ईश्वरवल्लभका तीन कविता

वि.सं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका प्रसिद्ध कवि ईश्वरवल्लभको निधन २०६४ चैत ९ गते काठमाडौंमा भएको थियो। कवितासंग्रह– ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’, ‘समानान्तर’, ‘कश्मै देवाय’, ‘एउटा सहरको किनारा, धूवाँको जंगल’। निबन्धसंग्रह– ‘केही भूमिकाहरू’, ‘सोचको मायामठ’। कथासंग्रह– ‘नीलो माटो’। सम्पादन– ‘फूल पात पत्कर’, ‘टुकी’ आदिका स्रष्टा/सम्पादक वल्लभ गीतकार एवं चिन्तक पनि हुन्। उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक मानिन्छ। बैरागी काँइलाइन्द्रबहादुर राई सहित उनी तेस्रो आयाम साहित्यिक अभियानका प्रवर्तक समेत हुन्।

Ishwar Ballav, Indra B. Rai and Bairagi Kaila

Ishwar Ballav, Indra B. Rai and Bairagi Kaila

उनले वि.सं. २०२९ सालमा कवितासंग्रह– ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ का लागि मदन पुरस्कार पनि पाएका थिए ।

प्रस्तुत छ, उनै कवि, सम्पादक एवं साहित्यकार, बहुप्रतिभाशाली ईश्वर वल्लभका तीन कविता !
 

किनारको बोधी छैन

किनारको अतिरिक्त
नदीको दायाँ बायाँ केही छैन,
नदी बग्छ त्यसैले किनार बग्दैन
त्यो स्थिर स्थापत्य जस्तो
नदी हेरिरहन्छ ।

अनेकौं युगहरूदेखिनको यो क्रम,
कहिल्यै परिवर्तन भएन,
त्यो अग्लो विश्वासजस्तो
नदी हेरिरहन्छ ।

छोइरहन्छ किनार ब्यूँझाउन, तर कहिल्यै ब्यूँझेन
निद्रामा अनेकौं आयामहरू थपिँदै जान्छन्
तर कहिल्यै सपना बन्दैन,
चराचुरुङ्गीका वासहरुको कोलाहल पनि हुन्छ
बिहान ब्यूँझेर चारा खोज्न गएका पन्छीहरू पनि
हल्ला गर्छन्
बकैनाका पातहरूमा हावाले हिर्काउँदा पनि
नदी आवाज गर्छ, किनार ब्यूँझदैन –
सूर्यका कति किरणहरू लहरमा चम्किन्छन्-
किनार ब्यूँझदैन,
रातोले पनि ब्यूँझदैन
नीलो, हरियो, सेतो कुनै रङ्गले ब्यूँझदैन ।

किनारको यो लामो निद्रा
किनारको यो लामो उराठलाग्दो मौनता
नदी बाढी बोकेर नआएको पनि होइन,
उसका अवयवहरुका चौटा-चौटा घाउ नझारेको पनि होइन
कतिफेरा धस्कियो पनि गोरेटाहरु बगेर गए
कतिफेरा बग्यो, आली र साना बाँधहरु भत्केर गए
तर ढुङ्गाजस्तो निर्मम किनार अझै बोलेन
निर्मम मौनताको र चंचलताको विरोधाभास
निर्मम निर्जीवन र जीवनको विरोधाभास
किनार र नदी
नदी र किनार

केही सिँढीहरु चढेर छोप्न माथिसम्म आएको पनि हो नदीले
सुम्सुम्याउन प्रहार र आघातहरुका पीडाहरु,
त्यो स्थित्प्रज्ञ जस्तो किनार
मात्र आफैजस्तो अर्कोलाई पारि हेरिरहन्छ
आँखा छैनन् रूखहरू छन्
भाषा छैनन् बुटाहरु छन् –
निर्जीव किनारले निर्जीव किनार हेरिरहन्छ,
नदीले कहिल्यै विश्राम गरेन, ऊ अनन्त गइरहेको हुन्छ,
अनन्त किनारहरूका नयाँ-नयाँ अवयव छोइरहेको हुन्छ पानीले
स्पर्शज्ञान याद छैन,
नितान्त ध्यान मग्नताको भ्रम मात्र कतै श्वास-प्रश्वासको
आरोह अवरोह पनि छैन ।

किनारको बोधी छैन, बिम्ब छैन किनारको
मात्र व्यामोह जस्तो – एउटा भ्रम
भचाखुसीमा भर्खरै छिनाएको तर मरेको टाउकोको-आँखा जस्तो
निष्प्राण लोलाइरहन्छ
कतै दुख्दो पनि रहेनछ, कतै छुँदो पनि रहेनछ
अभिशप्त किनार !
श्रापित, लाञ्छित किनार !
त्यसैले त,
अचेल उसकै नदीले पनि उसलाई छोडेर कतै बगिरहन्छ ।

[ “कस्मै देवाय” कवितासङ्ग्रहबाट ]

मेरिज्वानाको लत

पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त
हो त्यसैले बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा बास बस्ने इच्छाहरूसम्म ।

आकाशका नीला-नीला भुवाहरू
कहिले सपना पनि भएका हुन्
कहिले बेँसी र लेक भएका हुन् यात्रामा
कहिले कुनै बिसौनी र विश्राम भएर ठाउँ-ठाउँ
रोकिएका हुन्
त्यहाँ देखिएका विम्ब र स्वरूपहरूमा कहिले
म आफूलाई अनुवाद गर्छु यसो हुनाले
तिमी के हौ म चिन्दिनँ
पलाँस र गुराँसको बोट लाग्छ, राता फूलहरू
गुलाबी, सेता र बैजनी फूलहरू ।

गुम्बजहरू
छानाहरू, ओतहरू र गुफाहरू
यात्राका बिसौनी र विश्रामहरू
भइगो
म पानी हुँ भने
म बगुँला यात्रामा
तिमी पानी हौ भने
तिमी एउटा लत हौ र मेरिज्वाना !

शब्दको जहर

कविता पनि त
एउटा क्षोभ हो, तृष्णा हो
आदिवासी गुफा हो,
र भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ
अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा
मनमा तर
आभासहरूलाई छुन खोज्छ
अनुभव र आस्थाको सङ्गमर्मर
तोड्न खोज्छ
त्यसैले कहिले त अत्यन्त पीडा
हो
अभ्यन्तरको निरीहता
निर्मम एकांकीपन,
निर्भय गहिराई र अँध्यारोपन ।

जुन आद्य जङ्गल हो
केही नितान्त नाङ्गै परिधानहीन उभिन्छ,
आवरण छैन
कुनै कवच र
कुनै त्राण छैन,
भर्खरै आमाको गर्भबाट जन्मेको मेम्ना
सानो र मसिनो तृणले पनि
देह गहिरो बेध्छ
मासु बेध्छ उसको ।

अरुणा लामाले मलाई सोध्थिन्-
किन मलाई सबैले दुःखी गीत मात्रै दिन्छन् ?
उनका पीडाको दुःख मलाई बोकाउँछन् ?
दाइ, उनका अक्षरहरूले मलाई सधैँ बेध्छन् !
म पनि त
आह्लाद गाउन सक्छु ! भन्थिन् ।

तर आफै पराई शब्दको जहरले निरन्तर
क्षतविक्षत छु
शब्दको जहरले विदीर्ण छु
आहत छु
विषपायी म, नीलकण्ठ पनि म
अक्षर बेध्छ म
अक्षर नै आज्तेकजस्तो
नितान्त क्रूर र सामन्त !

त्यसैले,
कवयित्री मोमिला पनि भन्छिन्-
‘मेरो मन आदिवासी’
सायद यस्तै
त्यसैले म र मेरो जम्मै
अस्तित्व पनि आदिवासी ।

अक्षरले अचेल मलाई तिखो झीर घोच्छ
निरोको आगो र भ्वाइलिनको स्वर
अनि रोम शहरको मोन्टाज, इतिहासको
मेरै कविताले मलाई बेध्छ
आदिवासी मन बेध्छ !

[ सङ्कलक : राजु झल्लु प्रसाद ]

Facebook Comments

You may also like

error: Content is protected !!