म जयमायाको सन्तान माथि : पुस्तकचर्चा

म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ । कथा र उपन्यास आख्यान विधाको अध्ययनमा घोत्लिरहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु ।

म जयमायाको सन्तानको आवरणमा एउटा सानो मान्छे आफ्नो अभिवावकको हात समाएर अघि बढिरहेको प्रस्ट देख्न सकिन्छ । ती को हुन् ? जयमाया को हुन ? पाठकलाई त्यहीँ कौतुहल्ता उठ्छ र यस्तो लाग्नु म स्वभाविक मान्दछु । यहाँ म एउटा कवितांश उद्धृत गर्दै कवि र कविताका केही विशेषताहरू कोट्याउने जमर्को गर्दैछु ।

धर्म….?
के धर्म….?
त्यही धर्म ओढेर त हो नि,
हिजो तिमीले,
बलेँसीमा पिरा ओछ्याएको,
धारो फेर्नु भनेको
अनि तिमी आउँदा
भुइँतिर हेर्नु भनेको

प्रस्तुत कवितांशमा जातीय विभेद प्रतिको व्यङ्ग्य छ । सामाजिक दुर्व्यवहार र वर्गीय असमानता उनका कवितामा प्रतिविम्बित ऐना भएर आएको छ । विश्वमा जहाँसुकै रहेपनि यो जातीय खाडल नेपाली समाजको कलङ्क हो र यसको उन्मूलन हुनुपर्छ भन्ने कविको आशय बुझिन्छ ।

तर यहाँ सृजना शिल्पमा र पाठकीय बुझाइमा प्रश्न उठ्छ, कविता के हो ? विम्ब के हो ? यसको कसरी प्रयोग गरिन्छ ? कवि मनले सामाजिक पात्र र चरित्र कसरी केलाउने ? जस्ता कुरा उनको कृतिमा पढ्न मिल्छ । लामो शब्दको प्रस्तुति थुपार्दैमा कविता बन्दैन । त्यसमा विम्ब, भाव, चरित्र चित्रित हुनु पर्दछ जुन कुरा नयाँ पुस्ताका कविहरुले जान्नु अति आवश्यक छ । यहाँ फेरि अर्को सानो कवितांशलाई नियालौँ ।

“यो ओछ्यान कहिले उठ्दैन !
कहिले उसको हुन्छ,
कहिले मेरो हुन्छ,
तर कहिले हाम्रो हुँदैन ।”

अतीतमा भोगेकोभन्दा छुट्टै वा फरक शैलीको जीवन भोगाइ र पारिवारिक संरचनाले यस व्यस्त परिवेशमा पुनर्स्थापित हरेक व्यक्तिले दैनिकीको रूपमा भोगिरहेको वितृष्णालाई माथि उद्धृत कवितांशले छर्लङ्ग पारेको छ । उनका कवितामा जीवन, दर्शन, धर्म र जातीय विभेद बोल्दछन् । उनका कवितामा यसरी सामाजिक विभेद मात्र नभई आफूले भोगिरहेको समय र स्थानको चित्रण पनि उत्तिकै प्रबल पाइन्छ । यस बाहेक सिवाको पुस्तकमा अनूदित कविता पनि पढ्न मिल्छ । जस्तै; ओस्कर वाईल्डको अनुवादित कविता “श्रदाञ्जली”, माया एन्जेलेउको ‘म अझै उठ्ने छु’ल्याङ्गस्टन ह्युज्सको कविता “मिन्सट्रेल म्यान” नेपालीमा पढ्न पाइन्छ । मौलिक नेपाली कविताकाबीच अनुदित कवितालाई समेत पढ्न पाउनुः यसलाई पाठकले बिलकुल नौलो स्वादको रूपमा लिन सक्छन् । किनकी कविको एकल कविताकृतिमा यस्तो अनुदित कविताको स्वाद लिन सायदै पाइन्छ ।

मैले यस पुस्तक पढिरहँदा श्रवण मुकारुङको ‘विसे नगर्चीको बयान’ भित्रका केही कवितालाई सम्झिएँ । र अन्य केही कविताले मलाई रोबेर्ट फ्रष्टसम्म पुर्‍यायो । पुस्तकमा मुख्यत; विज्ञान साहित्य, बाल साहित्यवयस्क साहित्य पाइन्छ । सिवाका यी विभिन्न परिवेशका कविताले जोसुकैलाई ध्यानाकृष्ट गराउन सामर्थ्य राख्छ । पाठकले प्रत्येक कविताको आनन्द लिँदै कतिबेला पुस्तक सकिन्छ पत्तो पाउँदैनन् ।

म जयमायाको सन्तानभित्रका प्रस्तुत कविताहरु पढ्दै जाँदा केही झन्डै दशक अघि र केही हालै लेखिएको जस्तो पनि भान हुन जान्छ । जसमा कुनै कविता यस पुस्तकमा नराखिए पनि हुन्थ्यो कि जस्तो पनि देखिन्छ । जे होस्, कवि सिवाका केही कविता पुस्तकको आकार लिनु अघि नै अनलाइन साहित्य, भकारी साहित्यसंग्रहमा र भुट्नीज लिट्रेचर डटकममा संग्रहित छन् । उनी बेल्डाँगी शिबीर नजीक रतुवाको किनारदेखि देशको माटोसम्म पुग्छन् । यसरी उनका कविताले नोस्टाल्जिया पछ्याइरहन्छन् ।

“म
कुना-कन्दराबाट 
थोपा थोपा हुँदै
 भदौरे खहरे भएर
ढुङ्गामुढासँगै बगेको भेल
आज
मिसिसिपी र मिजौरी भएर
बग्दै छु मूलधारको वेगमा ।”

माथि उल्लिखित कविताले जयमायाकै विम्ब बोक्छ । इन्द्रबहादुर राईको कथा ‘जयमाया एक्लै लिखापानी आइपुगी’ मा उनी एक्लै बर्माबाट भागेर लिखापानी इण्डियाको बोर्डरसम्म आइपुगिन् भन्ने कुरा पढ्न पाइन्छ । पछि त्यसैलाई कृष्ण धरावासीले ‘शरणार्थी’ उपन्यासमा जयमायालाई भूटान, नेपालमा शरणार्थी शिविर हुँदै अमेरिका ल्याइपुर्याउँछन् ।

"Ma JayamayaKo Santaan" by Pratiman Siva

“Ma JayamayaKo Santaan” by Pratiman Siva

जयमाया बर्माबाट भागेर बचेकी परिवारकी एक मात्र जीवित सदस्य हुन् । विश्वभरि विभिन्न कारण र अवस्थाले विस्थापित भई आफ्नो अस्तित्व खोज्दै भौंतारिरहने हामी हरेक नेपालीभाषी भुटानीहरु तिनै जयमायाको सन्तान हौँ भन्ने आशय यस कविता कृतिमा देखाउन खोजेका छन् कवि सिवाले ।

आवरणमा देखिएकी अभिभावक पात्र तिनै जयमाया हुन् र सानो मान्छे उनकी सन्तान । यसरी कविले आफैँ आवरण कलाले सुन्दर पुस्तक निर्माण गर्नु भएको छ । यहाँ बर्माको कथाका पात्रसँग भुटानको कथा जोड्नु र म जयमायाको सन्तान भन्ने विम्बात्मक शीर्षक जुराउनु सृजनामा छुट्टै स्वाद थप्ने काम भएको छ ।

सिवाबाट अङ्ग्रेजीदेखि नेपाली साहित्यमा अनुदित कविता आउनु एकदम सुन्दर कार्य भएको छ । तर एउटा पूर्ण कविता पढिसक्दा मलाई लागेको कवितामा जसरी भावानुवाद भएको छ, मिन्ट्रेल म्यान शीर्षक पनि अनुवाद गर्न सके नेपाली मात्र बुझ्ने पाठकलाई बुझ्न सरल पर्थ्यो कि ? किनकी कविता पढी सकिन्छ तर मिन्ट्रेल म्यानको शब्दार्थ कतै खुल्दैन ।

मलाई उनको पहिलो कविता कृति “डोबहरू” पढ्ने अवसर त प्राप्त भएन । यो दोस्रो कृति हेर्दा उनी लेखनमा परिपक्व देखिन्छन् । उनका गद्य कवितालाई मैले आफ्नो आँखाले र मनले पढेको छु । म जयमायाको सन्तानमा ८२ वटा कविता छन् । यो कवितासङ्ग्रह अलग्गै धारको छ ।

कविता कृति ‘म जयमायाको सन्तान’ अझै ब्यूँझै छु भन्ने साङ्केतिक प्रस्तुति हो । यसमा प्रस्तुत अङ्ग्रेजी कविताहरू हेरी मैले आगामी दिनमा उनलाई अनुवादकको रूपमा पनि देख्ने अपेक्षा गरेको छु । यसो भनौँ, कविताप्रतिको मेरो मोह आख्यान अध्ययनले अझै सुस्ताउन दिएको छैन । उनका यस्ता विम्ब कविता हुँदै कथा/उपन्यास आख्यान विधातिर पनि देख्न मिलोस् । सिवालाई, लेखन सफलताको कामना !

Facebook Comments

You may also like

error: Content is protected !!