गान्धीजीसँग तीन सदस्य | प्रवास | काव्यालय-Kavyalaya

गान्धीजीसँग तीन सदस्य

एउटा परिवारका तीन सदस्यको अष्ट्रेलिया र न्यूजील्याण्डको १५ दिने भ्रमणपछि तेस्रो यात्रा थियो हवाई नामक स्टेट । अझ विशेषत: हवाईको पनि ‘हनोलुलु’ शहर केन्द्रमा थियो । त्यो परिवारको एक सदस्य म नै हुँ । त्यसैले, लेखमा कतै म हुनसक्छु । म नहुन पनि सक्छु किनकी मेरो स्थान हामीले लिन सक्छ । स्पष्ट छ त्यसपल म भन्ने शब्द पूरै हामीमा गएर गाभिन्छ ।

तीनदिने ट्रीप । खासमा न्यूजील्याण्ड घुम्ने बिस दिनको समय काटेर तिनदिनका लागि हनोलुलु, हवाई स्टेट घुम्न निस्किएका जो थियौँ । यसलाई ट्रान्जीटको यात्रा भन्न पनि सकिँदैन किनकि त्यो मल्टीसिटीको टिकट जसमा हवाईको एयर्पोटबाट बाहिर चिहाएर भित्र पसी हाल्नुपर्ने अवस्था पनि थिएन ।

त्यसैले, यहाँ तीनदिनको ट्रीपको कुरा छ । तीन दिन ?  अर्थात् बहत्तर घण्टा । त्यसलाई चार हजार तीनसय बीस मिनेट भने पनि हुन्छ । यात्रामा निस्किएको मान्छेका लागि चार हजार तीनसय बीस मिनेट कम समय भने पक्कै हैन ।

एयरपोर्टबाट होटल पुग्दा भर्खर बिहानको दश बजेको थियो । नुहाएर हलुका भएपछि श्रीमती गंगाले भनिन्, “आजको दिन ‘हनाउमा बे’ बाट सुरुवात गरौँ । माथि प्रस्तुत तीन सदस्यमध्ये श्रीमती गंगा दोस्रो हुन् । गुगलमा मैले ब्राउज गरेँ- नीलो देखिने बेको पानी,  सुन्दर ‘बीच’ रहेछ ।

मैले  हवाईयन भाषामा ‘आलोहा’  आकारमा पोज दिएँ, छोरी र श्रीमतीले आफ्नै तरीकाले क्यामरामा हेरे । ‘आलोहा’ बुढी र कान्छी औंला ठाडो पारी रहल औंला सुताउनु यसको प्रतिकात्मक चिह्न हुन्छ ।  आलोहा यस शब्दको अर्थ अंग्रेजीमा ‘हेल्लो’ नेपालीमा भनीने नमस्कार जस्तै हुन्छ । फोटो क्लिक ! क्लिक !! पहिलो दिनको थकाइ- हनाउमा बेको भ्रमण र इण्डियन रेस्टुरेण्टको खानाले साँझ उडायो ।

जनवरीको अन्त्यतिर मैसम पैसठ्ठी डिग्री फरेन हाईट, श्रीमती गंगाकै फर्माइसमा परिवारका तीनैजना सदस्य ‘हनोलुलु जु’ पुग्यौँ। यो ट्रीपको घटना पनि दोस्रो दिनको विवरण हो । उक्त जु पुग्नु हाम्रा लागि थियो । हामी पुग्यौँ तर अरुहरूका लागि ? आधुनिकताले आफू पुगेर मात्र काफी छैन, अरुका लागि पनि पुग्नु आवश्यक हुँदै लगेको छ ।

सामाजिक सञ्जालमा यात्रामा बसेको, घुमेको, खाएको आदि कुराको प्रमाण चाहिन्छ । त्यसपछि मात्र दुनियाँले विश्वास गर्छ । त्यसैले ‘हनोलुलु जु’  अघि उभिएर फोटो खिच्यौँ । सामाजिक सञ्जालमा अपलोड गर्नुअघि त्यसलाई श्रीमतीले  हेरिन् । फोटो त एन्टिलाईट परेकाले कालो आएछ । कालो भए पनि मेरा लागि चाहिँ पुग्यौँ भन्ने प्रमाण थियो । उनको चित्त नबुझेपछि दोस्रो फोटो जुबाट थोरै वर लिने तयारी हुन लाग्यो ।

यसैबीच छोरी भोकाएको संकेत बुझियो । प्रिय पाठक, परिवारको तेस्रो सदस्य छोरी सेजल हुन् । यसरी तीन सदस्य एउटा क्यामराको तस्बिरमा कैद भयौँ । त्यहाँ म मात्र थिइनँ किनकि त्यहाँ हामी थियौँ । याद गर्नु भयो, यो फोटो सेसनले हामीले एक वचनको शब्द ‘म’लाई पुरिदिएको अवस्था छ ।

फोटो खिच्न ‘हनोलुलु जु’को अघिल्तिर बीच रहेछ । हनोलुलुमा बीच जता फर्किए पनि देखिन्थ्यो । केही उज्यालो ठाउँ तीनै सदस्य जुको गेटमा पुगेर टिकट नकाटी बाहिरबाटै हिँड्यौँ । ‘अहो ! गान्धी रहेछन् !’, मैले भनेँ ।  बैजनी रंगको माला लगाएर गान्धी ठिङ्ग उभिइरहेका थिए । यहीँ, एउटा फोटो खिच्यौँ । श्रीमती गंगा र मैले सेजललाई बोकेर पालै पालो ‘डोयट’ फोटो खिच्यौँ ।

छेउबाट हिँड्ने दुईजना टुरिस्टमध्ये स्त्री चाहिँले सोधिन्- ‘तीनै जनासँगै फोटो खिच्ने हो ?’ ‘हजुर, खिचिदिनुहोस् न’ भन्दै श्रीमती गंगाले क्यामरा उनको हातमा दिइन् । त्यसपछि मैले छोरी सेजल उनलाई दिएँ । तीनैजना गान्धीको पाउ छेउ दाँया बाँया उभियौँ ।

‘धन्यवाद’, मैले ती टुरिस्टलाई मुस्कान दिएँ । जसले तीन सदस्यको एउटा परिवारलाई क्यामरामा एकसाथ उतार्न सहयोग गरे । श्रीमती गंगा, नानीलाई फर्मुला बनाएर भुल्याउन लागिन् । त्यो समयको फोटो हेर्दा आज पनि सम्झन्छु ‘गान्धी जी र तीन सदस्य !’

हवाईमा किन गान्धीजी ? मेरो मस्तिष्कमा प्रश्न तरंगित हुन थाल्यो । केही थप सिंगल तस्बिर लिएर जु भित्र पस्ने इच्छा श्रीमती गंगाको थियो । छोरी सेजलले पनि फर्की फर्की गान्धीजीलाई हेरिन् । उनको हातको लठ्ठी तान्न खोजिन् । दश महिनाकी बालिका, त्यो उनको स्वभाव उमेर अनुसारकै थियो ।

म टिकट लिन काउन्टरतिर लागेँ । उनीहरू मेरो पछि उभिएका छन् । मलाई त्यो टिकट लिँदा कति डलर खर्च भयो ठ्याक्कै याद छैन। माफ गर्नु होला, डलरको याद नहुँदा त्यसलाई रुपियाँमा अनुवाद गर्न पनि सक्ने कुरा भएन ।

जे होस्, हनोलुलु जुभित्र हात्ती, बाघ, भालु, बाँदर, चरा र अन्य प्रजातिका पंक्षी छन् भन्ने साईन बोर्डमा देखाइएको थियो । हामीले त्यहाँ साइन बोर्डमा टालिएको अनुसार रेप्टाईल्स, बर्ड्स् र म्यामल्स हेर्यौँ । यहाँले यसपल्ट याद गर्नु भयो होला, फेरि हामी शब्दले मलाई उछिट्ट्याइदिएको छ ।

सानो पानीको पोखरी बीचमा साना तन्नेरी कछुवा पौडिरेहका र बुढा ठूल-ठूला कछुवा छेउमा घाम तापिरहेका थिए । म तिनको तस्बिर लिन व्यस्त रहेँ । तिनलाई आफ्नो क्यामरामा उठाउने मेरो ध्यान थियो । प्रिय पाठक, यसपल्ट यहाँले याद गर्नुभयो फेरि ‘हामी’लाई पछाडि छाडेर जित्दै ‘म’ पात्र अघि आयो ।

क्यामरा पर्सन मेरो नजिकमा उभिएर श्रीमती गंगापनि छोरी सेजललाई ती जीव देखाउन व्यस्त रहिन् । सेजल बडो अनौठो मानेर ती जीव हेर्न लागिन् । त्यसकै अर्कापट्टि अग्ला सेतो रंगका बकुल्ला एउटा खुट्टा उचालेर ध्यान मुद्रामा देखिन्थे । अन्य रंगीन चरा र जनावरहरू जसको नाम याद राख्न मुस्किल पर्थ्यो, ती पनि हेर्यौँ । कतै मुजुर, कतै तुन्द्रुङ्ग झुण्डिएका चिम्पाञ्जी थिए ।

त्यसपछि हामी तीनैजना सदस्य भित्तामा टाँसिएको दुई एशियन हात्तीको ठूलो आकारको फोटो हेर्दै त्यतातिर गयौँ । हामी मान्छे पनि एशियन फेरि तस्बिरमै एशियन हात्ती लेखिएको थियो । श्रीमती गंगालाई त्यो हात्ती हेर्ने उत्सुकता जाग्यो ।

साइन बोर्ड पछ्याउँदै पछ्याउँदै हात्तीको बासस्थान पुग्यौँ । एउटा बन्देज गरिएको ठूलो पर्खाल थियो । त्यसकै वरपर श्रीमती गंगा र म हात्ती खोज्न तल्लीन रह्यौँ । पर्खालभित्र हात्तीले कुल्चिएको हिलो माटो र त्यसको गन्ध आलै थियो । त्यहाँ पानीको आहाल पनि देखियो तर हात्ती भने कतै देखिएन ।

मैले यस्तै, बाह्र वर्षको उमेरमै भारतको बंगाल राज्यमा हात्ती देखेको थिएँ । मैले यस्तै शब्दको प्रयोग गरेँ किनकी ठ्याक्कै बाह्र या तेह्र हो उहिले त्यो याद हुन सकेन । हात्तीको दृश्य देख्न नपाउनुमा मलाई कुनै दु:ख मनाउ थिएन । भ्रमणमा निस्किएकी दोस्रो सदस्य श्रीमती गंगा भने केही दुखी भइन् । बोर्डमा हात्ती देखाइयो तर भित्र छैन । उनी सही थिइन् ‘टिकट काटेपछि जु भित्रका सबै जनावर र पशु-पंक्षी हेर्न खोज्नु ग्राहहको चाहना हो । हेर्न पाउनु ग्राहकको अधिकार हो ।’ यसबीच स्ट्रोलरमा कैद छोरी सेजल त्यहाँको तातो हावा र गर्मीका कारण थकाइले निदाइसकेकी थिइन् ।

त्यस दिन हामीले हात्ती त देख्न पाएनौँ । तस्बिरमा टाँसिएका हात्तीको विवरण भने पढ्न थाल्यौँ । ती हात्ती इण्डियाबाट ल्याइएका रहेछन् । त्यसैले त  साइन बोर्डमा एशियन हात्ती लेखिएको रहेछ । त्यसपछि बाँयातिर रहेका रङ्गीन फूलहरूसँग फोटो खिच्ने इच्छ श्रीमती गंगाको थियो । म कहिले श्रीमान बन्थेँ त कहिले क्यामरा पर्सन । त्यसदिन मेरो उनका लागि डबल रोल थियो । फूलको मात्र सिङ्गल फोटो खिचेर उनीतिर फर्की  “रेडी?” म बीचबीचमा सोध्थेँ । यसरी म दुई फूलको एकैसाथ फोटो खिच्दै थिएँ।

क्लिक! क्लिक! गर्मीले निधार पुछ्दै दुई सदस्यको थकाइ मार्ने योजना बन्यो । त्यहाँ छेवैको बेन्चमा बसेर ‘हनोलुलुमा किन गान्धी?’ म चाहिँ फोनमा रिसर्च गर्न थालेँ । उनी भने नानीलाई स्ट्रोलरमा सहज तरिकाले सुत्ने व्यवस्था मिलाउन थालिन् ।

इण्डियाका हात्ती अनि हनोलुलु जुका अघि गान्धीको सालिक! म केही त अवश्य छ भन्ने सम्भावना खोतल्न थालेँ । आखिर मान्छे हिँड्ने भनेकै सम्भावना बोकेर त हो । एउटा आर्टीकल भेटाएँ जसमा लेखिएको थियो ‘स्टेपीन सि लोवे’ले सन १९९० मा गान्धीजीको सालिक निर्माण गरेका थिए । गान्धीलाई एक शान्तिप्रेमी मानिसका रूपमा परिचित भएका र यो क्षेत्र शान्तिको लागि परिचित छ- भनेर राखिएको हो- भन्ने भाव बोकेको लेख थियो त्यो।

त्यसपछिको हाम्रो यात्रा ‘डाईमण्ड हेड स्टेट पार्क’को थियो । तीन सदस्य दोस्रो दिनको दोस्रो यात्रातिर लाग्यौँ ।

डाईमन हेडमा घुमेर थकान भएर साँझ होटल फर्किएपछि श्रीमती गंगाले भनिन्, ‘त्यो फोन मलाई  दिनु त ! हामी हनोलुलु जु र डाईमण्ड हेड पुग्यौँ । हामी पुगेको अरु मान्छेले नदेखेसम्म थाहा पाउँदैनन् ।” म मुसुक्क हाँसे।  श्रीमती गंगा ठीक भनिरहेकी थिइन् । यो आम मान्छेको स्वभाव नै हो ।

प्रिय पाठक, म श्रीमती गंगाको ‘हामी’ भित्रै गायब भएँ । यहाँ पनि एकपल्ट गम्भिर भएर सोच्नु होस्, आजको आधुनिक दिनमा कसैले तस्बिर या भिडीयोमा नदेखेसम्म गफकै भरमा म त्यहाँ पुगेँ, घुमेर आएँ भन्दा पत्याउने अवस्था छ ? कसले विश्वास गर्छ ? अरुका लागि भएपनि श्रीमती गंगाले सामाजिक संजालमा तस्बिर हालेर हवाई स्टेटको हनोलुलु भन्ने ठाउँ पुग्यौँ भन्ने सन्देश पेश गरिन् । जसमा तीन सदस्य गान्धीजीको छेउमा उभिएको तस्बिर विशेष थियो । तस्बिर अर्थात् घुम्न गएको प्रमाण पेश गरिसकेपछि लाग्यो, मानिस सामाजिक प्राणी हो।  मानिस आफ्नो दुःख मात्र होइन खुशीको क्षणपनि आफ्नो समाजसँग बाँड्न चाहन्छ । फोटो र भिडियो हालेर श्रीमती गंगा सामाजिक प्राणी भइन् । मैले पनि सामाजिक प्राणी हुनकै लागि/कारण यति विवरण उतारेँ ।

बिहान छोरी सेजलले तान्न खोजेकी गान्धीको लौरोलाई हेर्दै मैले सोचेँ, ‘गान्धीले लौरो छोडेनन्। लेखकले कलम छोडेन।’

Facebook Comments

You may also like

error: Content is protected !!