यस साताको कविता क्याप्सुलमा सुनिता ज्यूकाे ३ कविताहरूः
माटोमा शब्द
कठोरभन्दा अझ कठोर
क्रुरभन्दा अझ क्रुर
बैमानभन्दा अझ बैमान
त्यस्तो कुनै शब्द छ भने
त्यो यही माटोमा झरोस् ।
माटो
आमाको शालीन गर्भ हो ।
जहाँबाट, जस्तै राक्षस पनि
कलिलो शिशु अवतारमा निस्कन्छ
अब तपाईँ नै भन्नुहोस्
के कुनै शिशु कहिल्यै राक्षस हुन्छ ?
सम्पूर्ण धोका
सम्पूर्ण छल
सम्पूर्ण कुटनीति
सम्पूर्ण ईष्र्या
सम्पूर्ण लोभ
सम्पूर्ण घमण्ड बोक्ने
कुनै शब्द बाँकी छ भने
त्यो पनि आजै यो माटोमा झरोस्
एकदिन त्यहीँबाट
अङ्कुराउने छ प्रेम ।
******
आमाको वैँश
आफ्नै इतिहास सडेर बनेको माटो
भिजाएर आफ्नै आँशुले
मेरी आमा
लिप्दै आइरहेकी हुन्
भुइँ, पेटी, भित्ता, घर ।
वैँश भनेको मैनबत्ती त हो
यही घर उज्यालो पार्न
पग्लिएकी हुन्
मेरी आमा ।
आमाको चुल्ठोमा नै फुलेका हुन्
सिरुका फूलहरु
त्यही चुल्ठोमा
मुर्झाएको हो सिरुको इतिहास ।
हजारौँ पटक डुबाएकी हुन् आफैँलाई
आफ्नै पसिनाको कुवामा
हजारौँ पटक फुलाएकी हुन् आफूलाई
भीरकै रुखको हाँगामा
हजारौँ पटक गाडेकी हुन् आफूलाई
आफ्नै सपनाहरुको चिहानमा ।
मेरी आमालाई थाहै भएन
सिउँदोको सिन्दुर फुक्ने हुरी
कुन दिशाबाट आयो ?
बिना मौसम
कसरी गडगडायो आँशुको खहरे ?
आफ्नै सपनाले कसरी गर्यो आत्महत्या
र उठ्यो वैँशको चोला ?
जब छोडेर गए बा
उनलाई लाग्यो
धेरैथोक लिएर गए बा ।
जस्तो कि–
ढुकढुकिन बाँकी मुटु
मुस्कुराउन बाँकी ओठ
बाँच्न बाँकी उमेर
चाल्न बाँकी पाइला
देख्न बाँकी सपना
जस्तो कि–
उक्लन बाँकी दुई खुड्किला सिँढी
राख्न बाँकी मेरो शीरमा हात
र सुनाउन बाँकी
सङ्घर्षका लोकगाथाहरु ।
बा र आमाबीच
हुर्किरहेको वियोगी आख्यानको
प्रमुख पात्र जो हुँ म
बाले कुल्चिराखेको आधा बाटोमा उभिएर
सोचिरहेकी छु
कि आमाले उठाएको हतियारको गीत
कसरी जोगाऊँ ?
यो गीत
भान्साबाट निस्किएर
सडक पुगेको दिन
सदियौँदेखि एक्लै लडिरहेका
धरतीका बाहरु नाच्नेछन् !
सदियौँदेखि घरलाई थुनेर बसेका
फलामका पर्दाहरु खोलिनेछन्
सदियौँदेखि आत्महत्या गरिरहेका
आमाका वैँशहरुले न्याय पाउनेछन् ।
फेरि पनि
भन्सामा थुनिनु अघि नै
म सोचिरहेकी छु
कि आमाको वैँश फर्किने बाटो
कहाँबाट खन्न सुरु गरुँ ?
******
रातो रुमाल
मेरै रगत पोको पारेर
मलाई नै यो रुमाल उपहार दियौ
ओ हिउँको मान्छे !
आज यो सपनाको पहाडमाथि
रातो रुमाल मात्र बाँकी छ
तिमी कहाँ बिलायौ ?
एकान्तको गीत हो जीवन
मैले आफैलाई ढाँटेकी रहेछु
मेरो हरेक गर्भपात सपनाको
रङ छ यो रुमालमा
मेरो आँशुको महाकाव्य
लेखिएको छ यो रुमालमा ।
मेरै घाइते मुटु पट्याएर
मलाई नै यो रुमाल उपहार ?
ओ धूवाँको मान्छे !
यो बगरको ढुङ्गामाथि
चिसो खरानी मात्र बाँकी छ
तिमी कहाँ हरायौ ?
जब आकाश एक्लो थियो
बादलको लोककथा बनायौ
जब म मौन थिएँ
तिमीले नै गीतहरु गुन्गुनायौ
लहर उठ्यो पर….. परसम्म मनको तलाउमा
र ब्युँझिए मृत सपनाहरु ।
पानीबाहिर एउटा तिर्खा लडिरहेको छ
चराहरु चुच्चोमा बोकेर बाँसुरी
कुनै सुदूर उपत्यकातिर भागिरहेका छन्
यो रातो रुमालको
पँखेटा काटिएको छ आज
ओ सिसाको मान्छे !
मेरो धरतीलाई अँध्यारो बनाएर
तिमी कुन अस्ताचलमा गएर निदायौ ?