बिर्सिएको एक अनुहार | SATURDAYकलम | काव्यालय - Kavyalaya

बिर्सिएको एक अनुहार

कतै पढेको थिएँ, मान्छेले कम्प्युटरको आविष्कार समयको बचत गर्न गरेको थियो रे ! यो भनाइ आज आएर म र म बाँचेको युगप्रति कति ठूलो प्रहसन बन्न पुगेको छ । हामी मोबाइल र स्कृनका यति ठूला दास बनिसक्यौँ कि स्कृनभन्दा बाहिर पनि जीवन छ भन्ने कुरा थाहा पाउन वा थाहा भएको तर बिर्सिएको कुरा सम्झन एकछिन लाइन जानै पर्छ ! यस्तै कुनै दिन लाइन गएपछि र मोबाइलको चार्ज सकिएपछि म निस्किएँ डुल्न गाउँतिर; त्यो गाउँ जुन अब गाउँ रहेन नगरपालिका बन्यो ! बाटोका छेउछाउ कतै खेत रोपिसकेका थिए, कतै रोपिँदै थिए, त कतै ब्याडबाट बिउ काढिँदै थिए ! मन्द मन्द चलेको हावामा हिलो र पाकेको आँपको गन्ध मिसिएको थियो ! हावा चिसो थियो, गाउँपारिको तालमा ठोक्किएर आएको थियो सायद ! बाटोको छेउमा कुनै मैदानमा तीन चारजना केटाकेटी भाँडाकुटी खेल्दै थिए । सोचेँ, अब छिट्टै यो भाँडाकुटी भन्ने खेल पनि त लोप होला ! ती केटाकेटीहरू हाँसेको आवाज मेरो कानमा ठोक्कियो ! एउटा सानो केटो जसले ढुङ्गा बोकिरहेको थियो बोल्यो, “कस्तरी हाँस्याछन् यी केटीहरू, बैँस आएकाहरू !”

उसको कुरा सुनेर मनमनै म पनि एकैछिन हाँसेँ ! केटाकेटीहरू कति अचम्मका हुन्छन्, जे मन लाग्यो त्यही गर्छन्, दुनियाँको मतलब गर्दैनन्, कसैलाई पनि जजमेन्टल आँखाले हेर्दैनन् । जिज्ञासाले भरिएका हुन्छन् । प्रश्न सोधिरहन्छन् । त्यसपछि, थाङ्क्स टु आवर सोसाइटी केटाकेटी ठूला हुन्छन् । सङ्किर्ण बन्छन् ।

वर्ड्स्वर्थ बुढाले ठीकै लेखेका हुन् ‘..चाइल्ड इज द फादर अफ म्यान !’

यसै हावा खाँदै हिँडिरहेको थिएँ, दिमागमा पीयूष मिश्राको

इक बगलमे चाँद होगा
इक बगलमे रोटियाँ

गुञ्जिरहेको थियो । त्यसै बेला मतिर एउटा अनुहार आइरहेको देखेँ, जमानामा चिनेको । धेरै समयसम्म मैले बिर्सिएको अनुहार । त्यो अनुहार देख्ने बित्तिकै पलभरमै इतिहासले सम्झनामा आफ्ना पानाहरू उघार्यो ।

……..

कुरा यस्तै बाह्र पन्ध्र वर्ष अघिको । कुरा विगतको । कुरा नोस्टालजियाको ! हामीमाझ यस्ता अनुहार हुन्छन् जसलाई हामीले पहिलो पटक कहाँ देख्यौँ थाहा हुँदैन, त्यही हाम्रै वरपरको अनुहार, सधैँ देखिरहने अनुहार ! त्यस्तै एउटा अनुहार थियो उनको ! उनको नाम ? थाहा थिएन । र अहिले पनि थाहाछैन । टाउकोभरि बेरिएको लामो कपाल जसलाई समयले पहेंल्याएको थियो । त्यस्तै, लामो दारी-जुँगा । निधारमा खरानी । गेरुवा वस्त्र । र, हँसिलो, मायालाग्दो अनुहार । उनी एउटा लौरो जसमा कमण्डलु र एउटा सानो त्रिशूल अटाएको हुन्थ्यो, सधैँ बोकेर हिँड्थे । र एक जोडा काठका पडुका लगाएर हिँड्ने गर्थे । मान्छेहरू जिस्काउँथे यी बाबाले ती पडुकालाई यसरी लगाउँछन् मानौँ ती त भरतले यिनलाई दिएका रामका पडुका हुन् ।

उनी गाउँछेउ एउटा कुटीमा बस्थे । थाहाछैन कुन झन्झटले उनले सांसारिकताको बाटोमा मोडिएर निधारमा खरानी घसे । यदि अहिले पहिलोपटक उनलाई भेट्दो हुँ त केही थान किताब पढेका भरमा म सोच्ने दुस्साहस गरिदिन्थेँ, त्यो पनि अझ लामिछानीय स्टाइलमा:

‘सन्यास मानिसले किन अपनाउँछ ? उसले किन अपनायो होला ? कुन उमेरमा अपनायो होला ? स्वास्नी पोइला गई भनेर ? घरजग्गा साहुले निखार्यो भनेर ? भूकम्पमा सब स्वाहा भो भनेर ? ….चौरासी लाख जुनीको चक्रबाट उम्कूँ भनेर ?…’

धन्न, त्यो बेला पढेको थिएन केही, जानेको थिएन केही (अहिले पनि जानेको त केही छैन) जीवन साधारण थियो । सायद, थिएन होला । तर, साधारण नै लाग्थ्यो । त्यतिखेर न कुरा खेलाउने फुर्सद, न सोच्ने आवश्यक्ता । केवल खुसीयाली !

विगतका विभिन्न घटनाहरू, विभिन्न टाइमलाइनबाट अहिले बाङ्गोटिङ्गो नदीजस्तै सम्झनामा आइरहन्छन् । त्यस्तै, सम्झनामा अस्तित्वबोध गराउँछ स्कुलले ! स्कुल अर्थात् छुट्टीले । सकी नसकी दिउँसोभरि सबै पिरियड झेल्नु पनि ठूलो कला हो, खासमा कला होइन बाध्यता हो, जसको थ्रेसहोल्ड समयसँगसँगै बढ्दै जान्छ र मान्छे अभ्यस्त हुन्छ झेल्नुमा, मानौँ मान्छे त झेल्नका निम्ति नै जन्मेको हो ।

सबै पिरियड झेल्नु ! झेलेर जब छुट्टी हुन्थ्यो, त्यो बेलाजस्तो खुसी अन्त कहाँ ?

छुट्टी भएपछि म घर फर्कँदा बाटोमा कसैको साइकल भेटिए साइकल, रिक्सा भेटिए रिक्सा होइन भने आफ्नै ‘ग्यार’ नम्बरको गाडीमा घर फर्किन्थेँ । त्यसै त स्कुलको बोरा बोकेजस्तो भारी झोला, मधेसको प्रचण्ड गर्मी, अनि सानो शरीर । त्यो उकुसमुकुस र थकान…. उफ् ! हिजोजस्तै लाग्छ ।

यस्तै हिँडेर घर फर्कँदा बाटोमा बेला बेला भेट्टिने गर्थे उनी ।

प्राय कुराहरू यसैगरी हुन्थे सायद

“से…..ता….राम बाबा !”
“से….ता….राम ! स्कुल गएर आयौ ?”
“अँ !”
“कति पढ्यौ त ?”
“य……त्ति..” म दुई हात जतिसम्म टाढा लान मिल्छ, लगिदिन्थेँ ।
“राम्रो ! अझ धेरै पढ्नुपर्छ है !” उनी मुस्कुराउँथे र सिजन अनुसार आँप, लिची, कदम होइन भने मिश्री दिने गर्थे ।
‘हुन्छ’ भन्दै मुसुकुराइदिन्थेँ !
मलाई त्यतिबेला त्यस्तै खुसी लाग्थ्यो, जस्तो खुसी हजुरबाले मलाई ल्याक्टो मिठाई किनिदिँदा लाग्थ्यो ।

त्यसपछि म शहर पसेँ ! शहरको बेग्लै दुनियाँ । भीडहरूबीच एक्लोपनको दुनियाँ; अति क्लिसे, तर अति सत्य ! सायद सत्य पनि त क्लिसे नै हो । त्यसपछि मेरो क्यारेक्टर आर्क बदलियो सायद । म सुस्त सुस्त शहरको त्यो एउटा डेराको दुनियाँमा हराउन थालेँ। एक्लै एउटा कोठामा हराउनु पनि नसा हो, बानी परेपछि सितिमिति नछुट्ने नसा। यसको बानी परेपछि कोठाभन्दा बाहिरको दुनियाँ नौलो लाग्छ, सफोकेटिङ लाग्छ, केवल चर्का आवाजहरूले भरिएको लाग्छ।

यसरी शहर पसिसकेपछि गाउँका अनुहार पनि सुस्त सुस्त धमिलिँदै गए। ती धमिलिएका अनुहारमध्ये एउटा अनुहार उनको पनि थियो । त्यसपछि छुट्टीमा कहिलेकाहीँ म गाउँ फर्किन्थेँ । घर फर्किएपछि पनि कोठामै थुनिन थालेँ, बानी जो परेको थियो । मान्छेहरूसँग बोल्न झ्याउ लाग्न थाल्यो । कहिलेकाहीँ लाग्थ्यो (अझै पनि लाग्छ बेला बेलामा ) हामीबीच फगत चर्का आवाजहरू मात्र छन् । ती आवाज जो कसैले सुन्दैनन्, तैपनि मान्छे बोल्न छाड्दैन, हामी बोल्न छाड्दैनौँ । जति निरर्थक किन नहोस् आफ्नो अस्तित्वको परिचय हरदम दिने कोसिस गरिरहन्छ मान्छे । यी मान्छे नै मान्छेहरूको महासागरमा एउटा थोपा म पनि छु है भन्न ।

यही महासागरको फगत एउटा थोपा भएकाले मान्छे दुःखी छ। म दुःखी छु। तपाईं दुःखी हुनुहुन्छ । थाहा नहोला, तर सब दुःखी छन् ।

जीवन; एक असन्तुष्टि, एक ग्लानि, एक चिडचिडाहट !

तर, प्रायजसो फिल्मका, किताबका, ह्याप्पी इन्डिङले हामीलाई उल्लू बनाइरहन्छन्, हामी उल्लू बनिरहन्छौँ । नचाहेर । चाहेर । नबुझेर । वा बुझेरै । सायद, सत्य स्वीकार्नुभन्दा उल्लू बन्नु नै सजिलो छ। भ्रामक सही, त्यसमा खुसी पनि त छ ।

‘मिथ अफ सिसिफस’को अन्तिम वाक्य ‘वान मस्ट इम्याजिन सिसिफस ह्याप्पी’ यही कुरोलाई सत्य मान्नु बाहेक अरू उपाय पनि त छैन, जब कि सत्य ‘फाइट क्लब’को डाइलग जस्तै छ – ‘आवर ग्रेट डिप्रेसन इज आवर लाइभ्स् !’

………

अहिले उनी धेरै नै दुब्लाएछन् । समयले आफ्नो छाप अनुहारभरि छाडेछ। दाँत प्राय सब हराइसकेछन्। शरीर काँप्दोरहेछ। हिँड्न लट्ठीको साहारा नभई नहुने । खुट्टामा उनले लगाउने पडुका थिएनन्, ती पनि हराए होलान् अनुहारको आभाजस्तै, थोत्रो इतिहासजस्तै ।

उनी मेरा सामु पर्ने बित्तिकै मैले ‘से…..ता….राम’ भनेँ ।
‘से….ता…राम’ हात उठाउँदै उनले जवाफ फर्काए !
‘सारै दुब्लाउनु भएछ, हाडछाला मात्र बाँकी छन् त शरीरमा !’
‘ के गर्ने, बिरामी भा’थेँ, जँचाउन नि गा’थेँ। औषधिको पोको भिराएको छ डाउटरले !’
‘ मलाई चिन्नु भो नि?’ हाँस्दै मैले सोधेँ।
‘किन नचिन्नु नि?’ उनी हाँसे, हाँस्दै गर्दा एकछिन खोके पनि !
‘अब त शरीरले थेग्दैन, गाँजा अलिक कम गर्नु पर्यो बाबा  !’
‘ज्यादै भए मरिएला ? मर्नसँग म डराउँछु ? मर्न त म खरानी घस्ने दिनै मरेको हुँ, अब त बस् शरीर छाड्न मात्र बाँकी छ, त्यो त भोले नाथको मर्जी  !’
‘शरीरको पनि हल्का ख्याल राख्नु मात्र भनेको हुँ मैले,’ म मुस्कुराएँ ।
‘अब कति नै बाँचिन्छ होला र बाबु ? यतिका वर्ष बाँचिसकियो । अब पुग्यो । बस् अब कहिले यमराजले बोलाउलान् भनेर पर्खिरा’छु । खै, अझै बोलाउँदैनन् !’

त्यसपश्चात केही क्षण मौनताको बादलले हामीलाई घेर्यो । त्यो बादलमा थिए केही प्रश्न- ‘तपाईंको नाम के हो नि बाबा ?’, ‘घर किन छाड्नु भा’को त  ?’, यस्तै केही औचित्यहीन प्रश्न, जुन प्रश्न सोध्नुको कुनै तुक थिएन । त्यसैले ती प्रश्न त्यही मौनताको बादलमै बिलाई गए ।

‘ ल बाबु, रात पनि पर्न लायो, अब म जान्छु है !’ उनले बिदा मागे ।
‘ से….ता…राम बाबा’ भन्दै मैले हात जोडेँ ।

जानै लाग्दा, ज्याकेटबाट दुइटा दसरी आँप झिकेर उनले मेरो हातमा राखिदिए । र, उनी अलप भए । मैले हातका दसरी आँप र अलप भइरहेका उनलाई, एकछिन हेरिरहेँ ।

 

Facebook Comments

You may also like

error: Content is protected !!