग घुलमिल हुँदै जाँदा पछि गएर समलिङ्गी गुण विकास गरेको पनि पाइन्छ ।
‘I’ को अर्थ intersex अर्थात् कुनै पनि व्यक्तिमा शुद्ध पुरुष तथा शुद्ध महिलाको गुण नहुनु यिनीहरूमा पाठेघर तथा अण्डकोष पूर्णतः छुट्टाउन सकिँदैन ।
‘A’ को अर्थ asexual अर्थात् महिला तथा पुरुष दुवैप्रति आकर्षण नहुनु । (यो कुनै बिमारी होइन।) अथवा कुनै पनि मानिस जसले महिलापुरुषमा हुने भन्दा फरक गुण देखाउँछ भने ऊ समलिङ्गी हुन्छ ।
“छोरा भए खसी काट्नु, छोरी भए फर्सी” भन्ने उखान अझै लागू हुने हाम्रो नेपाली समाजमा महिलापुरुषबाहेक अरू पनि लिङ्ग/लिङ्गी हुन्छन् है भन्दापनि पत्याउन गाह्रो पर्छ । यही कारणवश नेपालमा समलिङ्गीको संख्या धेरै कम छ । खुलेर बाहिर आएकाहरू पनि घर र समाजबाट अलग्गिएर बसेका छन्, बस्न बाध्य छन् । अझै ग्रामिण समाजको हालत त यस विषयमा पचासौँ वर्षपूर्वको जस्तै छ भन्न सकिन्छ ।
हामीले समलिङ्गीको स्तर उकास्न के गर्न सकिन्छ त भनेर हेरिल्याउँदा जनचेतना र सही यौनशिक्षा नै यसको एकमात्र उपाय हो भन्ने देखिएको छ । यदि तपाईं समलिङ्गी हुनुलाई रोग मान्नुहुन्छ र हाँसो, मजाक र खिल्लीमा उडाउनुहुन्छ भने तपाईंलाई यौनशिक्षाको खाँचो छ । हामीभन्दा अगाडिको पुस्तामा त्यति विवेक आइसकेको थिएन होला तर अहिले एक्काइसौँ शताब्दी चलिरहँदा विज्ञान र प्रविधिले समलिङ्गी हुनु पनि महिला पुरुष हुनुजस्तै सामान्य हो भनिसकेको छ ।
अझै पनि हामी ‘गे’ भन्ने अङ्ग्रेजी शब्दलाई गालीको रूपमा प्रयोग गरिरहेका हुन्छौँ । यसबाट थाहा हुन्छ कि हामीमा परिवर्तन आवश्यक छ । हाम्रो यही मानसिकताले गर्दा कैयौँ समलिङ्गी मानिसहरू पर्दाभित्रै बसेका छन् । कारण, समाजले आफूले देखिरहेको भन्दा फरक वास्तविकता सही नै भए पनि पचाइदिँदैन। आफूले यौन चाहना देखाउनै नसक्ने लिङ्गीसँग विवाह गरेर बस्नुपर्ने बाध्यता अझैपनि छ । खुलेर बाहिर आएका पनि छ्न् केही । तर, ती जतिपनि छन् अवहेलना र घृणाले व्याप्त जिन्दगी बिताउनु परिरहेको अवस्था छ ।
कमसेकम हाम्रो पुस्ताले त
यो समाज सबैको हो, नेपालको कानुनले समलिङ्गीको हकमा ध्यानाकर्षण गरी उनीहरूलाई रोजगार, शिक्षा तथा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिई समलिङ्गीमैत्री वातावरणको सिर्जना गर्नसके समाजमा चलिरहेको विभेदमा, द्वन्द्वमा, सकस, आदि इत्यादिमा अलिकति भएपनि कमि आउँथ्यो कि ?