अ कप अफ मुराकामी | SATURDAYकलम | Kavyalaya - काव्यालय

___अ कप अफ मुराकामी

म अनभिज्ञ छु ।

मलाई थाहा छैन, म के लेख्न गइरहेको छु ? के लेख्न चाहन्छु ? म खोक्रो भएको छु । मभित्र शब्दहरू अचेल आउन मान्दैनन् । मसँग खेल्न चाहँदैनन् । मद्वारा लेखिन मान्दैनन् ।

के लेखूँ ?

~ यो आफ्नैै खोक्रोपन ?

भयो, मलाई लेख्नु छैन, यो रित्तता । अब यो शुन्यतालाई शब्दहरूमा उतार्ने दुस्साहस गर्दिनँ । अहँ, म लेख्दिनँ ।

*

अँ.. तर आउनुहोस्, एउटा (अ)दन्त्यकथा भने सुनाउँछु~ 

एकादेशमा म थिएँ । गाउँ थियो । मेरो बचपन थियो । मेरा साथीहरू थिए । र हामी खेलिरहेका थियौँ~ लुकीडुम ( हाइड यान्ड सिक ) ।

र त्यही गाउँमा एउटा भुतघारी थियो । हुन त त्यो हेर्दा त्यस्तो थिएन । भुतजस्तो डरलाग्दो थिएन । फगत एक सामान्य बाँसघारी थियो । तर गाउँलेहरूका अनुसार~ त्यहाँ भुत थियो । त्यहाँभित्र पस्ने मान्छे बेपत्ता हुन्थ्यो । उसको लास पनि भेटिदैँन थियो । भुतले खाइदिन्थ्यो । 

खोलाको बगरछेउ ठिङ्ग उभिएको थियो, गाउँ । त्यहीँ बगरमा थियो~ त्यो दैत्य-बाँसघारी । म उत्सुक थिएँ । ‘के त्यहाँ साच्चै भुत छ ?’ म डराएको पनि थिएँ । तर मेरो डरलाई मेरो उत्सुकताले जित्यो ।

म त्यो बाँसघारीभित्र पसेँ । लुकेँ ।

बाँसघारी अँध्यारो थियो । त्यसको एक कुनाबाट मात्रै घामको प्रकाश छिरेको थियो । केहीबेर म चुपचाप बसिरहेँ । लुकिरहेँ । मनमा डरका भ्यागुताहरू उफ्रिरहेका थिए । धेरै समयपछि पनि मलाई कोही खोज्दै आएन । न त्यो बाँसघारी भित्रको भुत नै आयो ।

– ‘मान्छेहरूले गफ दिएका मात्र रहेछन् । खै कहाँ छ भुत ? यो पनि अरु बाँसघारी जस्तै रहेछ ।’

*

मैले त्यो बाँसघारीबाट निस्किने निर्णय गरेँ । र त्यो प्रकाश आइरहेको कुनातिर अघि बढेँ । बाहिरबाट त्यस्तो नदेखिए पनि भित्र बाँसघारी खुल्ला थियो । केही काटिएका बाँसका ठुटाहरू भने त्यहाँ थिए ।

Bamboo Forest by Amani Hanson

Bamboo Forest by Amani Hanson

तर म जतिजति अघि बढ्दै गए, त्यो प्रकाश आइरहेको ठाउँ उतिउति सर्दै थियो । म चकित भएँ । डराएको थिएँ । पछाडि फर्किएर हेरेँ- बाँसघारीलाई अँध्यारोले छोपेको थियो । मुटु भयको म्याराथन दौडिरहेको थियो । 

मैले हतारहतार त्यही उज्यालो आएतिरै आफ्नो पाइला बढाएँ । र केहीछिन पश्चात् म बाहिर निस्किएँ ।

बाहिर निस्किँदा झन् तीन छक्क परेँ । डरले सास फुलिरहेको थियो । म आफ्नो गाउँमा थिइनँ । म बिल्कुलै नयाँ ठाउँमा थिएँ~ जसलाई म पहिलोचोटि देख्दै थिएँ ।

लाग्यो, बाँसघारी नै ढोका थियो, त्यो गाउँको ~ एउटा रहस्यमयी दुनियाँको  !

*

त्यो दुनियाँ अनौठो थियो । रातको समय भएपनि त्यो दिन जत्तिकै उज्यालो थियो । तर यति भन्न सकिन्थ्यो~ त्यो रात हो । मैले आकाशतिर हेरेँ । त्यहाँ दुईवटा चन्द्रमा थिएँ । 

म तर्सिएँ !

Two Moons - Landscape by Arthur R Griffith

Two Moons – Landscape by Arthur R Griffith

मेरो अगाडि एउटा मान्छे उभिएको थियो~ जसको अनुहार बिरालोको थियो । घाँटीदेखि तल ऊ मान्छे थियो । तर उसको टाउको भने कालो बिरालोको थियो । त्यो टाँसिएको जस्तो देखिँदैन थियो । न कुनै मास्क लगाए जस्तो नै देखिन्थ्यो । ऊ यस्तै जन्मिएको थियो सायद । 

हो, ऊ मान्छे थियो । ऊ बिरालो पनि थियो । ऊ बिरालो-मान्छे थियो ।

‘तिमी यहाँ नयाँ हुनुपर्छ ? म्याँऊ ?’ 

उसले मलाई सोध्यो ।

– ‘मलाई थाहा छैन म यहाँ कसरी आएँ । मलाई घर जानू छ ।’

मेरो स्वर थरथर काँपिरहेको थियो ।

‘नडराऊ ! म यहाँको लोकल-गाइड हुँ । म तिमीलाई तिम्रो घर जाने बाटो देखाइदिन्छु । म्याँऊ !’

उसले मलाई ऊसँगै हिँड्ने इशारा गर्यो । म अन्योलमा थिएँ । के गर्ने, के नगर्ने ? उसको अनुहारतिर हेरेँ । ऊ मुस्कुराइरहेको थियो । बिरालो-मान्छेको मुस्कान बिरालो जस्तै रहस्यमयी थियो । 

म चुपचाप ऊसँगै हिँड्न थालेँ । त्यो ठाउँलाई नियाल्न थालेँ- त्यहाँ एउटा बस्ती थियो । र त्यहीँ बस्तीको पछाडिपट्टी थियो~ एउटा ठूलो जङ्गल । 

*

एउटा मायावी दुनियाँमा म गुमनाम भएको थिएँ । 

हिँड्दै, मैले वरिपरि आफ्नो आँखा डुलाएँ । त्यहाँ घरहरूको क्रमबद्ध लस्कर थियो । सबै घरहरू एकआपसमा मिल्दाजुल्दा थिए । मानौँ, उनीहरू एउटै इन्जिनियरको कलाको कलात्मक योनीबाट जन्मिएका हुन् ।

 ‘यो म कहाँ आएँ ?’

यो प्रश्नको गुनगुनाहट, मेरो छातीका चारै ढोकामा ढकढक भइसकेको थियो ।

घरहरूका आकृति, आकार मात्र होइन, तिनीहरूका भित्तामा पोतिएका रङ्ग पनि उस्तै थियो- गाडा रातो । त्यो सिङ्गो बस्तीलाई एकटकले घोरिएर हेर्दा यस्तो लाग्थ्यो, भर्खरै एउटा चित्रकारले कसैको रगत सापटी मागेर एउटा सिङ्गो बस्तीको कंक्रिट चित्र कोरेको थियो ।

Red Houses by Slavica Jovanovic

Red Houses by Slavica Jovanovic

*

केहीछिन ऊसँगै हिँडेपछि, एउटा डरलाग्दो मान्छे~ जसको अनुहार थिएन~ हाम्रो अगाडि आयो र उसलाई अभिवादन गर्यो । म हत्त न पत्त उसको पछाडि लुकेँ । मलाई टाउको भएकोसँग भन्दा, टाउको नभएकोसँग ज्यादा डर लाग्यो ।

‘नडराऊ ! उसको नाम ‘द फेस लेस म्यान’ हो । म्याँऊ !’

मैले त्यो टाउको नभएको मान्छेतिर डर भरिएको आँखा तेर्साएँ । उसको घाँटीबाट एउटा धोत्त्रो आवाज आयो~ 

‘हेल्लो !’

ऊ गएपछि मनलाई अलिक ढुक्क भयो । त्यो बिरालो-मान्छेले मतिर हेर्दै भन्यो~ 

‘ऊ आफ्नो पोट्रेट बनाउन चाहन्छ । र मैले उसको लागि एउटा प्रोट्रेट-आर्टिस्ट खोज्दिनु छ ।’

*

त्यो समय सपना जस्तो थियो ।

म एउटा रहस्यमय दुनियाँको भ्रमण गर्दै थिएँ । जहाँ मेरो गाइड, एउटा रहस्यमय मान्छे थियो- जसको टाउको बिरालोको जस्तो थियो । अब यसलाई म कसरी यथार्थ भनूँ ?

केही पर पुगेपछि, मैले अर्को अचम्मको दृश्य देखेँ । त्यहाँ एउटा बूढो थियो, जो बिरालोसँग बात गरिरहेको थियो । उसको हातमा अर्को बिरालोको फोटो थियो । 

सायद, त्यो बस्तीमा असम्भव भन्ने कुरा केही थिएनँ ।

त्यहाँ थरिथरिका मान्छे थिए । कसैको शरिर मान्छेको थियो, टाउको भने भेडाको । कोही ससाना बामपुड्के मान्छेहरू थिए । एउटा कुनामा, ह्याट लाएको अग्लो मान्छे, बाँसुरी बजाउँदै थियो । उसको साथमा एउटा कुकुरपनि थियो । 

Snufkin cum Johnny Walker

Snufkin cum Johnny Walker

 

बस्तीको अन्तिममा, एउटा स्ट्रेन्ज बिल्डिङ देखियो । त्यो लाइब्रेरी थियो । जसको नाम नै ‘स्ट्रेन्ज लाइब्रेरी’ थियो । त्यो लाइब्रेरीको छतमा एउटा ठूलो पेन्टिङ झुन्डाइएको थियो । उसले एकछिन ठिङ्ग उभिएर, त्यो पेटिङलाई चुपचाप नियाल्यो ।

*

जङ्गल पस्ने बाटोछेउ, चारवटा काला बिरालाहरू देखिए । त्यो बिरालो-मान्छेले मतिर हेर्दै भन्यो~

‘म यहाँबाट उता जान सक्दिनँ । यी बिरालाहरूले तिमीलाई तिम्रो घरसम्म पुर्याइदिने छन् । म्याँऊ !’

ऊ आफ्नो हरेक बोलीमा एकचोटि ‘म्याँऊ’ गर्थ्यो । त्यो ‘म्याँऊ’ ठ्याक्कै बिरालोको जस्तै थियो । उसले फेरि सोध्यो~

‘तिम्रो नाउँ के हो ? म्याँऊ !’

मैले आफ्नो नाम बताएँ । ऊ मुसुक्क हाँस्यो । त्यहीँ रहस्यमयी बिरालो-मुस्कान !

‘भेटेर खुशी लाग्यो…! मेरो नाम मुराकामी हो । म्याँऊ !’

*

जङ्गलको बाटो, म चारवटा कालो बिरालोहरूलाई पछ्याउन थालेँ । उनीहरू दौडिन्थे । पर पुग्थे र पछाडि फर्केर मलाई हेर्थेँ । केहीछिन त्यही सिलसिला चलिरह्यो । एकछिन हिँडेपछि हामी एउटा पुरानो इनारछेउ आइपुग्यौंँ।

बिरालाहरू त्यही इनारछेउ मलाई पर्खिरहेका थिए । म उनीहरु छेउ पुगेँ । र त्यो इनारलाई नियालेँ । इनार अँध्यारो थियो । निकै नै गहिरोजस्तो देखिन्थ्यो । म इनारतिर हेरिरहेकै मौका पारेर, चारैवटा बिरालाहरू ममाथि झम्टिएँ । म त्यो कालो इनारमा कहाल्लिँदै खसेँ ।

*

उठ्दा- म आफ्नो ओछ्यानमा थिएँ । मलाई थाहा छैन, त्यो सपना थियो या थिएन । मसँग सपना हैन भन्ने आधारहरू त थिएनन् तर त्यो कुरा सपना हो भनेर पनि म किटानी गर्न सक्दिनँ । मलाई त्यहाँका हरेक दृश्यहरू याद थिए । कहिलेकाहीँ म आफू एक बिरालो हुँ कि जस्तो अनुभव पनि गर्थेँ ।

सायद, यस्तो हुनसक्थ्यो~ यो म यहाँ बाँचिरहेको समय एउटा सपना हो । जुन त्यो सर्रियल दुनियाँको एउटा कालो बिरालोले देखेको हो । म आजसम्म यही विश्वासमा बाँच्दै आइरहेको थिएँ ।

*

मभित्र एउटा कर्कश आवाज गुञ्जियो- म्याँऊ  ! 

***

(अ)दन्त्यकथा सकियो ।

Haruki Murakami

Haruki Murakami

 तपाईं आफ्नो सर्रियल दुनियाँबाट बाहिर आउनुहोस् । अब म तपाईंलाई अर्को दुनियाँको यात्रा गराउँछु । यहाँ तपाईंको गाइड- म हुँ । 

आउनुहोस्, एउटा अर्को कथा सुनाउँछु, जहाँ किताबहरू छन्~

  • नर्वेजियन वुड 

३ वर्ष अगाडि काठमाडौँ आएको हुँ । सपनाहरू बोकेर आएको होइन । त्यतिबेला मसँग सपनाहरू थिएनन्, देख्नलाई । म स्वप्नहीन थिएँ । काठमाडौँका गल्लीहरूले नै हुन्, मलाई सपना देख्न सिकाएका ।

केही लेख्थेँ । केही पढ्थेँ । थोरैमात्र पढको रहेछु । त्यो कुरा पनि काठमाडौँले नै रियलाइज गरायो । काठमाडौँले धेरै कुरा सिकायो । धेरै मान्छेहरूसँग परिचय गरायो । त्यसमध्ये एउटा आत्मा थियो- जो कालान्तरमा गएर मेरो ‘प्रिय आत्मा’ बन्यो ।

मुराकामीको कुरा गर्दा उसको जिकिर भएन भने, मेरो पापका घडाहरू एकैचोटिमा भरिन्छ । नर्कको नर्के-लिस्टमा मेरो नाम चढ्छ । यो पक्का कुरा हो ।

उसले नै मलाई मुराकामी चिनायो । र पहिलोपटक मैले उसको किताब पढेँ~ ‘नर्वेजियन वुड’

*

प्लेनमा ‘बिटल्स’को ‘नर्वेजियन वुड’ बजिरहेको हुन्छ । Toru Watanabe, लाई त्यो गीतले नोस्टाल्जिक बनाउँछ । ऊ सम्झिन पुग्छ आफ्ना पुराना दिनहरू !

उसको जिन्दगीका अतितका पानाहरू पल्टिन थाल्छन् । उसले Naoko– जसलाई ऊ प्रेम गर्थ्यो- लाई सम्झिन्छ । उनीहरू दुवैजना एउटा चौरमा हिँडिरहेका हुन्छन् ।

उपन्यास यसरी सुरू हुन्छ । यो उपन्यास एउटा नोस्टाल्जिया हो- जसमा प्रेम छ । दर्द छ । संभोग छ । पढिरहँदा लाग्छ- यो पुस्तक डिप्रेसनको चरम बिन्दुमा पुगेर लेखेको हो ।

*

यो पुस्तक बिल्कुल फरक छ । यसमा मुराकामीयिन भाइब्स त्यति आउँदैन । हुन त यो पुस्तक मुराकामीको प्रयोगात्मक उपन्यास हो । सुनेको हुँ- यो किताब जापानका हरेक घरको बुकसेल्फमा छ रे ।

***

  • काफ्का अन द सोेर 

ग्रिश्मिल साँझ- म र मेरो प्रिय आत्मा हाम्रो अड्डामा कालो कफि पिइरहेका थियौँ । गफहरू गफ्फिरहेका थिए । यत्तिकैमा मुराकामीको कुरा भयो । 

नर्वेजियन वुड पढेर मुराकामीलाई चिनिँदैन ।”

ऊ भनिरहेको थियो । उसले ‘काफ्का अन द सोर‘को कुरा निकाल्यो । जुन उसको पुस्तक कसैले लगेर फिर्ता गरेको थिएन ।

उसले मलाई काफ्काको प्रोफेसी सुनायो । म त्यो पुस्तक पढ्नलाई उत्सुक भएँ । भोलिपल्टै, म ठमेल पुगेँ । केही बुकस्टोरहरूको शिकार गरेँ । shore को  Kafka लाई  लिएर कोठा फर्किएँ ।

*

एकदिन १५ वर्षे, Kafka Tamura, डार्क प्रोफेसीको कारणले आफ्नो घर टोकियोबाट भाग्छ । तर के घरबाट भाग्दैमा, ऊ आफ्नो भवितव्यबाट पनि भाग्न सक्छ ?

सानै हुँदा, Nakata, केहीदिन कोमामा रहेर उठेको हुन्छ । उठ्दा, ऊ बोधो भएको हुन्छ ।  केही पाउन, केही गुमाउनु पर्छ भनेझैं- उसले एउटा शक्ति पाउँछ- जसले गर्दा ऊ बिरालोसँग बातचित गर्न सक्ने हुन्छ । ऊ किन कोमामा पुगेको हुन्छ ? कसरी उसले त्यो शक्ति प्राप्त गरेको हुन्छ ?

*

यो किताब प्रश्नैप्रश्नको चिहानघारी हो- जोभित्रै लुकेका छन् उत्तरहरू पनि । तर डिटेल मिस गर्नु हुँदैन । ससानो कुरा पनि, कतै न कतै पुगेर जोडिएका छन् ।

यो किताब एउटा मेटाफर हो । जसमा कुनै नियमहरू छैनन् ।

यो अपरम्परागत छ । अनौठो छ । सिर्रियल छ । यसमा म्यजिक छ । यो आफैमा म्याजिकल छ । मर्मस्पर्शी छ ।

किताबमा फ्रायडको Oedipal complex/Oedipusको ग्रिक मिथलाई एउटा प्रोफेसीको रुपमा प्रयोग गरिएको छ ।

‘काफ्का अन द सोर’: यो किताब मेरो प्रिय किताबहरूको सुचीको पहिलो नम्बरमा छ । 

***

  • स्ट्रेन्ज लाइब्रेरी 

‘काव्यालय’को फुच्चे काव्यिक लाइब्रेरीमा बसेर पढेको हुँ, यो क्युट नोबेला ।  यसको गुदी, बोक्रामा लेखेजस्तै स्ट्रेन्ज रै’छ । नाम जस्तै स्ट्रेन्ज र रहस्यमयी पनि ।

किताब छोटो छ । आधा घन्टामै पढेर सकाएको थिएँ मैले ।

*

सहरको पुरानो लाइब्रेरीमा तपाईं आफूले लगेको किताब रिटन गर्न जानुहुन्छ । फर्काउनु हुन्छ । तपाईंलाई अर्को बुक ल्याउनु पनि पर्ने छ । तपाईं लाइब्रेरीको बूढो असिस्टेन्टलाई त्यो किताबबारे सोध्नु हुन्छ- त्यो किताब लेखिएकै हुँदैन । तर त्यस्तै ३ वटा किताब बूढो असिस्टेन्टले देखाउँछ । जुन किताबहरु- इन्टर्नल युज वन्ली- त्यहीँ बसेर पढ्नुपर्ने हुन्छ ।

तपाईंलाई त्यो बूढो मान्छेले रिडिङ रुम- जो लाइब्रेरीको बेसमेन्टमा हुन्छ- मा लान्छ । तपाईं जानुहुन्छ । बेसमेन्ट अँध्यारो हुन्छ । त्यो एक भूलभुलैया हुन्छ । त्यहाँ पुगेपछि तपाईंलाई यो थाहा हुन्छ कि तपाईं कैदी हुनुभएको छ । तपाईंलाई एउटा जेलमा जाकिन्छ । तपाईंको खुट्टालाई साङ्लाले बाँधिन्छ । 

अब के हुन्छ ?

यो किताब क्युट सँगसँगै स्ट्रेन्ज छ ।

***

  • 1Q84 

‘काफ्का अन द सोर’ पढिरहँदा, मेरो प्रिय आत्मा, १३०० पेजको ( 1Q84 ) ट्रिलोजी पढिरहेको थियो । उसले एक हप्तामै त्यसलाई कप्लक्क निलेको थियो ।

काफ्कालाई म ४९% दिन्छु, र 1Q84 ५१% दिन्छु ।”

मैले कफीको चुस्की लिइरहँदा उसले भन्यो ।

“यहाँ यस्तो दुनियाँ छ, जहाँ दुईवटा चन्द्रमा छन् ।”

यत्ति भएपछि पुग्यो । मेरो कौतुहलता बढिहाल्यो । गोजीमा केही पैसा थियो । र त्यही दिन हामी पुग्यौँ ठमेल, हाम्रो फस्ट बुक हन्टिङ प्लेस: ‘पिल्ग्रिम्स बुक हाउस’

तर दुर्भाग्यवश त्यो बुक त्यहाँ थिएन । सकिएको थियो ।

मैले त्यो बुक किनेर मात्रै कोठा फर्कने सोच बनाइसकेको थिएँ । त्यही सोचले हामीलाई जमल पुर्यायो: ‘मन्डला बुक पोइन्ट’

त्यहाँ मैले स्पर्श गरेँ- 1Q84लाई ।

*

तपाईंको दुनियाँमा वर्ष- 1984 चलिरहेको छ । तर यहाँ अर्को पनि दुनियाँ छ, जहाँ वर्ष- 1Q84 चलिरहेको छ । यो त्यही दुनियाँ हो- जहाँ दुईवटा चन्द्रमा छन् ।

यो दुनियाँमा २ पात्र छन्- Tengo: जो एक म्याथ टिचर सँगसँगै राइटर हुन्छ,  र Aomame: मार्सल-आर्ट प्रशिक्षक सँगसँगै फिजिकल थेरापिस्ट हुन्छे । उनीहरू एकअर्कालाई चिन्दैनन् । तर उनीहरूको जिन्दगी एकअर्कासँग कनेक्टेड भइरहेको हुन्छ । एकको जिन्दगीमा घटेको घटनाले अर्कोको जिन्दगीमा असर पारिरहेको हुन्छ ।

*

यो डायस्टोपियन नोबेल: फ्यान्टासी, धर्म, संभोग, एक्लोपना, समानान्तर दुनियाँ/प्रेम- जहाँ सबै कुरा एकआपसमा कनेक्टेड छन्- को एउटा बिजायर मिश्रण हो ।

यो पुस्तक रहस्यमय घटनाहरूले बनेको एउटा प्रेमिल-भूलभुलैया हो !

***

  • After Dark 

गाउँमा, ‘बडो मिहिनेतले आर्जेको’ एउटा बुक क्लब छ । जो भुत हवेली जस्तो छ । त्यहाँ प्राय: कोही जाँदैन । केही जान्छन् उत्सुकताले । र केही पढ्न भनी, किताब लिन जान्छन् । तर अझैपनि त्यो बिल्डिङ पाठकहरूको अभाव महसुस गरिरहन्छ ।

दशैँ- यसले नै हो, जसले सहरलाई पनि गाउँ लिएर आउँछ । घर ल्याउँछ । म पनि घर आएको थिएँ । र आएको भोलिपल्टै, म बुक क्लब पुगेको थिएँ । जहाँ मुराकामीको ‘आफ्टर डार्क’ मलाई पर्खिरहेको थियो ।

*

Eri, २ महिन देखि लगातार सुतिरहेकी छे । उसको सुताइ लोभलाग्दो हुन्छ । ‘हामी’ ले त्यो असामान्य सुताइलाई नियालिरहेका छौँ । कोठाको एउटा चियरमा एउटा मान्छे बसेको छ, जसको अनुहार छैन । जो इरी सुतेको एकोहोरो हेरिरहेको छ । अनि जब मध्यरात हुन्छ, स्ट्रेन्ज कुराहरू हुन थाल्छन्…

Mari- जो किताब पढ्न मन पराउँछे- जसलाई चाइनिज बोल्न आउँछ- एउटा क्याफेमा बसेर किताब पढिरहेकी हुन्छे । तर एकपछि अर्को गर्दै उसको एक्लोपना भत्किन्छ । कसैले भत्काउँछ…

इरी र मरी दिदीबहिनी हुन्छन् । दुबै एकअर्काभन्दा फरक हुन्छन् । त्यसैले उनीहरू एकाअर्कासँग त्यति घुममिल हुँदैनन् । मिलनसार छैनन् । तर तिनीहरू बीचमा कतै न कतै आत्मीय कनेक्सन हुन्छ ।

*

यहाँ लुपहोलहरू छन्- जसले अनौठा घटनाहरू जोड्ने काम गर्छन् ।

यो किताबमा अन्धकारलाई मेटाफर बनाइएको छ ।

***

  • किलिङ कम्यानडेटोर 

यदि उपहार किताब हो भने, मागेर पनि लिनुपर्छ । म यसमा लाज पचाएर विश्वास गर्छु । यो किताब पनि मागेर आएको उपहार हो । जसले मलाई यो किताब दियो- त्यो आत्मा पनि मजस्तै शब्दहरूलाई प्रेम गर्छ ।

यो किताबलाई मैले धेरै दिन कुराएँ । म आफूले कुरेँ । पढ्दै गर्दा लागेको थियो- ‘किताब पढ्नलाई, मैले किन यति दिन कुरेँ ?’

*

यहाँ एउटा पोट्रेट पेन्टर- जसलाई उसकी श्रीमतीले छोडेकी हुन्छे- आफ्नो पेन्टिङलाई अझ पृथक बनाउन, आइसोलेटेड ठाउँमा जान्छ । त्यहाँ एउटा घरमा बस्न थाल्छ- त्यो घर एउटा नामी चित्रकारको हुन्छ ।

उसले त्यहाँ एउटा कागजले बेरिएको गुप्त-पेन्टिङ भेटाउँछ- जसको नाम ‘किलिङ कम्यानडेटोर’ हुन्छ ।

*

यो किताब एउटा सर्रियलिस्टिक यात्रा हो- स्व:खोजको । यो एउटा आश्चर्यजनक प्लस काल्पनिक गाथा हो- जो आर्टिस्टिक छ । अलौकिक छ ।

यहाँ पहेलीहरू छन्- जुन सुरुसुरुमा सबै रियालिस्टिक लाग्छन् । तर जतिजति यो किताब खोतलिँदै जान्छ- पहेलीहरू सर्रियलिस्टिक बनिदिन्छन् ।

‘जाऊ र त्यो पहेली सुल्झाऊ !’

***

  • कलरलेस सुकुरु ताजाकी यान्ड हिज इयर्स अफ पिल्ग्रिमेज 

मलाई मुराकामीको नशा चढिसकेको थियो । उसका किताबहरू किन्दै राख्दै गर्दै थिएँ । मसँग उसका १० वटा किताबहरू छन् । मलाई थाहा छ, यो भनाइमा अलिअलि घमण्ड पनि देखिन्छ । तर यो घमण्ड होइन । मुराकामीप्रतिको प्रेम हो ।

कोरोनाको त्रास । काठमाडौँमा सोमबारदेखि लकडाउन घोषणा भयो । म भोकभोकै मर्ने डरले, आइतबार नै घर हुइकिएँ- केही लुगा, ल्यापटप र तीन वटा किताब बोकेर । जसमा ‘कलरलेस सुकुरु’ पनि थियो ।

लाग्थ्यो, लकडाउन एक महिना मै सकिन्छ ।चाँडै औषधि पत्ता लागिहाल्ने छ । तर अहिले ४ महिना बितिसक्यो । समय जस्ताको तस्तै छ । यही समयमा मैले यो पुस्तक पढेँ ।

*

पाँच जना साथीहरूको ग्रुप छ । उनीहरू खुब मिलनसार हुन्छन् । Tsukuru, यो ग्रुपको सदस्य हुन पाएकोमा आफूलाई भाग्यमानी ठान्छ । तर जब ऊ सोच्छ, उसका चारैजना साथीको नाममा एक/एकवटा रङ्ग समावेश भएको छ- ऊ दु:खी हुन्छ । किनकि उसको नाम रङ्गबिहिन हुन्छ ।

एकदिन Tsukuruलाई, उसका चारैजना साथीले बिना कुनै कारण त्यो ग्रुपबाट बहिष्कार गरिदिन्छन् । उसलाई त्यो ग्रुपबाट निकालिदिन्छन् । अब उसलाई जीवन निरर्थक लाग्छ । सबैथोक सकियोझैं लाग्छ ।  उसले मर्ने कोसिस पनि गर्छ । तर मर्न सक्दैन ।

आखिर उसलाई किन निकाले उसका साथीहरूले आफ्नो ग्रुपबाट ? कारण के थियो ? 

*

यहाँ पात्र आफ्नै निन्दा गरिबस्छ । आफूलाई नै दोष दिइरहन्छ । यो एउटा स्याडिस्टिक नोबेल हो ।

सेतो कलर पनि एउटा कलर हो । यो किताब सेतो रङ्ग जस्तै खाली छ । यो किताब पढिसक्दा तपाईंलाई यसले आफूजस्तै रित्तो बनाइदिन्छ ।

यो किताब रङ्गहीन भएर पनि रङ्गीन छ ।

***

मुराकामीको बारेमा म के लेखूँ ?

उसका किताबहरूको बारेमा केही लेखेँ । उसको बारेमा लेख्ने शब्दहरू भने, मसँग छैनन् । म रित्तो छु । मसँग प्रेम छ । बहुत छ- ऊप्रति । प्रेमलाई कसरी शब्दहरूमा उतारूँ ? प्रेमलाई शब्दमा बयान गर्न सकिन्न । यो शब्दहीन छ । यो भाषाबिहिन छ ।

 प्रेम लाटो छ ।

~इति-कथन~ 

म यहाँ छैन ।

म यस्तो दुनियाँमा बस्छु- जहाँ आकाशबाट माछाहरू खस्छन् । जहाँ बिरालाहरू मान्छे जस्तै संवाद गर्छन् । जहाँ एउटा मान्छे- जसको टाउको छैन- आउँछ र आफ्नो पोट्रेट बनाउन लाउँछ ।

पत्याउनुस् ! यो अदभूत दुनियाँमा दुईटा चन्द्रमा छन् ।

यो रहस्यमय दुनियाँको राजा हारुकी मुराकामी हो । जो म यो लेखिरहँदा, अहिले कति माइल दौडिँदै होला ? जसको जिन्दगी ज्याज गीत/संगीतमा झुन्डिएको छ । जो बिरालाहरूलाई औधी प्रेम गर्छ । र शब्दहरूको जादु देखाउँछ । ऊ, उसका किताब जस्तै म्याजिकल छ । मिस्टिरियस् छ ।

म त्यही दुनियाँको एक बासिन्दा हुँ । 

  • त्यही जादुगरको दर्शक/फ्यान हुँ । त्यही राजाको रैती हुँ । म तपाईंको दुनियाँबाट, ट्रान्स्फर सर्टिफिकट लिएर उहिल्यै यो दुनियाँमा रवाना भएको हुँ- एउटा उड्ने साइकलमा । त्यो साइकल चलाउने चालक: मेरो प्रिय आत्मा थियो !
Geekery Paint Night by Brandi Jasmine

Geekery Paint Night by Brandi Jasmine

Facebook Comments

You may also like

error: Content is protected !!