२७ रहस्य


आज भने म ‘२७’ को कुरो गर्न गइरहेछु । कुरो १२-२७ को पनि हुनसक्छ । किनभने, मेरो (व्यक्तिगत) हकमा १२ र २७ बीच एक किसिमको अन्तरसम्बन्ध छ । त्यतातिर घुम्दै-फिर्दै पुगिएछ भने जाऔँला पनि तर अहिले भने २७ तिरै लागौँ । मेरो न्वारानको नाम ‘याम’ हो । यही नामको मेरो एकजना दादा पनि हुनुहुन्छ, ५ दाजुभाइ मध्यको सबसे कान्छो हुनुहुँदा उँहालाई म लगायत सबै भाइबैना सान्दाइ भन्ने गर्छौँ। उहिल्यै हो, म किशोरकाल र उँहा युवाकाल हुँदा बखत उँहाको पक्कै केमिस्ट्रीको नोटकपीमा हुनुपर्छ मैले रोल नं मा ‘७२’ लेखिएको देखेँ । उस्तै बेला कान तान्दै थर्काउने र उस्तै बेला नाक तान्दै फकाउने दादाको रोल नं मै ७२ लेखिएको पाएपछि त्यही दिनबाट मनले उद्घोष गरिदियो- मेरो लक्की नं पनि ‘७२’ !  मनले उद्घोष गरेपछि मैलेपनि साथीहरु माझ उद्घोष गर्दै हिँडेको सम्झना पुरानो भएपनि अझै ताजा नै छ । त्यस्तै, एकदिन आफ्नो राशीको सानो राशीफलको किताब हेर्दै जाँदा उक्त राशी हुनेहरुका लागि शुभ अंक ‘९’ भनेर लेखिएको पाएँ । अब हेर्नुस् न, ‘७२’ भित्रको ‘७’ र ‘२’ लाई जोड्दा पनि त ‘९’ नै हुने रहेछ ! त्यसपछि त झन् ‘७२‘ उपर म आस्थावान भएँ । अब, सायद तपाईंलाई मैले बताइराख्नु परेन यो ‘२७‘ को कुरो गर्छु भनेर १२-२७ पाराले यो ‘९’ र ‘७२’ को कुरो मैले किन कोट्याएँ भनेर । हिहि …. क्या स्मार्ट क्या तपाईं !

अँ त, तर मलाई उति-उति बेला २७ ले मलाई पछ्याएको कुरो उति थाहा थिएन  । हुन त त्यो बेलै उति-उति बेला भएकोले होला उति थाहा नभएको । खैर, मेरा स्कुले साथीहरु जसलाई म जँहा-जता जति टाढा पुगेपनि कहिल्यै बिर्सन सक्दिनँ तिनीहरु प्रायको नाम ‘र’ अक्षरबाट सुरु हुन्छ । रमा, रुपा, रुकु, रमिला… अनि अँ, छिमेक कि मिल्ने साथी पनि रिता नामकि थिई । यी केटि साथी छोडेर केटा साथीको कुरा गर्नुपर्दा पनि ‘र’ बाट ‘राम’ नै मेरो त्यस्तो केटा साथी थियो जसले मलाई जिन्दगीमा पहिलो पटक ‘बेस्ट फ्रेन्ड’ को उपाधि दिएको थियो । पाटन क्याम्पसमा मसँग सबसे ज्यादा मिल्ने साथी पनि त ‘र’ बाट रामचन्द्र नै थियो नि । यी वास्तविक बाहेक मेरा काल्पनिक साथीहरु पनि धेरै थिए जसमध्य धेरै भन्दा धेरैको नाम ‘र’ बाट नै सुरु हुन्थ्यो। रुबी, रोहित, रेवन… माफ गर्नुस् है अहिले ३ जनालाई मात्र सम्झिन सकेँ । यी काल्पनिक साथीहरुबारे म अनेक कल्पना गरेर इपिसोड-टु-इपिसोड मेरा बेञ्च पार्टनर रुपा र रमिलालाई सुनाउने गर्थेँ ।
(गफाडी रहिछे चाहिँ न भन्दिनुस् है बरु इमान्दार रहिछे भन्दिनुस् )
र गजबको कुरो के भने, अहिले आएर मात्रै पो थाहा भयो यो ‘र’ अक्षर नेपाली वर्णमाला को व्यंजन वर्णको सूचीमा पनि ‘२७’ औं स्थानमै पो पर्ने रहेछ।


‘र’ बाट रुकु नै मेरी त्यस्ती साथी हो जोसँग मेरो मित्रता आजसम्म पनि उही स्कुल बेला जत्तिकै घनिष्ठ छ र जीवनभर रहिरहने छ । जसको बर्थ डे प्राय ‘२७’ तारिखमै पर्ने गर्छ । अनि मेरी प्यारी बैनी प्रतिमाको बर्थ डे पनि त प्राय ‘२७’ तारिखमै पर्ने गर्छ । जतिपनि मेरा लागि प्रिय छन् ति कुनै न कुनै रुपले ‘२७’ संग सम्बन्धित नै छन् । जस्तै अर्का प्रिय शखा विनोदको बर्थ डे पनि त ‘२७’ गते नै हो । अनि, बर्थ डे कै कुरो चलिरहँदा यो पनि भनी हालुँ कि मेरो आफ्नै बर्थ डे पनि त कुनै महिनाको ‘२७’ गते नै हो ।

त्यस्तै, स्कुल बेला को साथी उमेश जो एक मात्र यस्तो साथी (अरु कुनै साथीलाई आजसम्म त्यसरी कविता नै लेखेर त बर्थ डे विस गरेको याद छैन) जसलाई मात्र मैले बर्थ डे मा उसकै नाममा कविता लेखेर दिएको रहेछु, उसको बर्थ डे पनि त कुनै महिना को ‘२७’ गते नै पर्दोरहेछ । सायद यहि ‘२७’ कै संयोगले गर्दा पो हो कि मैले कविता लेखेर बर्थ डे को शुभकामना तमाम साथीहरु मध्य आजसम्म उसैलाई मात्रै दिएछु।

कागले कान लग्यो भन्दा कान नै नछामी कागको पछि दगुर्ने सम्मको मुर्ख (थोडासा मुर्ख चाहिँ छु नै)चाहिँ म होइन क्या जन्मदिनको गते र तारिखको संयोगले मात्रै यो ‘२७’ ले पछ्याउनुको रहस्य उपर उत्सुक भएको । मसँग अरु-अरु पनि थुप्रै कारणहरु छन् जसले मलाई यतिसम्म लेख्न उक्साएका छन् ।

ए उन दिनों कि वात नही है,
जब म न त घडी लगाउथेँ न त मोबाइल फोन नै बोक्ने गर्थेँ । ए तो उन दिनों कि वात है जबदेखि मैले मोबाइल बोक्न थालेँ । किनभने, तबदेखि मात्रै मलाई ‘२७’ ले पछ्याएको याद हुन थालेको हो । त्यसपछि देखि त जब मोबाइल खोल्छु जति बजोस ‘२७’ मिनेट गइरहेको हुन्छ । च्याट गरिसकेर अब बन्द गरूँ भनि हेर्छु तब पनि ‘२७’ नै मिनेट गइरहेको हुन्छ । सुत्ने बेला ‘२७’, उठ्ने बेला ‘२७’, कसैले फ्याट्ट कति बज्यो भनि सोधिदिँदा ‘२७’, कतै निस्किन लाग्दा ‘२७’, कतैबाट फर्केर आइपुग्दा ‘२७’, कोही विशेषको फोन आउँदा ‘२७’ ! अब हुँदाहुँदा कसैसँग कुरा गरिसकेर फोन राखेर कति टाइम बोलिएछ हेर्दा त्यहाँ पनि ‘२७’ ! लु ब्यालेन्स कति बचेछ भनि हेर्दा त्यहाँ पनि ‘२७’ ! १ दिन होइन, २ दिन होइन, ७ दिन होइन ! अरे, २७ दिन पनि होइन वर्षौं वर्ष ‘२७’ का ‘२७’ ! यो २७ ले पछ्याएको देखेर म एक्लै होइन मसँग प्राय: संगै भइरहने मेरी ममी पनि छक्क, प्यारी बैनी पनि छक्क, प्रिय शखा राज पनि छक्क !

यति मात्रै हुँदै होइन । अरुपनि धेरै कुरा छन् जसको माध्यमबाट २७ ले मलाई खै किन पो होला लखेटिरहन्छ । मेरो बानी छ क्या गुगलबाट वा फेसबुककै सर्च-बार बाटपनि के-के जाती चित्रकला र फोटाहरु खोज्ने र मन परे डाउनलोड वा सेभ गर्ने । त्यसरी हजारौं मध्य ५-१० वटा जति मात्र मन पर्छन् र सेभ गर्छु । गजबको संयोग त के भने ति मन परेर सेभ गरिएका प्रिय इमेजहरुको कोडमा धरी ‘२७’ ! एक ताका अब्बास किरुस्तामीका फिल्म उपर दिल बसेपछि उनका उपलब्ध भएसम्मका फिल्मका नामहरु खोजेर भाइले बर्थ डे गिफ्ट ल्याइदिएको डायरीमा ती सबलाई नोट गरेँ । नोट गरेको करिब एक वर्षपछि सन्दर्भवश गन्ने हुँदा ती फिल्मका टिपिएका नामहरुको संख्या पनि २६ वा २८ नभएर फेरि पनि ‘२७’ नै रहेछन् ।

अब विशेष साथीहरुको मोबाइल नं कै कुरा गरौँ ।
उहिल्यै हो, एकपटक रङ नं बाट फोन आयो । रङ नं भन्ने थाहा पाएपछि उतैबाट माफी मागेर फोनको अन्त्येष्टि भयो । १ मिनेट पनि नबोली फोन सकियो । के थाहा २७ सेकेण्ड मात्रै पो बोलिएको थियो कि ? खैर, छोडौँ, यस्ता मनगढन्ते कुरोलाई यहाँ कुनै ठाउँ सुरुदेखि नै छैन अब किन ठाउँ बनाउँ ? होइन र ? अँ त, ती रङ नं सँग अजिबसंग दोस्ती गाँसियो । उनी खुब मिठो गाउँछन् र विशेष मीठो त उनी स्वर सम्राटलाई गाउँछन् । उनको फ़ोनिल आवाजमा स्वर सम्राटलाई सुनेर मेरा असंख्यक रातहरु बितेका छन् । त्यसताका म उनको लयालु आवाजसँग आफ्ना गजलहरु पनि उही रङ नं मा साटेर हिसाब सल्टाउने गर्थेँ ।

अर्का प्रिय शखा छन् प्लस टुसँगै पढेको क्लासमेट । उनीसँगका संयोगहरुका पनि थुप्रै किस्साहरु छन् जो अर्को कुनै दिन लेख्नै छ तर आज भने त्यतातिर गइनँ । अँ त, उनीपनि खुब मीठो गाउँछन् र विशेष यश कुमारलाई ! मेरै आग्रहमा उनले कलेजको कार्यक्रममा यश कुमारलाई बेहद मीठो गाएका पनि हुन् ।

अशोक, अर्का विशेष साथी, आजीवन प्रिय । जसले मलाई जिन्दगीको सबसे कष्टकर पलमा पनि साथ दिएका छन् । मैले बाँचिरहेको संसारभन्दा बेग्लैपनि संसार छ भन्ने कुरा मैले उनैको संगतमा थाहा पाएकी हुँ । र उनी नै त हुन् जसले मलाई फिक्सन डिजाइनर कान्तिपूरको कोसेलीभन्दा बाहिर आफ्नै निजी अड्डाहरुमा पनि भेटिन्छन् भन्ने कुरा बताए । मैले नगरकोटीलाई पहिलो पटक कथाकारको रुपमा पढेको पनि उनकै उपलक्ष्यविहिन कोसेली ‘काठमान्डू फिभर’ मा त हो ।
र यी ३ विशेष शखाहरु सबैको मोबाइल नं को अन्त्य पनि त ‘२७’ सँगै त हुन्छ।

उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम ‘अजरअमर गीतहरु’ मेरो प्रिय कार्यक्रम मध्यको एक हो । जसको जन्म-वार्षिकी र मेरो जन्मदिनपनि एउटै मिती भाद्र महिनाको ‘२७’ गते नै पर्दो रहेछ । र यसै कार्यक्रममारफत नै त मैले थाहा पाएकी हुँ कि जोन लेननलाई पनि त उनको जन्म तारिखको अंक ‘९’ ले उस्तै पछ्याएको इतिहास रहेछ जसरी अहिले मलाई मेरो जन्म गते को अंक ‘२७’ ले पछ्याइरहेको छ । ‘९’ तारिख मै जन्मिएर ‘९’ तारिख मै जोन लेनन बितेजस्तै के थाहा मेरो मृत्यु पनि कुनै सालको कुनै महिनाको ‘२७’ गते नै हुन लेखेको पो छ कि ? हेर्नुस् न, कुनै-कुनै कोणबाट हेर्दा त मृत्यु पनि कति रोमाञ्चक लाग्ने रहेछ, होइन ?

 अँ साच्चै, काठ्माण्डौँपनि राम्ररी घुमी नसकेको म सौभाग्यवश संसारकै सुन्दर मध्यको एक शहर, ‘पोखरा’ पुगेथेँ । जहाँ घुमुन्जेल बास बस्दा कुन्नि के नामको लज (अहिले नाम बिर्सेछु) को रुम नं मा ‘S -12 ‘ लेखिएको रहेछ । जसले मलाई मेरो अंग्रेजी क्यालेण्डर अनुसारको बर्थ डे ‘ Sept 12 ‘ को सम्झना गराइरहेको थियो । मतलब र यसले पनि अप्रत्यक्ष रुपमा मलाई भाद्र २७ नै सम्झाइरहेको भन्न नमिल्ला र ?

यदाकदा म सोच्ने गर्छु ‘२७’ ले मलाई आखिर के त्यस्तो कुरा बताउन खोजिरहेको छ ? यो मेरो लागि एउटा रहस्यको विषय बनेर, मेरो जिज्ञासु मनलाई अझ ज्यादा जिज्ञासु बनाइरहेको छ । खैर, समय आएपछि समय आफैले खोल्दो नै हो यो रहस्यलाई । म भने यसलाई कुनै शुभ संकेत नै मानेर यो रहस्यमयी अंकलाई हरेक संयोग नै पिछे फुरुङ्ग पर्दै मनाउँदै आइरहेकी छु ।

Facebook Comments

You may also like

error: Content is protected !!