चित्र
शहरको
भग्न आधुनिकताको
टेको लगाइरहेछ
प्रवेशद्वारमाथिको
ठूलो होर्डिङ्गबोर्ड!
जसमा
चित्रित छ,
सभ्यताले टक्टक्याएको
धुलोमैलो टाँसिएर कटकटिएको
फेयर एण्ड लब्लीको विज्ञापन!!
भेटी
मालिक!
हजुरलाई भोक लाग्यो,
अनि चपाउन थाल्नुभो सिंगो सत्ता!
हजुरलाई प्यास लाग्यो,
अनि मेरै रगत र पसिनाको पेग मार्नुभो!
हजुरलाई निद्रा लाग्यो,
अनि मेरा सपनाहरुको शैय्यामा
हजुरको सुकला भयो!
हजुरलाई खेल्न मन लाग्यो,
अनि खेल्नुभो
मेरा निर्बल मांसपिण्डहरुको फुटबल!
मालिक!
बहुमूल्य आभूषण पहिरिने
हजुरको शोखको ख्याल राख्दै
भेटीमा चढाएको छु एउटा दिव्य उपहार,
कृपया स्विकारिदिनुस् –
अब मात्र बाँकी रहेको
यो मेरो कंकाललाई!!
खोज
रातको
विराट अन्धकारको
च्यादर ओढेर पनि
जुनसुकै वस्तु
दर्शाउँछ,
आफ्नो आकृति!
उज्यालोमा
मैले आफैलाई
आजीवन खोजिरहेँ!!
पुतली
एउटा
कुण्ठित मगजले
अबोध चेतनालाई
भिराउँछ,
आफुले फटालेका
सभ्यताका जड्यौरी टालाटुलीहरु!
र बेसुरमै चिच्याउँदै
घोकाउन थाल्छ एउटा सुगागान:
टालाटुली बटुली..
कति राम्री पुतली…!!
झिल्का
सँगाल्दै
दुई-दुई मुठी
परिवर्तनको वायु,
छिचोल्दै
आँखै पिर्याउने
सभ्यताको काँचो धुवाँ,
बल्ल बल्न थाल्छु
म भिजेको चिसो दाउरा!
र निकाल्छु सहस्र झिल्काहरु!!
विचार झिल्का हो,
र बलिरहेको आगो विद्रोह!!
हामी
हामी खुट्टाहरुजस्तै छौँ,
चाल्दा समयले पाइलाहरु
सधैं हामी अघिपछि भइरहन्छौं
र हाम्रो दूरी थपघट भइरहन्छ!!
चाल्दाचाल्दै पाइलाहरु
हामी एकै ठाउँ कहिल्यै हुन सकेनौँ!!
बाइप्रोडक्ट
सङ्कुचित आदर्श
गन्हाइरहने प्रदुषित गल्ली-गल्लीभित्र
राखिएका
चारित्रिक मोलमोलाईका
यी अस्तव्यस्त हाटबजारहरुमा
हाम्रो अस्तित्वमाथि
झुण्ड्याइन्छन् ,
सस्ता मूल्य र मान्यताका
स्वघोषित ‘प्राइस-ट्याग’हरु!!
डियर मोक्षदा!
यो समाज र व्यवस्था त
मात्र एउटा बिजनेस रहेछ,
र हामी रहेछौँ यसका
फगत् अव्यवस्थित ‘बाइ-प्रोडक्ट’हरु!!
डोब
बगर
असंख्य पदचापहरुको
काव्यात्मक ट्याटु
खोपाइरहन्छ आफ्नो छातीभरी!
हामी
त्यै बगरको छातीमा खोपिएका
पैतालाका डोबहरु न रहेछौँ,
समयको उत्ताउलो बाढीसँगै
बालुवामुनि नै
पुरिन्छन् हाम्रा कथाहरु..!!
विस्मृति
बिर्सियौ तिमीले,
जसरी बिर्सन्छ बिग्रेको घडीले सही समय!!
बिर्सियौ तिमीले,
जसरी बिर्सन्छ ओरालो लागेको नदीले
आफ्नो जन्मकोख!!
बिर्सियौ तिमीले,
जसरी बिर्सन्छ समयले जिन्दगीका केही अध्यायहरु!
बिर्सियौ तिमीले,
जसरी बिर्सन्छ आयातित पर्फ्युमले माटोको सुगन्ध!
बिर्सियौ तिमीले,
जसरी बिर्सन्छ नशाले यथार्थता!!
तर कस्तो अचम्म!
मसँग सम्झनका लागि तिमी मात्र छौ।
कागजको डुङ्गा
पट्याएर
रहरका पत्रैपत्रहरु
बनाएँ
कुनै यौटा आकृति,
जो बोकेर लैजाओस्
जिन्दगीका किनारिएका जम्मै दु:खहरु!
कागजको डुङ्गाझैँ रहेछन् सपनाहरु..
जो जीवनको प्रवाहमा
भिजेर फतक्क गलिसक्छन्
र डुबिजान्छन् सानो भूमरीमै!
तर
मैले डुङ्गा बनाउन अझै छोडेको छैन,
र अझै बाँकी छन्
रहरका अनगिन्ती पानाहरु!!

Image Source: Day of the Dead and Monarch Butterflies from MPT TV