“१३१३१३”

[ यो समय, त्यो समय हो- जुन समयमा एउटा मात्र समय बाँचिरहेछ ! ]
***
( समय- ००:००)
*
|प्रोटागोनिस्टः ३(१)|
***

मेरो जिन्दगी कहिले पनि जिन्दगी जस्तो भएन । सोचेको कुरा कहिले पनि पुरा भएन । सधैँ म आधा भएँ, अधुरो भएँ । जिन्दगी पनि त आधा मात्र बाँचिरहेको छु । खै त मेरो अर्को आधा जिन्दगी ? कसले लग्यो ? कहाँ लग्यो ? को बाँचिरहेछ- मेरो आधा जिन्दगी लिएर ?

टिकाउ जागिर छैन । बेरोजगार छु । गोजीमा पैसा छैन । जागिर नपाएको पनि हैन, तर मेरा लागि हरेक जागिर ‘जागिर’ भएन- ‘जाँ..गिर्’ भयो । कोही २ दिन गरेर छोडेँ, कोहि ५/१० दिन । मैले गिर्न चाहिँन । गिर्ने मन भएन । जबर्जस्ती गिर्न पनि खोजेँ । अहँ सकिनँ । म आफ्नो नजरमा कहिल्यै गिरिँन, तर यो सहरले मलाई तल खसालिरह्यो । म यी मान्छेका नजरमा गिरिरहेँ ।

यो पैसामा बाँच्ने सहर हो तर म रित्तो गोजी बोकेर हिडिँरहेको छु- बिना लाजसरम । घरभाँडा तिर्ने बेला भयो । घरबेटीको किचकिच कति खप्नु ? हुन त अर्काको घरमा फोकटिया बसेको कसलाई पो मन पर्छ र ? तर जसोतसो गरेर भाँडा त तिरेकै छु । ढिलो, चाँडो । तर यो पाली कसरी तिर्ने ? घरमा फोन गरूँ ? घरको हालत नि त त्यस्तै हो । अब त छोरोले गर्छ भनेर कति आशमा होलान् बाआमा ?कसरी पो कल गरूँ ? केही गर्छु भनेर आएको गाँउ देखि सहर तर केहि गर्न सकेको छैन !

*

गरुँगो ढुङ्गा जस्तो जिन्दगी थाप्लोमा बोकेर हिँडिरहेको छु, यो सहरका गल्लीहरुमा ! यी गल्लीहरु पनि मजस्तै छन्- बेरोजगार । भोक लागेर आयो । गोजीहरु सुख्खा छन् । दिउँसै अन्धकार मन पराउँछ यो गल्लीले ! हरेक दिन, मेरा पैतालाले यो गल्ली हिडेन भने, मलाई केही छुटेजस्तो महसुस हुन्छ । त्यसैले म यसै पनि आउने गर्छु यहाँ । मेरो फित्ते चप्पल र यो गल्ली मिलेर नाइटिजमा कतै गुमनाम भएको क्लासिक गीत गाउन थाल्छन्- “पिटिक…प्याट्याक…पिटिक्….”

मुसाहरुले पेटमा तहल्का मच्चाउन थाले । भोको पेट बौलाउन थाल्यो । बेरोजार हातहरुले गोजी टकटकाए । निराश गोजीहरु अझ बढी निराश भए । आखाँहरु केटाकेटी भए र दौडिन थाले भुइँमा । कतै पैसा पो भेटाउँछु कि ? नभन्दै गल्लीको अन्तिममा ५०० को नोट मलाई नै कुरिरहेको रहेछ । कसले खसाल्यो होला ? तर मलाई के ? टिपेँ । नयाँ कटकटे नोट ! अजिङ्गरको आहारा दैवले जुराउँछ, जुराउँदैन थाहा भएन तर मेरो जुरायो । धन्य, दैव !

( पेटले खुट्टालाई दौडायो- “Bliss Café , Table no. 13” )

***
|प्रोटागोनिस्टः २(२)|
***

हिसाब-किताब गर्दैमा दिन जान्छ आफ्नो ! साहु भन्नु मात्रै हो, सबै काम आफैले हेर्नु पर्छ । कहिलेकाहीँ लाग्छ यो सब छोडेर कतै टाढा जाउँ, जहाँ कोही नहोस्, मलाई कसैले नदेखोस्, नभेटोस् । तर जब जब मस्तिष्कमा यस्ता खयालहरू आउन थाल्छन्, आँखै अघि नाँच्न थाल्छ छोरीको मुस्कान ! आमा नभएको ६ बर्षे छोरीलाई छोडेर एउटा बाबु कहाँसम्म पो पुग्न सक्छ होला र ?

एक बर्षअघि, रेन्जरोडमा बसमा बम पड्केको खबर कुन चैँ पत्रिकामा छापिएन होला ? कुन चैँ रेडियोले फुकेन होला ? कुन चैँ टेलिभिजनले देखाएन होला ? हो, त्यो बसमा शसार्या पनि थिई । अध्यात्म र परमात्मासँग खुब लगाव थियो उसको । त्यही लगावलाई देखेर होला, उसको आत्मालाई परमात्माले लिएर गए । कतै दूर….! यो क्याफेको नाम पनि उसैले राखेकी हो- “Bliss Café”

कहिलेकाहीँ छोरीले सोध्ने गर्छे, “बाबा, मामु खै ?” चसक्क घोच्छ भित्र कतै । यस्तो लाग्छ, संसारमा भएका सबै प्रश्नहरुका उत्तर छन् मसँग, बस् यही प्रश्नको उत्तर जान्दिनँ म !

*

टेबल न. ०७ मा एक जना टिनएजर ( करिब १८/१९ वर्षको) भर्खरै आएर बसेको छ । कस्तो गम्भीर अनुहार छ उसको ! उसले एउटा चिकन पिज्जा र कोक मगाएको छ । टेबल न. १३ मा अर्को युवक ( करिब २४/२५ वर्षको) मोबाइल चलाउँदै म:म खाइरहेछ । यो मान्छेलाई मैले कतै त देखेको छु जस्तो भान मलाई अघिदेखि भइरहेछ । उसले म:म खाइसक्यो र काउन्टरमा आयो । कति भयो भनेर पनि सोधेन । सिधै ५०० को नयाँ कटकटे नोट मेरो टेबलको अगाडि राखिदियो । मैले म:मको पैसा काटेर उसलाई रहेको पैसा फिर्ता दिएँ । ऊ क्याफेबाट निस्कियो । मैले ऊ गएको हेरिरहेँ । यो मान्छेलाई मैले कतै त देखेको हो , तर कहाँ ?

उसले दिएको नोट अझै मेरो हातमा नै थियो । कस्तो नयाँ नोट ? कस्तो चिप्लो ? कतै नक्कली त होइन ? मैले ओल्टाइपल्टाइ हेरेँ । अहँ, नक्कली त होइन । सबै ठिक छ । तर कस्तो असाधारण के? कस्तो अचम्मको नोट ? एकछिन..अरे, यो नोटको नम्बर ! कस्तो अनौठो- ‘१३१३१३’ । १३ ? राहु ? सानोमा बा’ले भनेको पौराणिक कथा सम्झन्छु –

“(सत्ययुगमा) स्वर्गको सभामा जब देउताहरुलाई अमृत बाडिँदै थियो, त्यही बेला राहुकेतु नाम गरेको दानव भगवानको रुप लिई त्यस सभामा उपस्थित भयो । यस्तो महाविपति हुन लागेको देउताहरुले थाहा पाएपछि, तुरुन्तै यो कुरा भगवान विष्णुलाई सुचित गरियो । यो खबर पाउने साथै, भगवान विष्णुले आफ्नो सुदर्शन चक्रले राहुकेतुको शिर धडबाट अलग गरिदिए । तर राहुकेतुले केहि घुट अमृत पिइसकेको हुनाले, उसको टाउको काटे पनि ऊ जीवित रह्यो । अमर भयो । त्यसदिन देखि उसको टाउको ‘राहु’ भयो र शरिर ‘केतु’ !
पहिला त १२ जना अमर आदित्यहरू थिए, जसले १२ महिनालाई प्रतिनिधित्व गर्थे । तर त्यस दिनदेखि ‘राहु’ १३औँ अमर दानव भयो र ग्रह बनेर बस्यो । ‘१३’ राहुको अङ्क भएकाले यसलाई अशुभ मानिन्छ । !”

यस्तो नम्बर भएको नोट मैले राख्नु हुँदैन । अनर्थ हुन्छ, नराम्रो हुन्छ । यो नोट जतिसक्दो चाँडो मैले ठेगान लगाउनु पर्छ । यो काउन्टरबाट निकाल्नु पर्छ । म फेरि त्यही नोटलाई ओल्टाइपल्टाइ हेरिरहन्छु ।

***
|प्रोटागोनिस्टः १(३)|
***

के लेखूँ ? खै अचेल कहाँ छन् र मसँग भावनाहरू ? कथाहरु ? कहानीहरू ? महशुसहरू ? मसँग अचेल म नै कहाँ छु र ? मैले लेख्न बिर्सिसकेँ । केही कुरा पूर्णरुपले अचेल महशुस पनि त हुन्न मलाई ! कथाहरुले मलाई अचेल लखेट्न छाडे । मसँग पनि त अचेल कहानीहरु खोज्दै हिड्ने जाँगर कहाँ छ ? बाँचि पनि राखेको छु र म ? बाँच्नुको नापतौल के सास फेर्नुले मात्र हुन्छ ? सास फेरिरहँदा पनि मरेको जस्तो अनुभव हुन्छ भने – त्यसलाई कसरी बाँचेको भन्ने ? अहँ मलाई कसैले बाँचेको छ नभनियोस् !

ल्यापटपका किबोर्डमा मेरो मगजले के के अह्रायो त्यही त्यही टाइप गरिरहेको छु । म सधैँ बन्द कोठाभित्रै बस्न रुचाउँछु । खै, किन हो आज ल्यापटप बोकेर छतमा चढेँ । पर बाटोमा गाडीहरु एकअर्कालाई उच्छिन्दै कुदिरहेका छन् । एम्बुलेन्सको कर्कश रोदन मेरा कानका पर्दालाई इरिटेड गरेर मधुरो हुँदै पर….कतै बिलायो । घामलाई पश्चिम बादलले निलिसकेको छ । पानीका थोपाहरु बिस्तारै एक-एक गर्दै मेरो शरिरलाई छुँदै छन् । ल्यापटपको स्क्रिनमा पनि पानीका थोपाहरु खसिरहेछन् । मलाई थाहा छ, पानी पर्नेवाला छ । तर मलाई कोठा जान रत्तिभर नि मन छैन । तर मलाई यो पनि थाहा छ, मलाई कोठा जानु नै पर्छ ।

कोठमा पुग्छु । गर्न केही मन छैन । कोठाको झ्याल लगाउँछु, ढोका लगाउँछु र सुत्नु खोज्छु ।मरिगए निद्रा आउँदैन । यो दिउँसो निदाउन कहिले जानिनँ मैले । फेरि उठ्छु । झ्याल खोल्छु । बिस्तारै पानी पर्न थाल्छ । झ्यालका सिसाभरि पानीका थोपाहरु मस्त लडिदिन्छन् ! नेपथ्यमा कतै एउटा धुन बज्छ, गीत गुञ्जिन्छ-

“ तिमी वर्षात हौ, 
तिम्रो त सिङ्गो आकाश छ
 
म जाबो शीत हुँ,
मेरो धर्ती त छ-
तर क्षणभरका लागि
 
अब आकाश तिम्रो भएपछि-
घाम पनि त तिम्रै हो !
 
तिमी नै खसाल्छौ मलाई
तिमीले नै बिलाइदिन्छौ !”
 
 
बुक सेल्फबाट ३ दिन अघि किनेर ल्याएको बाइबल झिक्छु । अचेल मलाई धार्मिक बुक पढ्ने खुब जोस चढेको छ । हिजो अस्तिसम्म संस्कृत सिक्ने जाँगर खै कताबाट मेरो शरिरभित्र बास माग्दै आइपुगेको थियो । यी इच्छाहरु पनि कति छिटो परिवर्तन हुन्छन् ? के को हतार छ यार यिनलाई पनि ? २/४ पेज पढ्दै अल्छि लाग्न थालिगयो । तर पनि म जबर्जस्ति पढिरहेको छु । मलाई पढ्नु नै छ, यो मुभि/सिरिजले मेरो पढ्ने बानीलाई निल्नै लागिसक्यो । ११ पेज पढिसक्दा मैले करिब २२ चोटि ‘हाई..’ गरे होला १२ पेजमा पुगेपछि म अगाडि बढ्नै नसक्ने भएँ । जिउ चिलाएर आयो । भोक लागेर आयो । ‘थुक्क अल्छि’ आफैले आफैलाई कराएँ । कस्तो एन्जाइटि फिल भयो भित्र ! डर ? अहँ, ममा डर छैन । मलाई डर लाग्दैन- न केहीको न कसैको ! मलाई तर्साउने ‘डर’ कहाँ लुकेर बसेको होला ? आजसम्म म त्यही डरलाई खोजिरहेछु । एकपटक उसलाई(प्रेमिका) जिस्काउँदै भनेको थिएँ –
 

“स्वयं ‘डर’ले पनि मलाई डराउन सकेन-
प्रियसी, तिमीले ती आँखा नतरे हुन्छ !”

सोच्छु अन्तिम पटक म डराएको कहिले हो ? मलाई कहिले पो डर लाग्यो र ? न बा’को धारे हातसँग न टिचरको छडीसँग । न उचाइसँग न गहिराइसँग । न प्रेमिकाको रिसालु नजरसँग न मृत्युको मुस्कानसँग । म कहिले पो कोहीसँग डराएको छु र ? तर आज यो म भित्रको डर कस्तो ? अनि के को ? ‘ह्या..’ बाइबललाई टेबलतिर हुत्ताएर म घरछेउको क्याफेमा खाजा खान जान्छु-

“Bliss café. Table no.07

*

कोही मान्छे, जसलाई तपाईँले चिन्नुभएको छैन । जान्नुभएको छैन । संगत गरेको पनि होइन । पहिलो चोटि देखेको हो र देख्दै ऊसँग रिस उठ्यो । किन ? थाहा छैन । कोही कोही मान्छे यस्तै हुन्छन् क्या ? मभन्दा सिधा टेबलमा, एउटा युवक मोबाइल चलाउँदै मःम खाइरहेछ । उसलाई देख्दै मलाई रिस उठ्यो । सिर्फ ऊ र म मात्र छौँ क्याफेमा ! हुन त मलाई आफैदेखि पनि रिस उठिरहेको छ । किन ? यो पनि थाहा छैन । आफैदेखि रिसाएको मान्छे, अरुलाई हेरेर कसरी पो मुस्कुराउन सक्छ ? मलाई ऊतिर हेर्नु नै छैन । मलाई त्यो टेबल तिर हेर्नु नै छैन ।

बल्ल ऊ उठेर गयो । मैले ऊ उठेर गएको हेरिरहेँ । अब चैँ बल्ल मलाई शान्ति मिल्छ भनेको तर किन यस्तो छटपटी ? मुटुभित्र कसैले बम खसाल्नै आँटेको महसुश भइरहेछ । मुटु जोडजोडले धड्किरहेछ ।

टेबलमा पिज्जा र कोक आइसकेको छ । मैले कतै नहेरी, केहि नसोची, कपाकप खाएर सकाइदिएँ । ‘मलाई यो क्याफेबाट निस्किनु छ । यहाँ बसिरहेँ भने म बौलाउँछु !’ –म आफै भित्रबाट आवाज आयो । म उठेँ र सिधै काउन्टर तिर गएँ । काउन्टरमा साहुजी एउटा ५००को नोट ओल्टाइपल्टाइ गरि हेरिरहेका छन् । गोजी छामेँ, ‘थुइक्क मेरो बुद्धि, घरबाट निस्कँदा गोजीमा वालेट हाल्नै बिर्सेछु’ । मोबाइलको कभरबाट १०००को नोट निकाल्दै “कति भयो साहुजी?” भनि सोधेँ । अहिले आएर यो मोबाइलको कभरमा पैसा राख्ने मेरो बानी अति तीक्ष्ण लागेर आयो । ५००को नोटलाई अध्ययन गर्दै गरेका साहुजीका आँखा पहिला मेरो अनुहार र त्यसपछि मेरो हातको हजारको नोटमा अल्झियो । त्यसपछि उनको मुख उघ्रियो- “५०० बाबु !”

मैले हिसाब गरिनँ । मलाई हिसाब गर्न मन छैन । मलाई जतिसक्दो चाँडो यहाँबाट निस्कनु छ । त्यसैले मैले आफ्नो हातको १०००को नोट दिँदै, उनको हातको ५००को नोट फिर्ता लिएँ । र त्यहाँबाट बाहिर निस्किएँ । बाहिर निस्किएर पनि मेरो मनको छटपटी शान्त भएन । खुट्टाहरुले घर जान अटेर गरेँ, त्यसैले म बाटो अघिको गल्ली छिरेँ । कस्तो अँध्यारो गल्ली ? म कहाँ जाँदैछु, मलाई केहि थाहा छैन । मलाई आज यो के भइरहेको छ, त्यो पनि थाहा छैन । बस्, हिँडिरहेको छु । कतै….!

नानाथरी सोच्दै म गल्लीको अन्तिमसम्म पुगिसकेछु । एउटा भाइले “दाइ, तपाईको पैसा झर्न आँट्यो” भन्दा पो झस्केँ । मैले आफ्नो गोजीबाट आधा निस्किसकेको ५०० को नोटलाई झिकेँ । अरे, कस्तो चिप्लो ! कस्तो असाधारण ! कस्तो अनौठो ! कतै नक्कली पो हो कि ? म त्यो नोटलाई ओल्टाइपल्टाइ हेर्छु । ‘अहँ, नक्कली त होइन’ । तर एकछिन, यो नोटको नम्बर ! ‘अबुई…!’ मभित्र अघिदेखि फुट्न खोजिरहेको डरको ज्वालामुखी ड्याम्मै पड्किन्छ । मेरो हातबाट त्यो नोट खस्छ । म दौडिन्छु । भाग्छु । तर कहाँ ?

डरले मान्छेलाई कति दौडाउँछ ? कति भगाउँछ ? डर ? मेरो मगजमा लाइन लागेर आउन थाल्छन् दृश्यहरूः त्यो साहुले ओल्टाइपल्टाइ हेरिरहेको नोट, त्यो युवक बसेको टेबल, टेबल न.१३, त्यो बाइबल, १२ पेजभन्दा अघि बढ्न नसकेका मेरा आँखा अनि… भर्खरै मेरो हातबाट खसेको त्यो ५००को नोट र…(मेरो मुटु काँप्छ)..र…त्यो नम्बर-‘१३१३१३’

र एक्कासि मेरो आँखा अघि नाँच्न थाल्छ, आमाको चेहेरा ! त्यो पत्रिकामा छापिएको आमाको नचिनिने लाशसँगैका लाइनबद्ध लाशहरू ! अनि..अनि त्यो पत्रिकाको हेडलाइन-

“Bomb hits a Local Bus Near Rangeroad”

त्यसपछि दिमागमा नाँच्न थाल्छ त्यो गाडीको नम्बर- “Gya.1.Ya.1313” । अनि त्यो पत्रिकाको हेडलाइनभन्दा माथिको डेट- “FRIDAY, FEBUARY 13, 2013”

मलाई रुन आइरहेको छ । तर डरले आँसु खसिरहेको छैन आँखाबाट । म पनि डराउँदो रैछु ? मलाई डराउने पनि कोही रैछ ? होइन, केही रैछ ! १३ ? एउटा नम्बर ? जाबो अङ्क ? छाती फुलेर आउँछ । होइन… याद गर्नु छैन त्यो १३ मलाई, यसको बारेमा सोच्नु नै छैन । यस्तै सोच्दै म दौडिरहेको छु । (दौडिरहेको थिएँ ।) एउटा ढुड्गामा अल्झिएर लडेँ । होइन, मलाई कसैले धकलेर लडायो । कसले ? मैले कसैलाई देखिरहेको छैन । र म लडेपछि, मलाई कसैले खुट्टामा तानिरहेको छ । तर मेरो शरिर हलचल गरेको छैन । सरेको छैन । एउटा अदृश्य शक्तिले बिना हलचल मलाई घिसारिरहेछ । तर को हो ऊ ? डर ? मृत्यु ? कि समय ?

[ यो समय यो कथाको सुरुवात हो- जसको कुनै अन्त्य छैन ! ]
***
( समय- ००ः००)
*
|प्रोटागोनिस्टः १(३)|

ल्यापटप(किबोर्ड)मा आफू र आफूभित्रका भावनाहरू पोखिरहेछ !
*
|प्रोटागोनिस्टः २(२)|
सदाझैँ काउन्टरमा बसेर हिसाब किताब गरिरहेको छ !
*
|प्रोटागोनिस्टः ३(१)|
एउटा आवारा गल्लीमा, आफ्नो बेवारिसे जिन्दगी बारे सोच्दै हिडिरहेछ !

***
| इति |
***
Triskaidekaphobia: FEAR of Number THIRTEEN!

FEAR | Saturdayकलम | Kavyalaya

FEAR | Saturdayकलम | Kavyalaya
HellFire from ajkalerkhobor.com

Facebook Comments

You may also like

error: Content is protected !!