आलु

कहिलेकाहीँ
मौनताको बिचतिर
उसका एकजोडी आँखाहरुलाई
निशाना बनाएर
फ्याँकिदिन्छु
यी प्रेमिल नजरका वाणहरु
अनि, ऊ भन्छ-
“आलु! के हेरेको त्यसरी?”
यो आलु पक्कै पनि
मायाको भुटुन अनि
खुशीको मरमसला मिलाएर
भुटेको आलु हुनुपर्छ

कहिलेकाहीँ
उसैसँग हुँदापनि
लागिदिन्छ
कुन्नि कस्तो साथको अभाव
अनि
थामेर आँखाका उर्लिँदा छालहरु
हतासिँदै समाइदिन्छु
उसका कोमल हत्केलाहरु
टाँस्दै एकलाई आफ्नो शिरमा
भनिदिन्छु रुँलाझैँ-
“हामी सँगै हुने नि प्यारा!”
मुसुक्क एउटा न्यानो मुस्कान
छ्यापेर ऊ भन्छ-
“आलु! सँगै त छौँ नि हामी”
सायद यो आलु
साथको अनन्त अगेनामा
आकांक्षाको राँपमा
मागेर थोरै रङ्ग मुटुसँग सापटी
रातो हुनेगरी खर्याइएको
भुजुरी आलु हुनुपर्छ

कहिलेकाहीँ
पर्दाबाहिर देखिएको छाँयामाथि
गरी गान्धार-विश्वास
खनिन्छु ऊ माथि, बुझ्दैनबुझी
तब कान
मेरो मुर्खताको चिमोटी
देखाउँछ ऊ
पर्दाभित्रको CCTV फुटेज
र सुसेल्छ एउटा हैरान सुस्केरा
जो हैरानी
मभित्र भरिदिन्छ ग्लानी
र सोध्छु आफैसँग-
“बुझ्दैनबुझी किन यसरी खनिन्छु म?”
उफ्फ!
पश्चातापले रन्थनिन्छु म
मेरो पिलपिलाइरहेको वदन
टिलपिलाइरहेको नयनको
इशारा नचुकाइ
होशियारीसँग हैरानी लुकाइ
ऊ भन्छ-
“आलु! भैगो त अब किन रुन्छ्यौ?”
तब लाग्छ मलाई
यो आलु
पहिलोपटक छिर्दा भान्सामा
मेरै कारण
बेस्वादको झोलमा डुबी
आत्महत्या गरेको
खल्लो आलु हुनुपर्छ

कहिलेकाहीँ
मेरै खुशी, मेरै हित
मेरै सुरक्षाकालागि ऊ सुझाउँछ
दोहोर्याइ दोहोर्याइकन बुझाउँछ
गर यसो, त्यसो नगर!
ज्ञानी होनहार शिष्यलेझैँ
हल्लाउँछु टाउको मपनि
तर जब
समयको अन्तरालमा फस्छु म
आफ्नै मतिले
खाडलभित्र खस्छु म

निकाल्छ मलाई भएभरको बल लगाई

अफसोस् !
पाउदिनँ म रमाउन उसको हिरोबाजीसँग
ठोकिएर मेरै घाउचोटसँग
लाग्छन् उसका आँखाहरुमा ठेस
फकाउँछु,
सक्किन्छन् शब्दहरु
तर प्रभाव
बाँकी रहन्छन् शेष
घाउ मेरो दुखाइ उसको
चोट मेरो पीडा उसको
तब खोज्छु म
दुखेपनि नदुखेझैँ चल्न
ऊबाट सबै बिराम छल्न
तर ऊ
जो हरदम छ
यी आँखाको अघिल्तिर
यो छातीको पछिल्तिर

छलेर छलिन्छ र कहाँ ?

जुलुसले अवरुद्ध सडकबाट
निस्किएको
टायरको पिरो धुँवाझैँ
गलाको उल्झन फोडेर
ऊ भन्छ-
“सधैँ यस्तै गर्नु है आलु!”
तब लाग्छ
यो आलु
दन्कँदो आगोमा राँपीएर
उम्लँदो पानीमा बाफीएरपनि
नपुगेको
आहतले अपहरित
उसिनेको आलु विथ नुनखुर्सानी हुनुपर्छ

हो
म उसकी
यस्तै यस्तै आलु हुँ
स्वादस्वादकी आलु हुँ
कहिलेकाहीँ
बडो बेस्वादकी आलु हुँ
जो बिना
हरेक बिहानबेलुकी
उसलाई भात रुच्दैन !!!

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!