[ अ ]-न्यायको मेलोडी

[ अ ]-न्यायको मेलोडी


कलममा शक्ति हुन्छ भन्दा हतियारहरू भुकेका थिए
हो
त्यही दिनदेखि
[अ ]-न्यायको मेलोडी
फेरिएको

थाल ठटाएर स्वास्नी

बन्दुक पड्काएर रैती
तर्सिन छाडेपछि
पलक भरमा
शस्त्र,शास्त्रमा

शास्त्र,अस्त्रमा रूपान्तरित भएको

हिँड्दा हिँड्दैको पाइला
अनायास रोकिनु
संयोग मात्र कदापी हुन सक्दैन
यो त
परिष्कृत परिदृश्य हो
[ अ ]-न्यायको


[ अ ]-न्यायको मेलोडीमा सम्मोहित छन्
सम्पूर्ण-सम्पूर्णहरू !

Power and Injustice from NPR

Power and Injustice from NPR

आततायी

पुँजी छ, बन्दुक छ
बुद्धत्वको खोस्टो ओढेको छ

मौन ब्रत बसेको छ
एउटा नरभक्षी

कुरूप

अत्यन्त घमण्डी
रक्त पिपासु शासक !

सत्य युगको कपटी अजमेलजस्तै
त्रेता युगको अहंकारी रावणजस्तै
पूर्ब कलिको स्त्री लम्पट क्यालीगुलाजस्तै

निपुण छ
साधु सन्तको कलात्मक प्रयोग गर्न
ममताको सिँचाइ गर्न
स्नेहको ललीपप बाँड्न

तर
सयौंको संख्याले देखेका छन्
बुद्धको कोखामा छुरी रोपेको
महामहिमको कुरा सुनी
चक्रव्यूह रचेको

पितामह भिष्मको छाती टेकी
दुनियाँलाई थाङ्नामा सुताएको

ए धुन्धुककारी !
तेरो कुरूप अनुहार ऐनामा हेर त
अनि देख्छस्
निरीह लाचर फुलमायाको गुप्ताङ्गबाट बगेको रगत !

Gun and Blood from PaintingValley.com

Gun an Blood from PaintingValley.com

आउनेहरू/जानेहरू

आउनेहरू आउँछन्/जान्छन्
माया लाउँछन्

स्मृतीमा मिठा यादहरू छाडेर
कतै सुदुर संसारमा विलीन हुन्छन्

आउनेहरू/जानेहरू
हिँडी दिउन् मधुशालाको बाटो

चुमी दिउन्
कसैले छाडी हिँडेका
गुलाबी अधरहरू

र शान्त पारुन्ती
रित्ता ग्लासहरूको तरूण ईच्छा

आउनेहरू/जानेहरू
हिँडी दिउन् नदी किनारको बाटो

निषेचित गरुन् उत्ताउला जल-कुम्भिकाहरू

र आफूमाथि राखिएका चिसा डोबहरू
सम्झँदै बगिरहोस् नदी

आउनेहरू/जानेहरू
हिँडी दिउन् निधीवनको बाटो

बुझाई दिउन् रासलिला
तरूण-तपसीहरूलाई

र बजिरहोस्
जीवनको नौरङ्गी प्रेमिल बाँसुरी ति…रि.. रि…

Lovers by Joseph Frederic Charles Soulacroix

Lovers by Joseph Frederic Charles Soulacroix

आउनेहरू/जानेहरू
हिँडी दिउन् प्रेमको त्यो प्रेमिल फाँट

बुझाई दिउन् रोमियो-जुलियटको मधुरता
लयला-मज्नुको सुमधुरता
दुश्यन्त-शाकुन्तला-को कोमलता
मुना-मदनको सुन्दरता


बुझाई दिउन् राधा-कृष्णको अद्भूत प्रेमिल सरगम

आउनेहरू आउँछन्/जान्छन्
माया लाउँछन्

स्मृतीमा मिठा यादहरू छाडेर
कतै सुदुर संसारमा विलीन हुन्छन् !

Leavers from eBay

Leavers from eBay

Facebook Comments

You may also like

error: Content is protected !!