अब बिदा लिन्छु

अवतार सिंह संधू ‘पाश’

९ सेप्टेम्बर १९५० मा जन्मिएका पाशको मूल नाम अवतार सिंह संधू थियो। उनले १५ वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गर्नु भएको थियो । उनको कविताको पहिलो प्रकाशन १९६७मा भएको थियो। उनले सिआड, हेम ज्योति र हस्तलिखित ‘हाक’ पत्रिकाको सम्पादन गर्नु भयो। पाश १९८५मा अमेरिका जानुभयो जहाँ वहाँले ‘एन्टी 47’ पत्रिकाको सम्पादन गर्नुभयो र यसै पत्रिकाको माध्यमबाट खालिस्तानी आन्दोलनको विरुद्धमा सशक्त प्रचार अभियान सुरु गर्नुभयो। पाश कविताको पहिलो चरण देखि नै भाकपासँग जोडिनु भयो। उनलाई नक्सलवादी राजनीतिसँग पनि सहानुभूति थियो। पंजाबीमा उनको चार कवितासंग्रह ‘लौह कथा’, ‘उड्डदे बाजां मगर’, ‘साडे समियां विच’ र ‘लडांगे साथी’ प्रकाशित भएका छन्। पंजाबका यिनै महान क्रान्तिकारी कविको केवल ३९ वर्षको उमेरमा २३ मार्च १९८८मा उनकै गाउँमा खालिस्तानी आतंकवादीहरूले गोली चलाएर हत्या गरिदिए। पाश धार्मिक संकीर्णताको कट्टर विरोधी थिए। धर्म आधारित आतंकवादको खतरालाई पाशले आफ्नो एक कवितामा निकै धारिलो शब्दमा लेख्नु भएको छ- मेरो एक मात्रै छोरा छ धर्मगुरु र यदि सात हुन्थे भनेपनि तेरो केहि गर्न सक्दैनथे, तेरो बारूदमा ईश्वरीय सुगन्ध छ, तेरो बारूद रातहरूलाई रौनक बाढ्छ, तेरो बारूद बाटो हराएकालाई दिशा प्रदान गर्छ, म तेरो आस्तिक गोलीहरूलाई अर्घ्य दिने गर्नेछु।

पाशको नजरमा एक तर्फ ‘शब्द जो राजाहरूको उपत्यकामा नाच्दछन्, जो प्रेमिकाको नाभिको क्षेत्रफल मापन गर्छन्, जो मेचमा टेनिस बल जसरी दौडछन्, कविता हुदैनन्।’ र दोश्रो तर्फ ‘युद्ध हाम्रो बच्चाको लागी कपडाको भकुण्डो बनेर आउनेछ/युद्ध हाम्रो बहिनीको लागी सारीको सुन्दर नमुना ल्याउनेछ। युद्ध हाम्रो पुर्खाको चिहानमा फूल बनेर फुल्नेछ।’ र ‘तिम्रो इन्कलाबमा सामिल छ संगीत र साहसको शब्द/ खेतहरूबाट खदानहरूसम्म युवा काध र बलिष्ठ हातहरूले रचिएको शब्द… बर्बर शून्यतालाई चिर्दै निस्केको हजार कण्ठबाट निस्किएको आवाज नै पाशको कवितामा शब्दबद्ध हुनेगर्छ। पाशको कविताहरूमा यिनै कण्ठहरूको ताप छ।

आफ्ना कविताका माध्यमबाट ‘पाश’ समाजको वस्तुगत यथार्थलाई विश्लेषण गर्न चाहनुहुन्थ्यो जसको लागि उहाँ भाषा, बिम्ब र प्रतिकहरूको छनौट ग्रामीण जीवनबाट गर्नु हुन्थ्यो। घर-आँगन, खेत-खलियान, स्कूल-कलेज, अदालत, प्रहरी-सेना र ती तमाम मान्छेहरू जो यी सबैमा आफ्नो-आफ्नो तरिकाले एक सभ्य मानवीय समाजको आकांक्षा राख्ने गर्छन्, पटक-पटक उनका कवितामा आइरहन्छन्।

अब बिदा लिन्छु

अब बिदा लिन्छु
मेरो यार, म अब बिदा लिन्छु
मैले एक कविता लेख्न चाहेको थिएँ
सारा जीवन जसलाई तिमी पढिरहन सक्थ्यौ

त्यो कवितामा
बास्ना आइरहेको धनियाँको चर्चा हुनु थियो
उखुको सरसर आवाजको चर्चा हुनु थियो
त्यो कवितामा वृक्षबाट चुहिरहेको शीत
र बाल्टीमा दुहेको दूधमा आएको फिजको चर्चा हुनु थियो
र जे पनि
जो मैले तिम्रो शरीरमा देखेँ
त्यो सबैथोकको चर्चा हुनु थियो

त्यो कवितामा मेरो हातको कठोरताले मुस्कुराउनु थियो
मेरो जाँघका माछाहरूले तैरिनु थियो
र मेरो छातीका रौँको नरम सलबाट
स्निग्धताको ज्वाला उठ्नु थियो
त्यो कवितामा
तिम्रो लागि
मेरो लागि
र जिन्दगीका सबै सम्बन्धको लागि धेरै थोक हुनु थियो मेरो यार

तर धेरै नै बेस्वाद हुन्छ
दुनियाँको यो उल्झिएको नक्सासँग निप्टनु
र यदि मैले लेखे पनि
सगुनले भरिएको त्यो कविता
त्यसले त त्यसरी नै दम तोडिदिन्थ्यो
तिमीलाई र मलाई छातीमा विलाप छोडेर
मेरो यार, कविता निकै नै गोप्य भइसकेको छ
जबकि हतियारको नङ्ग्रा नराम्ररी बढेर आएको छ
र अब हरेक किसिमको कविता भन्दा पहिले
हतियारको विरुद्धमा युद्द गर्नु जरुरी भएको छ

युद्दमा
हरेक वस्तुलाई निकै सजिलो बुझ्ने गरिन्छ
आफ्नो वा शत्रुको नाम लेख्नु जस्तै
र यस्तो बेला
मेरो तर्फ चुम्बनको लागि अघि बढेका ओठको गोलाइलाई
धरतीको आकारको उपमा दिनु
वा तिम्रो कम्मर लहराउनुलाई
समुद्रले श्वास फेरेकोसँग तुलना गर्नु
सारै भद्दा मजाक-जस्तो लाग्थ्यो
त्यसैले मैले यस्तो केही गरिनँ
तिमीलाई,
मेरो आँगनमा मेरो बच्चालाई खेलाउने तिम्रो इच्छालाई,
र युद्दको सम्पूर्णतालाई
एउटै पंक्तिमा उभ्याउन सक्नु मेरो लागि सम्भव हुन सकेन
र म अब बिदा लिँदैछु

मेरो यार, हामी याद राख्नेछौँ
कि दिनमा लोहारको भट्टीजस्तै तात्ने
आफ्नो गाउँको टीला
रातमा फूलहरु जस्तै सुवासित हुन्छ
र चाँदनीमा पाकेको उखुको सुकेका पातहरूको खातमा पल्टेर
स्वर्गलाई गाली दिनु, निकै सङ्गीतमय हुनेगर्छ
हो, यो हामीले याद राख्नु पर्नेछ किनकि
जब हृदयको खल्तीमा केही पनि हुँदैन
सम्झिनु निकै राम्रो लाग्छ

म यो बिदाईको पलमा धन्यवाद भन्न चाहन्छु
त्यो सबै सुन्दर वस्तुहरूलाई
जो हाम्रो मिलनको समयमा टेन्ट जसरी तानी नै रहे
र त्यी आम ठाउँहरुलाई
जो हाम्रो मिलनले अझ सुन्दर भइगए
म धन्यवाद गर्दैछु
आफ्नो शिरमा पुगेर रोकिने
तिमीजस्तै हलुका र सङ्गीतले भरिएको हावालाई
जो मलाई मन लगाइरहन्थ्यो तिमीलाई पर्खिनुमा
बाटोमा फलेको रेशमी घासलाई
जो तिम्रो लहराइरहेका पाइलाहरुको सामुन्ने आफूलाई सधैँ फिजाउँथ्यो
टिंडाबाट झरेको कपासलाई
जसले कहिले पनि केही बाहना गरेन
र, सधैँ मुस्कुराएर हाम्रो लागि शय्या बन्यो
उखूमा तयनाथ कमिलाहरुलाई
जसले आउने-जाने सबैको खबर राखे
जवान भएका गहुँका बालीहरुलाई
जो हामी बसेकालाई नभए पनि, पल्टिएकालाई त ढाकिरहे
म कृतज्ञ छु, तोरीको सानासाना फुलहरुसंग
जसले कैयौंपटक मलाई अवसर दिए
तिम्रो केशबाट पराग-केशर झार्ने
म मानिस हुँ, धेरै सानो-सानो कुराहरू जोडिएर बनेको छु
र, त्यो सबै चिजहरूको लागि
जसले मलाई छरिनुबाट जोगाएर राखे
मसँग आभार छ
म कृतज्ञता व्यक्त गर्न चाहन्छु

प्रेम गर्नु निकै सहज छ
जस्तो कि दमनलाई सहेर आफूलाई लडाइको लागि तयार गर्नु
वा जस्तै गुप्तवासमा लागेको गोलीबाट
कुनै गुफामा पल्टिरहेर
घाउ भरिने दिनको कसैले कल्पना गर्नु

प्रेम गर्नु
र लड्न सक्नु
मेरो यार, यही हो जिउनुमा इमान हुनु भनेको
घाम जसरी धरतीमा फुल्नु
र फेरि अङ्गालोमा सीमित हुनु
बारूद जसरी भड्किनु
र चारै दिशामा प्रतिध्वनित हुनु –
जिउनुको यही तरिका हुन्छ
प्रेम गर्न र जिउन उनीहरुलाई कहिल्यै आउने छैन
जसले जिन्दगीले व्यापारी बनाइदियो

देहको सम्बन्ध बुझ्न सक्नु,
खुसी र घृणामा कहिल्यै रेखा नकोर्नु,
जिन्दगीको फैलिएको आकारमा फिदा हुनु
बडा शूरविरताको काम हुन्छ मेरो यार,
म अब बिदा लिन्छु

तिमी बिर्सी जानू
मैले तिमीलाई कुन तरिकाले आँखामा पालेर जवान बनाए
कि मेरो नजारहरूले के केसम्म गरेनन्
तिम्रो नक्शाको धार बाध्नको लागि
कि मेरो चुम्बनहरुले
कति सुन्दर बनाइदिए तिम्रो चेहरा कि मेरो अंगालोले
तिम्रो मैन जस्तो तन कसरी साँचोमा ढालियो

तिमी यो सब बिर्सिदिनु मेरो यार
यस बाहेक मलाई जिउने खुब इच्छा थियो
कि म घाँटीसम्म जिन्दगीमा डुब्न चाहन्थे
मेरो पनि भागको जीउनु
मेरो यार मेरो पनि भागको जीउनु।

Facebook Comments

You may also like

error: Content is protected !!