जिन्दगीको २१ औँ संस्करण

रातको मौनता नाप्ने एकाइ ‘डेसिबल’ मा छ या छैन ? यदि हुदोँ हो त यसले आजको रातलाई वर्षकै शान्त रात भनेर घोषणा गर्ने थियो । आजको यो कृष्णपक्षको ‘औंशी’ को अघिल्लो रात मलाई सबैभन्दा मौन र अँध्यारो लागिरहेछ । दिनभर चिच्चाउदै हल्ला गर्न हिडेका अधिंकाश आवाजहरु अहिले चिर निन्द्रामा होलान् । निदाउन नसकेकाहरु , आफ्नै मनबाट आएको हल्ला मनमै सुनेर , यता उता कोल्टे फेर्दै अनिद्रासँग पैठेजोरी खेल्दै होलान् ।

रातको ११:२० बजे , कृष्णपक्षको चतुर्दशीको रात । भोलीको रात हुनेछहिजोको केही असजिला बेलाका असन्तुष्टिका भग्नावशेषले मेरो आजलाई केही फरक गरिरहेछ या छैन ?
वर्तमान बिगतसँग निरपेक्ष रहन सक्छ ?
या यो विगतकै एउटा संसोधित संस्करण (रिभाइज्ड एडिसन) मात्रै हो ?

औंशीको रात । आफ्नो कोठाको भुइँमा बसेर यो लेखिरहदा घडीले ११:२७ बजाइसकेछ । केही कक्रोचहरु खाटमुनीबाट खस्रायक – खुस्रुक गरिरहेका छन् । लाग्छ , यिनी केही सोचिरहेछन् , निदाउनसकिरहेका छैनन् । निदाउने प्रयत्नमा कोल्टे फेरिरहेका छन् । यो कोठामा उस्तै खालका दुई निशाचर प्राणी यतिबेला बसिरहेका छौँ । यहि बेला भर्खर , एयरपोर्टबाट एउटा जहाजले उडान भर्यो । यो रातको मौनतालाई भङ्ग गरिदियो । म झस्किएँ । मैले, मसँग कसैले गरेको हवाइजहाजका पुराना किस्सा सम्झिएछु । यो सम्झनाको लहरोले अरु लहरा पनि ताने । म टोलाएछु .. । एकछिन पछि सोचेँ , मलाई अतितमा पुराइदिएर अहिले त्यो जहाज आफू चैँ कहाँ पुग्यो होला ? यी सबै सम्झदा के लेख्न बसेको बिर्सिएँ ।

म अरु सबै बिर्सिएर यस्ता प्रश्न सम्झन चाहिरहेछु कि – मैले आज सम्म बाचेकोँ समय , मैले बाँच्नैपर्ने खालको थियो ? हिजोको केही असजिला बेलाका असन्तुष्टिका भग्नावशेषले मेरो आजलाई केही फरक गरिरहेछ या छैन ? वर्तमान बिगतसँग निरपेक्ष रहन सक्छ ? या यो बिगतकै एउटा संसोधित संस्करण (रिभाइज्ड एडिसन ) मात्रै हो ? यस्ता प्रश्नले मलाई आज दिनभर नै लखेटीरह्यो । आज बाहेकका अरु दिन मैले बिगतका नोस्टाल्जियामा नबिताएका होइनन् । तर , आज जन्मदिनको अघिल्लो दिन कुराहरुले मलाई उद्देलित बनाइराख्यो ।

मलाई ठ्याक्कै याद छैन , मैले मेरो कुन जन्मदिन सम्झने गरि मनाए । यो पनि थाहा छैन कि आज मेरो जन्मदिन हो भनेर पहिलो चकलेट कहिले र कसलाई दिएँ ।

म जन्मने बेला घरमा कस्तो माहोल बन्यो होला भन्ने म जान्दिन । हाम्रो तत्कालिन समाजमा ( हुन त अहिले पनि त्यस्तै छ ) , छोरा जन्मदाँ कस्तो माहोल बन्छ , सायद त्यस्तै माहोल सृजना भयो होला , म जन्मिएको बिहान । यो जन्मोत्सव भन्दा ठिक २१ बर्ष अगाडि । जन्मदा जो पनि सानै हुन्छ । हिलो माटोको सानो डल्लोजस्तो सानो । आजभोलि म भर्खर भर्खर जन्मिएका साना बच्चाहरु हेर्छु – अनि आफ्नो अहिलेको अवस्था हेर्छु । साच्चै मान्छे पनि झुसिलकिराबाट पुतली बनेजस्तै मेटामर्फसिस भएर पुतली बन्दो रहेछ । यो फरक पनि हुन सक्ला कि, मान्छे पुतली जस्तो सुन्दर नबनेर कुरुप बन्दै जाला, उमेर सँगै तर, हरेक बच्चासँग उमेर सँगै सुन्दर पुतली बन्ने असिमित सम्भावनाहरु हुन्छन् । आमाहरुले सृजना गर्ने हरेक सन्तान आमाको सुन्दर सृजना हो । त्यतिबेला म अबोध बालकलाई आमाको सृजनाको अर्थ/जन्मनुको अर्थ र जन्मदिनको बारे के थाहा । जन्मदिनको अर्थ बिस्तारै बिस्तारै थाहा हुँदै गयो । बर्षहरु फेरिँदा हरेक बर्ष नयाँ स्वादका लाग्ने रहेछन् । पहिले पहिले सुकेखाले मिठाई/ल्याक्टो चकलेट र घरपरिवार जम्मा पारेर टीका लगाइदिने, अलिकती पैसा ( दक्षिणा ) पाइने, खुब रमाइलो लाग्ने दिन मात्रै थियो । बिस्तारै जन्मोत्सव – मैनबत्ती र केक उत्सब बन्यो । साथीहरुसँगको रमाइलो भेटघाट- होहल्ला, नाचगान, पार्टी/ट्रीट भन्दै, हेप्पी बर्थ्डे टु यु सुन्ने, थ्यान्क यू भन्ने दिन बन्यो- जन्मबार्षिकी ।

बर्षहरु बित्छन । बित्दै जान्छन पनि । र , समय चेतले मान्छेलाई यो एकदिनको पुर्वार्धमा केक- उत्सव / साथीभाईहरुसङ्गको मिलन / उपहार / शुभकामना भन्दा पर केही सोच्न बाध्य बनाउदोरहेछ । आफ्ना बिगतहरुको सम्झना , आफ्नो विवेचना र आगतका योजनाप्रती , सपनाहरुप्रती , यसपालिको जन्मदिनले मलाई झकझकाइरह्यो, आफू हिडेर आएको बाटोलाई फर्किएर हेर्न ।

मैले यो जन्मदिनमा जति शुभकामना / शुभआशीर्वाद पाएँ , सबैप्रती हृदयको गहिरो तहबाट आभारी छु / नतमस्तक छु । यो जन्मदिनको एउटा सप्राइज मलाई मुर्तिवत बनाउने खालको थियो । जुन, म शब्दमा लेख्न सक्नेछैन । यो प्रेम म सधै पाइरहन चहान्छु । यस्ता शुभाशिषहरुले आफ्नो मार्गलाई पर्गेल्न पक्कै सघाउने छ ।

बेलामा उठिन्न कि भनेर हामीले मोबाइलमा उठ्ने समय तय गरेर लगाएको ‘अलार्म’ ले हामीलाई जसरी बिहानै उठाइदिएर हामीलाई एउटा नयाँ दिन सुरु भयो , अब तैँले उठेर आजको दिन काम गर्नुछ भनेर झस्काउँछ , जन्मदिन पनि त्यस्तै त्यस्तै एउटा अर्लाम हो । मान्छेलाई आफुले के सोचेको थिए , के पाएँ भन्ने बोध गराउने दिन पनि हो – जन्मोत्सव । आज सम्म म मान्छे बन्न सकिराको छु या छैन, म त मान्छे बन्नु छ भनेर सजग बनाउने दिन पनि हो जन्मदिन । कहाँ हिडेथे, कहाँ आइपुगे भनेर एकपल्ट सोच्ने बनाउने पल बनेर आउँछ, बर्थ डे । जीवन प्रती जिजीविषा पालेर बसेकालाई झन बढी जिजीविषा थपिदिने रहेछ – जन्मदिनले ।

कति राजमार्गहरुमा हिड्न बाकीँ छन् , कति फिल्म हेर्नै बाँकी छ । कति पढ्नुपर्ने पुस्तक पढ्न बाकीँ छ । कति गित सुन्न बाँकी छन , कति मान्छे भेटिन बाँकी छन् । कति परिक्षाहरु दिदैँ , कतिमा पास कतिमा फेल हुनैछ । कति सपनाहरु पूरा गर्नु छ । टुटेकालाई जोड्नु छ । कति हो कति कुरा गर्न बाकीँ नै छ ।

पृथ्वी शाश्वत छ , हामी नाशवान छौँ । यो सत्यतर्फ जन्मदिनले फर्काउने रहेछ । हामीसँग बर्तिका एम राईको ‘ जति बढ्दो छ उमेर, त्यति घट्दो छ आश .. सत्यता भन्नू यती नै त हो नि…’ गीतले भनेझैं समय घट्किदोँ छ । यहि समयमा आफू लगायत सबैका लागि / सप्पै जिम्मेवारीहरुलाई काधँमाथि हाल्दै बाँच्नु छ । प्रेमपूर्ण जिन्दगी बाँच्नु छ । खुशी खोज्नु छ / खुशी छर्नु छ । मान्छे बन्नु छ ।

कुरुप झुसिलकिरा सुन्दर पुतलीमा मेटामर्फसिस हुने सम्भावना भएजस्तै हामीसँग अनेकन असीमित सुन्दर सम्भावनाहरु छन् , जो मानिसले एकपटक सोच्नैपर्छ । त्यसका लागि प्रयत्न गर्नै पर्छ । जन्मदिन यो सबको लागि एउटा सर्वाधिक महत्वपूर्ण घडी हो । मलाई यो जन्मदिनमा यिनै कुराले झस्काइरह्यो । यो लेख , कुनै लेख होइन । स्टाटस पनि होइन । अलिकति अनुभुती हो। अलिकती भावनाहरुको अव्यवस्थित सम्मेलन हुनसक्ला । खै के हो के हो ।

जन्मदिनमा राष्ट्रकवी माधवप्रसाद घिमिरेको यी हरफ नसम्झिन सक्दिन –

केही काम नौलो नगरी नजाऊँ
अकालैमा हे म मरी नजाऊँ
आयूष्य देऊ र भविष्य देऊ ,
म भित्र जिवन्त मनुष्य देऊ ।

( यो जन्मदिनको अघिल्लो रात – श्रावण १५ र जन्मदिनको रात – श्रावण १६ गतेको मिश्रीत भावानुभूती हुन् । )

Facebook Comments

You may also like

error: Content is protected !!