आगमन | SATURDAYकलम | Kavyalaya - काव्यालय

साँझहरू

कुनै कुनै साँझहरू
आउँछन् बोकेर सम्झनाका कोशेलीहरू,
तर किन कहिल्यै ल्याउँदैनन् यिनले तिम्रो खबर?
यो बेला म फुकाइरहेछु यादहरूको पोको,
जहाँ असरल्ल छन्
हामीले सँगसँगै हिँडेका बगरहरू,
बगरहरूमा पछ्याउँदै हिँडेका आपसका पैतालाका डोबहरू !

यस्तै एउटा साँझ थियो,
तिमी बोकेर आएथ्यौ पातलो पारेर ताछिएको चोयामा
लेखिएको प्रेम प्रस्ताव
कत्ति जतनले बेरिएको थियो त्यो चोयाको टुक्रा- तिम्रो मखमली रुमालले
त्यसपछिकै साँझहरूमा त हो
म दुख्थेँ- तिमी सुस्केरा हाल्थ्यौ,
म आत्तिन्थेँ- तिमी आफ्नो हृदय सम्हाल्थ्यौ,
म लड्थेँ- तिमी परै बसेर आफैलाई सुम्सुम्याउँथ्यौ
म श्वास फेर्थेँ- तिमी त्यसले आफ्नो प्राण भर्थ्यौ

यो साँझ
म औधी धेरै याद गरिरहेछु- त्यो खहरे
खहरेसँगै आफ्नै वेगमा बगिरहने हाम्रो कथा
हरेक साँझ हामी खहरेलाई सिरान लगाएर बसेको चौरमा
खुट्टाहरूले बल उफार्थ्यौँ
अनि तिमी?
तिमी त- मेरा खुट्टाहरूमा उफ्री हिँड्ने बललाई आफ्नो जिन्दगीको भूगोल मान्थ्यौ,
 मान्थ्यौ, त्यसैलाई तिम्रो विश्वको गोलार्ध!

डियर स्ट्रेन्जर

कसैको निर्मम प्रहारहरूले कुल्चिएर,
किचीमिची पारिरहेको होला तिमिलाई,
मुर्झाइरहेको होला- तिमीभित्रको कोमलता,
हिक्क-हिक्क गरिरहेको होला- तिम्रो आत्मसम्मान,
र,
दुखाइहरूले चिथोरेर तिम्रो ह्रदयलाई,
पिल्स्याएको होला- पिडाको पहाडले,
उठ्नै नसकुँला कि झैं लाग्ने गरी !

तर पनि तिमी नआत्तिनु ल!
म यही भूगोलको अर्को कुनामा,
हाम्रो लागि सपनाहरू बुनिरहेको छु,
तिम्रो प्रतीक्षामा आँसुलाई मोति मानेर,
सुदूर भविष्यसम्म हामीलाई जोड्ने,
एउटा प्रेमको माला उनिरहेको छु।

हाइज्याक गर्न खोज्ला,
तिम्रो प्रेमिल धड्कनलाई- यो समयले,
तिमी नहेर्नू अस्ताउँदो सूर्यलाई मात्रै पनि,
किनकि,
पृथ्वीको अर्को कुनामा कसैले भनी रहेछ भानुलाई हरेक साँझ,
“तिमी निभाइरहनु आफ्नो धर्म,
कुनै दिन त, हामी सँगसँगै भेट्नेछौँ झुल्किँदै गरेको तिमीलाई।”

आँसुले सिञ्चित गरेर- अंकुराउँछ प्रेम,
यस्तो कहिल्यै नसोच्नु ल,
किनकि, आजभोलि मैले सपना देखिरहेको छु,
तिमीभित्र उर्लिरहेको कोशी/महाकालीमा- तिमीलाई नै निरीह डुब्दै- तैरिँदै गरेको !
बरु, धैर्यताको पटुकीले कम्मर कस्नु,
लगाउनु घाउहरूमा मल्हम हिम्मतको,
अनि,
आउनु पछ्याउँदै मेरो जिन्दगीको साँघुरा गल्लीहरूलाई,
जहाँ, म पर्खिरहेको हुनेछु,
एक हरफ मुस्कान र एक थुङ्गा समर्पण लिएर !

ओ, प्रीय अपरिचित!
तिमी आउनु है,
म पर्खिरहेको हुनेछु तिमीलाई …

आगमन

समयको एउटा झोंकाले
हुत्याएर ल्याइपुर्याएको छ तिमीलाई
मेरै सामुन्ने र टक्क रोकिदिएको छ-
केही क्षणको लागि
तिम्रो खोजी म हो वा होइन
म अनभिज्ञ छु,
तर भरोसा गरिदिएकी छु मैले
तिमीले हिँडेर आएका गोरेटोका कथाहरूलाई

आफ्नो खोजी पूरा भयो भन्ने लाग्यो भने भनिदिनु
म सम्हालेर तिम्रा पैतालाहरूलाई
सँगै हिँड्नेछु बाँकी गोरेटो
यदि होइन भने-
नअल्मलिनु तिमी,
निस्किनु तिम्रो खोजीमा
र,
सुर्यास्तभन्दा पहिले नै पुग्नु आफ्नो गन्तव्य

आखिर,
म त ढुङ्गा न हुँ
कुनै दिन एउटा शिल्पीद्वारा कुँदिनेछु सुन्दर आकृति
र बेचिएर आइपुग्न सक्छु तिम्रै हत्केलामा !

 

Facebook Comments

You may also like

error: Content is protected !!